• ११ मंसिर २०८१, मङ्गलबार

बनेपामा चण्डेश्वरी जात्रा सुरु

blog

बनेपा, वैशाख २३ गते । काभ्रेपलाञ्चोकको बनेपामा चण्डेश्वरी जात्रा सुरु भएको छ। वैशाख शुक्ल पूर्णिमामा मनाइने यो जात्रा काठमाडाैँ नजिकैको बनेपा र आसपासका क्षेत्रमा रहेका नेवार समुदायले भव्य रूपमा मनाउने गर्छन्। जात्रामा बाजागाजासहित रथलाई चण्डेश्वरीसम्म लगेर भोलिपल्ट देवीको मूर्तिलाई रथमा राखेर फर्कने चलन छ। 

हरेक वर्ष चण्डी पूर्णिमादेखि तीन दिनसम्म मनाइने जात्राको पहिलो दिन बिहान मत पूजा (चिराग यात्रा) गरियो। धिमे, नायिखङ्ग, छुस्यालगायत विभिन्न बाजागाजासहित आस्था भएका सबैले आआफ्ना घरबाट चिराग बोक्दै बनेपाको लायकुमा जम्मा भई जलेश्वर महादेव (जसिगा)सम्म पुगेर विसर्जन गर्ने प्रचलन रहेको संस्कृतिविद् गणेशराम लाछीले जानकारी दिनुभयो। 

उहाँले जात्राका क्रममा चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवतालाई १२ वटा बोका बलि दिने बताउँदै भन्नुभयो, “तीमध्ये एउटा बोका द्वारे र अर्को बोका जोशीलाई दिइन्छ। बाँकी मासु ‘कलङ्दान’ गरिन्छ।” 

‘कलङ्दान’ जात्रामा मासुलाई प्रसादस्वरूप भीडमा फालिन्छ। चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहकलगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले यो जात्रालाई विशेष महत्त्वका साथ लिइने गरिएको हो। 

‘कलङ्दान’का क्रममा भीडमा फालिएको मासुका टुक्रा पाउनेलाई भाग्यमानी मानिने जनविश्वास छ। संस्कृतिविद् लाछीले चण्डेश्वरी देवीको उत्पत्तिको विषय चण्डासुर नामक राक्षससँग जोडिएको र चण्डासुरले महादेवको वरदान पाएर उत्पात मच्चाएपछि देवी स्वरूपमा चण्डेश्वरीले चण्डासुरको वध गरेको कथन रहेको सुनाउनुभयो। लाछी भन्नुहुन्छ, “चण्डासुरको मृत्युको खुसियाली नै यस जात्राको रौनक हो।” परापूर्वकालदेखि मनाइने यस जात्रामा भाग लिन दोलखा, ललितपुर, भक्तपुर, काठमाडौँ, रामेछापलगायतका ठाउँबाट भक्तजन आउँछन्। 

देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ। बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटमा भेडा बलि दिइएपछि देवता नभएको खाली खटलाई विभिन्न बाजागाजासहित स्थानीय युवाहरूले बोकेर चण्डेश्वरी पु-याउने प्रचलन छ।

बनेपाबाट जहाँसुकै बसाइँ सरेकाहरू चण्डेश्वरी जात्रामा पूजा गर्न यहाँ आइपुग्छन्। सबै समुदायसँग प्रत्यक्ष जोडिएको हुनाले यो जात्रालाई बनेपाका बासिन्दाले दशैँ तिहारभन्दा ठूलो पर्वका रूपमा लिने गरेका छन्।

पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधि गरिएको भन्ने विश्वास छ। त्यहाँ रथ पु¥याउने र भव्य स्वागत सत्कारका साथ पूजाआजा र बलि दिने परम्परा रहेको इतिहासविद् ज्ञानकाजी मानन्धर बताउनुहुन्छ। उहाँका अनुसार जात्राको सुरुदेखि नै बलि दिइन्छ। खटलाई प्राचीन लायकु दरबारसम्म पु¥याउँदै र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याइन्छ। यस्तै मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पु¥याएपछि जात्रा सकिन्छ। बनेपालगायतका आसपासका नेवार समुदायले चण्डेश्वरीलाई आराध्यदेवकै रूपमा मान्ने गर्छन्। चण्डासुरको वधपछि चण्डेश्वरीलाई देवलोकमा बाजागाजासहित स्वागत गरिएको र यसै खुसियालीमा सत्ययुगबाट यस जात्रा चलिआएको बताइन्छ। 

चण्डेश्वरी जात्राबाहेक काभ्रे जिल्लामा बर्सेनि उग्रचण्डी नालामा भगवती महालक्ष्मीको, साँगामा नासिका भगवतीको, चौकोटमा श्वेतगणेशको, श्रीखण्डपुरमा श्वेत भैरवको र पनौतीमा इन्द्रेश्वरको जात्रा हुने गरेको छ।