• ११ मंसिर २०८१, मङ्गलबार

सञ्चार साक्षरताको सार्थकता

blog

वर्तमान मानव समाजमा सूचना तथा सञ्चार क्षेत्रको दायरा निकै फराकिलो भएको छ । मानव स्वयं नै सञ्चारवान प्राणी हो । ज्ञान, गुण र विज्ञानको विस्तार तथा थप विकास गर्ने प्रक्रिया सञ्चार हो भन्ने कुरा स्वतः सिद्ध नै छ । औपचारिक वा अनौपचारिक क्षेत्रमा सम्बन्ध सूचारू राख्ने तथा विस्तार गर्ने औजार सञ्चार भएको छ । त्यसैले त आजकाल सञ्चार विषयक अध्ययन वा प्रशिक्षणलाई सबैजसो क्षेत्रमा समेटिएको हुन्छ । 

अन्तर्राष्ट्रिय बजारमा मात्र होइन स्थानीय बजारमा पनि रोजगारीका लागि एक मापदण्ड सञ्चारसम्बन्धी ज्ञान र सीप बन्ने गरेको छ । विद्वान्हरूले सञ्चार मानव जीवनको एक अपरिहार्य तत्व हो भनी व्याख्या गरेका छन् । तीमध्ये एक अग्रणी सञ्चारविद् पल वात्ज्लविकले व्यवहार अन्तक्र्रियात्मक हुने र त्यसको सन्देशात्मक मूल्य हुने हुँदा “जसले जतिसुकै प्रयास गरे पनि कोही  सञ्चार नगरिरहन सक्तैन” भन्ने धारणा आफ्नो पुस्तक ‘प्राग्म्याटिक्स् अफ ह्युमन कम्युनिकेसन’ को परिच्छेद २ मा उल्लेख गरेका छन् । उनको यो भनाइलाई आज संसारभरि नै सञ्चारसम्बन्धी अध्ययनमा “वान क्यान नट कम्युनिकेट” भनेर उद्धरण गर्ने गरिन्छ । 

माथिको सन्दर्भले  सञ्चार मानवको व्यवहारसँग अकाट्य रूपमा जोडिएको तथ्यलाई जोड दिन्छ । जन्मेदेखि नमरुन्जेलसम्म विभिन्न तौरतरिकाद्वारा मानिसहरूले सञ्चार प्रक्रियाद्वारा पारस्परिकता कायम राख्छन् । जीवन सञ्चालन गर्न एकले अर्कोलाई बुझ्नु अति महìवपूर्ण हुन्छ । एउटाले भन्न खोजेको कुरा अर्कोले बुझेन भने काम बन्दैन वा प्रभावकारी हुँदैन । यही कुरामा जोड दिँदै चार अमेरिकी प्राध्यापक तथा सञ्चारविद् पियर्सन, नेल्सन, टिट्सवर्थ र ओजेकले संयुक्त रूपमा लेखेको पुस्तक “ह्युमन कम्युनिकेसन” (पृष्ठ ८, २०१७) मा “सन्देशको प्रयोग गरी अर्थ निकाल्ने प्रक्रिया” लाई सञ्चारको रूपमा परिभाषित गरेका छन् । 

 यस सन्दर्भमा, वर्तमान  सञ्चार परिदृश्यमा विविध माध्यमबाट सम्प्रेषित सूचनाको प्रभावकारी अर्थ निकाल्ने प्रक्रियामा नेपाली सामाजिक मनोविज्ञानलाई थप सशक्तीकरण गर्नु आवश्यक देखिन्छ । वर्तमान सूचना तथा  सञ्चार प्रविधिको युगमा  सञ्चार साक्षरतालाई नेपाली समाजको मूलधारको एजेन्डाको रूपमा अङ्गीकार गरिनु आवश्यक छ । 

हुन त  सञ्चार साक्षरता आफैँमा अस्पष्ट अवधारणा लाग्नु अनौठो होइन । यो फराकिलो अर्थ राख्ने शब्दावली हो । यसले केवल पढ्ने, लेख्ने, बोल्ने वा रेडियो कानमा राख्ने वा सामाजिक मिडियामा तस्बिर र भिडियो लाइक र सेयर गर्ने कुरालाई मात्र जनाउँदैन । वास्तवमा  सञ्चार साक्षरता सूचना प्रदायक र सूचना प्रापकको मनोनैतिक क्षमतासँग विशेष रूपमा सम्बन्धित विषय हो । 

 अमेरिकन लाइब्रेरी एसोसिएसनका अनुसार,  सञ्चार साक्षरता भनेको “पढ्ने, लेख्ने, र हस्ताक्षर गर्ने तथा मौखिकदेखि हस्तलेखन, प्रिन्ट, टीभी, रेडियो, र डिजिटल मिडियासम्मका प्लेटफर्म, उपकरण, र मिडियाको दायरामार्फत अन्तक्र्रिया गर्ने क्षमता हो ।” यो ‘अन्तक्र्रिया’ भन्ने शब्दले हाम्रो पारस्परिक आवश्यकता, व्यवहार र गुणदोषको मूल्याङ्कनको मानवीय स्वभावलाई इङ्गित गर्छ । तसर्थ विविध माध्यममार्फत प्रस्तुत गरिएको सूचनालाई बुझ्ने र आलोचनात्मक रूपमा मूल्याङ्कन गर्ने क्षमता एवं प्रभावकारी रूपमा सूचना उत्पादन गर्ने तथा साझेदारी गर्ने क्षमता पनि  सञ्चार साक्षरताअन्तर्गत पर्छ । 

यसबाहेक, युनेस्कोको मिडिया तथा सूचना साक्षरता कार्यक्रमले सञ्चार साक्षरता नागरिक संलग्नता र सहभागिताका लागि आवश्यक ठहर गरेको छ । युनेस्कोले सन् २०१३ मा प्रकाशित गरेको प्रतिवेदन ‘मिडिया एन्ड इन्फर्मेसन लिटरेसी फ्रेमवर्क’ अगाडि लेख्छ, “मिडिया र सूचना साक्षरताले मानिसहरूलाई आलोचनात्मक चिन्तक बन्न सशक्तीकरण गर्छ । 

उनीहरूलाई मिडिया र सूचना प्रदायकको कार्यहरू बुझ्न, लोकतान्त्रिक समाजमा तिनीहरूले खेल्ने भूमिकाका सम्बन्धमा आलोचनात्मक रूपमा सोच्न र संवाद तथा बहसमा समर्थनसहित भाग लिन मद्दत गर्दछ । नेपालले पनि विचार गर्नैपर्ने विषय हो कि  सञ्चार साक्षरता समाजमा पर्याप्त नहुँदा आजको सूचनाको बाढीलाई झेल्ने, प्रशोधन गर्ने र सही छनोट गर्ने क्षमता कम हुन जान्छ । फलतः लोकतान्त्रिकीकरणको प्रयत्न पनि चिताएअनुरूप फलदायी हुँदैन । 

त्यस्तै, अपर्याप्त  सञ्चार साक्षरताका कारण लोकतान्त्रिक तौरतरिकाद्वारा जनहितमा नीति निर्माण गर्ने क्रममा आवश्यक नागरिक संग्लग्नता र सहभागिता जुट्दैन । यसको परिणाम हामीले नेपाली समाजमा पनि भोगेकै छौँ । कतिपय अवस्थामा फल नै नलाग्ने फोस्रा नीति बन्ने गर्छन् । जनताको पक्षमा सशक्त नीति बनाउन सूचना साझेदारीमा पर्याप्त मलजल हुनु आवश्यक छ । 

त्यो भनेको नागरिकले सक्रिय रूपले कसरत गर्ने वातावरणको उपलब्धता हुनुपर्छ भनिएको हो । नागरिकहरूको मनग्य संग्लग्नता र सहभागिताबिना बनाइएको नीति प्राविधिक रूपले जति नै बलवान र ओजिलो देखिए पनि ताìिवक रूपमा त्यस्तो नीति पुष्ट र जनपक्षीय हुन्छ भन्न कठिन पर्छ । 

आजको युग सूचना तथा सञ्चारको युग हो । जहाँ ज्ञान अर्थतन्त्रले ठूलो आकार ग्रहण गरिरहेको छ । सूचना तथा सञ्चार प्रविधि निरन्तर विकसित भइरहेको छ । यद्यपि सुविधाविहीन वर्गका लागि त्यसमा अझै पनि उचित पहुँचको समस्या विद्यमान छ । डिजिटल तवरमा जडित विश्वमा प्रभावकारी र सुरक्षित रूपमा दिशा–निर्देशित भएर सहभागी बन्न नेपाली जनसमुदायका लागि पनि सञ्चार साक्षरता हुनु अति आवश्यक छ । 

नेपालको शैक्षिक प्रणालीको अभिन्न अङ्गको रूपमा  सञ्चार साक्षरतालाई राष्ट्रिय स्तरमै स्थापित र प्रवद्र्धन गरिनु आवश्यक भइसकेको छ । किनभने पछिल्लो समय निरन्तर विकसित भइरहेका सूचना तथा सञ्चार प्रविधि नेपाली जनजीवनबाट पनि अविभाज्य भएका छन् । भलै पहुँचको सवाल आफ्नो ठाउँमा किन नहोस् । मिडिया कन्टेन्टको प्रशोधन, सही प्रयोग र सामाजिक, सांस्कृतिक तथा नैतिक कोणबाट वस्तुगत मूल्याङ्कन गर्न नेपाली समाजलाई यथाशक्य मात्रामा सशक्तीकरण गर्नु ज्यादै महìवपूर्ण भएको छ । 

माध्यमले विवेकलाई बन्धक नबनाओस् । विवेकले माध्यमलाई सही उद्देश्यका निम्ति प्रयोग गरोस् ।  सञ्चार माध्यम वा प्रविधिका प्रयोगकर्तालाई यही कुरा प्रभावकारी रूपमा सिकाउन र बुझाउन सकियो भने  सञ्चार साक्षरताको सार्थकता रहन्छ । 

विचार तथा अभिव्यक्ति स्वतन्त्रता, मिडिया स्वतन्त्रता, नैतिक रूपले श्रेष्ठ र अहिंसात्मक एवं कल्याणकारी सञ्चार अभ्यासमा आधारित भएर सूचना तथा  सञ्चार प्रविधि, डिजिटल साक्षरता र जिम्मेवार अनलाइन व्यवहारलाई प्राथमिकता दिने सञ्चार साक्षरता नीति नेपालले अपनाउनु सार्थक हुन्छ । पछिल्लो समय यौन बजार–केन्द्रित डिजिटल सफ्टवेयरमार्फत अश्लीलताको बाढी आइरहेको सन्दर्भमा नेपाली नयाँ पुस्ताको गुणात्मक मानसिक तथा नैतिक विकासलाई समेत लक्षित गरेर  सञ्चार साक्षरताको नीति अपनाउनु समाजको दीर्घकालीन हितमा हुनेछ । 

केन्द्रीय स्नायु प्रणालीको रूपमा रहेको राजनीति राम्रो नभई कुनै क्षेत्रले पनि अपेक्षित प्रभावकारिताका साथ काम गर्न सक्तैन । हरेक क्षेत्रको नीतिको प्रमुख स्रोत राजनीति भएकोले यसप्रति जनताको आलोचनात्मक चासो रहनु स्वाभाविक छ तर जब भारी लगानीका साथ झुट र गालीगलौजको खेतीपाती गर्ने थलो डिजिटल स्पेस बन्छ, कानुनद्वारा मात्र यस अवस्थाको नियन्त्रण सम्भव हुँदैन । आलोचना, विश्लेषण र वैकल्पिक दृष्टिकोण लोकतन्त्रमा अपरिहार्य छन् । 

 यी लोकतान्त्रिक विशेषताको संरक्षण गर्दै डिजिटल स्पेसको सही प्रयोगमा जोड दिने र गलत अभ्यासलाई निरुत्साहित गर्ने क्षमता बढाउने प्रकृतिको  सञ्चार साक्षरताको आवश्यकतालाई बोध गरौँ । 

लेखक सञ्चार क्षेत्रका अधेता  हुनुहुन्छ ।  

   

Author

मोहन नेपाली