• २४ पुस २०८१, बुधबार

गोरखापत्र : जिम्मेवारी बोकेको पत्रिका

blog

गण्डकी प्रदेशका मन्त्री तथा प्रवक्ता सरस्वती अर्याल तिवारी । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी

कास्की, वैशाख २५ गते । गण्डकी प्रदेशका मन्त्री तथा प्रवक्ता सरस्वती अर्याल तिवारीले गोरखापत्र आफैँमा अब्बल जिम्मेवारी बोकेको पत्रिका बनेको बताउनुभएको छ । 

गोरखापत्र प्रकाशनको १२३ वर्ष प्रवेश र गोरखापत्र संस्थानको ६१औं वार्षिकोत्सवको अवसरमा प्रदेशस्तरीय कार्यालय पोखराले आयोजना गरेको ‘नेपाली पत्रकारितामा गोरखापत्र’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री अर्यालले सो कुरा बताउनुभएको हो ।

उहाँले गणतन्त्र र लोकतन्त्र स्थापना गर्नका लागि पनि पत्रिकाले ठूलो योगदान दिएको बताउनुभयो । 

‘‘देशकै जेठो पत्रिका कहिले हारेर हुन्छ कि या जितेर सधैँ जेठो पत्रिकाको भूमिका निर्वाह सकोस’’ उहाँले भन्नुभयो । लामो इतिहास बोकेको गोरखापत्र पत्रिकाले समय र प्रविधिसँगै फड्को मार्नुपर्ने अवस्था आएको सुझाव उहाँले दिनुभयो । 

‘‘अझै व्यवस्थित र परिमार्जित हुन जरुरी छ । अर्को वर्षमा प्रवेशसँगै नयाँपनको पनि प्रारम्भ हुनपर्छ,’’ उहाँले भन्नुभयो । प्रवक्ता अर्यालले गण्डकी प्रदेशमा सञ्चार विधेयक ऐन नबनेको हुँदा त्यसको बारेमा विज्ञहरुसँग बसेर छलफल गर्ने बताउनुभयो । उहाँले छलफलबाट कुन विधा हेरफेर गर्न गर्न आवश्यक छ त्यसलाई क्याविनेटमा पेश गर्ने बताउनुभयो ।

 नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्व अध्यक्ष वरिष्ठ पत्रकार नारायण कार्कीले सरकारले सञ्चारमाध्यम सञ्चालन गर्नुभन्दा पनि पूर्ण स्वयत्त दिनुपर्ने सुझाव दिनुभयो । उहाँले पूर्ण स्वायत्तताको अभ्यास सुरुवात गर्न आवश्यक रहेको बताउनुभयो ।  

      त्यस्तै, नेपाल पत्रकार महासङघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पङ्गेनीले भाषाको आधिकारिक सञ्चार माध्यम गोरखापत्र बनेको बताउनुभयो । 

उहाँले समयको माग र प्रविधको गतिसँगै रुपान्तरण हुन जरुरी रहेको सुझाव दिनुभयो । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले गोरखापत्र आम पाठकले चाहेअनुरुप बन्नुपर्ने बताउनुभयो । भाषाको स्थापना गरेको संस्थानले नयाँ शैलीलाई पनि आत्मसाथ राख्नुपर्ने बताउनुभयो ।

 नेपाल पत्रकार महासङघ कास्की अध्यक्ष विमला भण्डारीले गोरखापत्र नागरिकको प्रतिनिधित्व गर्ने युगपत्र बनेको बताउनुभयो । 

उहाँले अझै पनि केही सूचना र जानकारी लिनका लागि गोरखापत्र नै खोजीमा परेको सुनाउनुभयो । पत्रकार तथा प्राध्यापक केशवशरण लामिछानेले गोरखापत्र सरकारको स्वामित्वबाट मुक्त हुन आवश्यक रहेको बताउनुभयो । उहाँले परम्परागत ढर्राबाट परिवर्तन हुन जरुरी रहेको सुझाव दिनुभयो । पत्रकार भरत कोइरालाले पत्रकारको प्रश्न हराएको भन्दै यसप्रति चिन्ता व्यक्त गर्नुभयो । ‘‘पत्रकारले प्रश्न गर्ने हो तर यो परिपाटी हराएको छ । राज्य वा मार्केटबाट बढी गाइडेड हुनपर्दा पत्रकारिता धरासायी बनेको छ’’ उहाँले भन्नुभयो ।

प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले नेपाली पत्रकारितामा गोरखापत्रको गरिमा र महिमा उच्च रहेको बताउनुभयो । उहाँले गोरखापत्र पत्रकारिताको ज्युँदो इतिहास भए पनि रोलमोडल बन्न नसकेको औँल्याउनुभयो । 

अग्रज पर्यटन व्यवसायी गणेश भट्टराईले गोरखापत्रले सरकारका राम्रा कुरामात्र होइन कमिकमजोरीलाई पनि औल्याउनुपर्ने सुझाव दिनुभयो । पछिल्लो समय प्रतिस्पर्धाको जमानामा सबल र सक्षम बनी अग्रपङक्तिमा जानका लागि अनुरोध गर्नुभयो । पोखरा उद्योग वाणिज्य सङका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले समाचार दलगत र गुटबाट मुक्त हुन आवश्यक रहेको बताउनुभयो ।

 कार्यक्रममाथि प्रकाश पार्दै गोरखापत्र संस्थान प्रदेशस्तरीय कार्यालयका प्रमुख रमेश पौडेलले गोरखापत्र देशकै जेठो पत्रिका भएकाले यसले धेरै पत्रकार पनि जन्माएको बताउनुभयो ।