• २४ पुस २०८१, बुधबार

सडक स्तरोन्नति हुँदा सहज

blog

बेनी समाचारदाता 

म्याग्दी (बेनी), वैशाख २६ गते । पर्वतको जलजला गाउँपालिकाको मल्लाजलाई म्याग्दीको सदरमुकामसँग जोड्ने छोटो दूरीको सडक पर्वत बेनी–मल्लाज सडक स्तरोन्नतिसहित ढलान भएपछि यातायात सञ्चालनमा सहज भएको छ । उकालो र साँघुरो सडकका कारण विगतमा दुर्घटनाको जोखिम बढ्नुका साथै सवारीसाधन आवतजावतमा निकै कठिन थियो । सडक स्तरोन्नति भएसँगै माझफाँट, बाँसखर्क, लेखफाँट र म्याग्दीको राम्चेका स्थानीयलाई आवतजावतमा सहज भएको हो । 

गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाको साझेदारीमा एक÷करोड रुपियाँ बजेट विनियोजन भएको थियो । सडक फराकिलो, उकालोमा आरसीसी ढलान, नाली, ग्याबियन झाली र मेसिनरी पर्खाल निर्माण गरेर सडक स्तरोन्नति गरिएको छ । पर्वत बेनीदेखि भुर्तुलाको भिरसम्म अप्ठ्यारो खण्डमा सडक ढलान गरिएको हो । 

फराकिलो सडक, नाली निर्माण र उकालोमा ढलान गरेसँगै सवारीसाधन आवतजावतमा सहज भएको मल्लाजका स्थानीय नवीन जिसीले बताउनुभयो । जिसीले भन्नुभयो, “मल्लाजवासीलाई पालिका केन्द्र लामाखेत जान र व्यावसायिक कामका लागि म्याग्दीको सदरमुकाम बेनी जाने यो छोटो दूरीको सडक हो । सडक स्तरोन्नति भएसँगै जोखिम मोलेर यात्रा गर्ने बाध्यता हटेको छ ।” मल्लाजवासीलाई आवतजावत गर्न सहज भएको उहाँले बताउनुभयो । योजनाअन्तर्गत सडकको ग्रेड मिलाउने र घुम्ती सुधार, ढलान, नाली, ग्याबियन र मेसिनरी पर्खाल निर्माण गरिएको छ । सडक स्तरोन्नतिका लागि कालिका इन्फ्रास्टक्चर प्रालिसँग एक करोड १५ लाख रुपियाँमा ठेक्का सम्झौता गरिएको थियो । सडकखण्डको विभिन्न ठाउँमा ४०७ मिटर सडक ढलान र नाली निर्माण गरिएको छ । यही वैशाख २५ गतेसम्म सम्झौताको म्याद भए पनि निर्माण व्यवसायीले म्याद सकिनुभन्दा एक महिनाअघि नै काम सम्पन्न गरेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । 

तीन किलोमिटर दूरीको पर्वत–बेनी–मल्लाज सडकको अप्ठ्यारो अधिकांश ठाउँमा ढलान भएपछि यात्रा सहज भएको जलजला गाउँपालिका–३ का वडाध्यक्ष एकिन्द्र खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “साघुँरो सडकलाई फराकिलो पारिएको छ । घुम्ती सुधार गरिएको छ । उकालो स्थानमा ढलान गरिएको छ । जसका कारण दुर्घटनाको जोखिम कम भएको छ । मल्लाजका सर्वसाधारणलाई पालिका केन्द्र र बेनी जान सहज भएको छ ।” उहाँका अनुसार यो सडक निर्माणसँगै जलजलाको १, २, ३, ४, ५ नम्बर वडाका साथै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, राम्चे, नागीका बासिन्दा लाभाविन्त भएका छन् । 

मल्लाजको भुर्तुलादेखि मल्लाज हुँदै लेकफाँट जोड्ने सडक सङ्घीय सरकारको सडक डिभिजन कार्यालयमार्फत स्तरोन्नतिको काम भइरहेको छ । सङ्घीय सरकारको रणनीतिक महìवका सडक कार्यव्रmममार्फत मल्लाज–लेकफाँट सडक ३७ करोड रुपियाँमा ठेक्का सम्झौता गरी  रायमाझी कन्स्ट्रसन प्रालिले सडक स्तरोन्नतिको काम तीव्र पारेको छ । नाली, पर्खाल निर्माण गर्ने, घुम्ती तथा ग्रेड सुधार गर्ने काम भइरहेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो ।