तिलाचन पाण्डे
तम्घास(गुल्मी), जेठ २६ गते । आर्थिक सङ्कटकाल घोषण गरेको गुल्मीको रेसुंगा क्याम्पस लयमा आएको छ । आर्थिक अभावका कारण सङ्कटकाल घोषण गरेको क्याम्पस अहिले लयमा फर्किएको क्याम्पस सञ्चालक समितिले जानकारी गराएको हो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीका अनुसार २०७९ साउन ३० गते क्याम्पसमा आर्थिक अवस्था र विद्यार्थीहरुको अवस्था न्यून रहेकाले सङ्कटकाल घोषण गर्न बाध्य भएको र अहिले क्याम्पस लयमा आएको बताउनुभयो ।
यस बिचमा क्याम्पसले सात जना प्रध्यापक र छ जना कर्मचारीहरुलाई बिदाई समेत गरेको भलामीले जानकारी दिनुभयो । उहाँहरुलाई बिदाई गर्दा मासिक रुपमा सात लाख ११ हजार ९१८ रुपियाँ खर्च कटौती हुनुका साथै आर्थिक भार पनि कम भएको उहाँको भनाइ छ ।
क्याम्पसमा आर्थिक अभाव भएको भन्दै रेसुंगा नगरपालिकाले एक करोड रुपियाँ अनुदान स्वरुप दिने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम पहिलो किस्ताको ५० लाख रुपियाँ प्राप्त भएको र बाँकी रकम अख्तियारमा उजुरी परेका कारण प्राप्त गर्न नसकिएको भलामीले बताउनुभयो ।
क्याम्पसबाट अवकास लिएका प्रध्यापक र कर्मचारीका लागि दिनुपर्ने कुल तीन करोड ३६ लाख ८९ हजार ३२७ रुपियाँमध्ये दुई करोड २३ लाख दुई हजार ८४२ रुपियाँ भुक्तानी गरी बाँकी एक करोड १३ लाख ८६ लाख ४८५ रुपियाँ बाँकी रहेको सञ्चालक सदस्य हरिकुमार श्रेष्ठले बताउनुभयो । उक्त रकमका लागि पनि व्यवस्थापन भइरहेकाले समस्या नरहेको उहाँको भनाइ छ ।
आर्थिक वर्ष २०८१/०८२ मा स्नातक र स्नातकोत्तरमा गरी कुल ७३१ जना विद्यार्थीहरु रहेका छन् ।