• १४ मंसिर २०८१, शुक्रबार

सुक्खा सहने धान विकासमा जोड

blog

काठमाडौँ, वैशाख २५ गते । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले प्रतिकूल मौसमका कारण बर्सेनि हुने खडेरी तथा सुक्खालाई मध्यनजर गर्दै सुक्खा सहन सक्ने धानका जातको विकासमा जोड दिएको छ । चाहिएका बेला पानी नपर्ने, नचाहिएका बेला पानी पर्ने हुनाले किसान समस्यामा परेका छन् । त्यसको मध्यनजर गर्दै सुक्खा तथा कम सिँचाइ हुने ठाउँमा कसरी धान उत्पादन गर्न सकिन्छ, त्यसका लागि विभिन्न जातको विकासमा लागेको नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले बताउनुभयो । 

नार्क स्थापना दिवसका अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले वातावरण प्रतिकूलताका कारण कृषि प्रणाली नै भत्किने अवस्थामा पुग्न लागेको बताउँदै वातावरण परिवर्तनसँगै सोही अनुसारका जात विकासमा आफूहरूले जोड दिएको बताउनुभयो । धान रोपाइँको समयमा पानी पर्दैन, रोपाइँ नभएको बेलामा पानी परिरहेको हुन्छ, त्यसले उत्पादनमा समेत असर पारेका हुनाले कम सिँचाइ हुने स्थानका लागि छुट्टै जातको धान विकास गरेको उहाँले बताउनुभयो ।

खास गरी सिँचाइको समस्या तराईमा देखिएको छ । त्यहाँका लागि नार्कको हर्दिनाथ र नेपालगञ्ज स्टेसनले सुक्खा सहन सक्ने जातको धानको विकासमा लागेको उहाँले बताउनुभयो । सुक्खा ठाउँका लागि बहुगुनी धान–१ र २ सुक्खा धान–१, २, ३, ४, ५ र ६ तथा हर्दिनाथ–५ विकास गरिएको छ । अरू थप धानका लागि अध्ययन भइरहेको धानविज्ञसमेत रहनुभएका राष्ट्रिय बाली प्रजनन तथा अनुवांशिक अनुसन्धान केन्द्र खुमलटारका प्रमुख केके मिश्रले बताउनुभयो । सुक्खा धानमध्ये सबभन्दा राम्रो सुक्खा धान–१ र ३ रहेका छन् । यो जातको धानसँग सुक्खा सहने क्षमता अरू जातभन्दा बढी हुन्छ । यो धानमा थोरै सिँचाइ भए राम्रो उत्पादन दिन्छन् । केन्द्रका प्रमुख झाका अनुसार सुक्खा धान–४ त्यति राम्रो छैन, त्यसभन्दा राम्रो सुक्खा धान–५–६ रहेका छन् ।  

सुक्खा धान–४ सामान्य अवस्थामा प्रतिहेक्टर ५.४ र सुक्खा मौसममा ४.१ मेट्रिक टन उत्पादन हुने गरेको केन्द्रले जनाएको छ । त्यस्तै सुक्खा धान–५ सामान्य अवस्थामा ५.० र सुक्खा अवस्थामा ४.१ मेट्रिक टन उत्पादन हुने देखिएको छ । सुक्खा धान–६ सामान्य अवस्थामा ५.५ र सुक्खा अवस्थामा ३.४ मेट्रिक टन उत्पादन हुने गरेको नार्कले जनाएको छ । सुक्खाका लागि हर्दिनाथ धान–५ पनि हालसालै विकास गरिएको हो ।