• ११ मंसिर २०८१, मङ्गलबार

प्राचीनतामा गौतम बुद्ध र लुम्बिनी

blog

विश्वमा विभिन्न समयमा फरक फरक धर्म प्रचलनमा आएको देखिन्छ । ती धर्मको संस्कार, संस्कृति र परम्परा पनि भिन्दाभिन्दै छन् । कतिपय त्यस्ता विधि र मान्यतामा परिवर्तन गर्दै वा गरिँदै आएको छ भने कतिले आफ्नै पूर्वमौलिकतालाई जोगाइरहने प्रयास गरेको पनि देखिन्छ । सबैले आफ्नो प्राचीनता देखाउन खोज्नुलाई पनि अन्यथा मान्नु हुँदैन ।

तर, पछिल्ला समयका केही यस्ता विचारक र सिद्धान्त प्रतिपादकहरू निस्के र त्यसलाई बहुजनले स्वीकारे । आफ्नै नेतृत्वमा वा आफ्नै जीवनकालमा त्यसलाई दैनिक जीवनको कार्यान्वयन पक्षमा लगे । त्यसमा थप परिमार्जन र परिस्कृत गर्दै सर्वस्वीकार्य बनाउने प्रयास गरे । त्यस्ता केही महामानव जसको जन्मदेखि मृत्युसम्मको जीवन लीला, स्थान विशेष र तिथिमितिका साथ प्रामाणिक रूपमा उल्लेख भएको भेटिन्छ । त्यसैमध्येका एक गौतम बुद्ध पनि हुन् । 

उनको विचार, ज्ञान, सिद्धान्त वा बौद्ध भाषामा बुद्ध शिक्षा अहिले विश्वमा धर्मका रूपमा स्थापित भइसकेको छ । यसैलाई सामान्य अर्थमा बुद्ध धर्म मान्दछौँ । उनको शिक्षा वा उपदेशको अध्ययन, मनन र पालन जीवनको सत्यतासँग जोडिएको छ । यसले मानिसलाई आत्मशुद्धि वा सत्यको मार्गतिर दिशा निर्देश गर्ने तथा ‘बहुजन हिताय बहुजन सुखाय’को सिद्धान्त समेटेको छ । शान्ति र सद्भाव यसका निहित अर्थ भएकाले परिवर्तित समयमा पनि विश्वमा यसको महìव कम भएको छैन ।

गौतम बुद्धको जन्म, बोधिज्ञान र महापरिनिर्वाण अर्थात् त्रिसंयोग वैशाख पूर्णिमाको दिन पर्दछ । यसै दिनलाई बुद्ध पूर्णिमा, वैशाख पूर्णिमा वा बुद्ध जयन्तीका रूपमा मान्ने र मनाउने परम्परा बस्दै आएको छ । यस दिन बुद्धको चिस्मरणीय जन्म जयन्ती, बुद्धत्व प्राप्त गरेको चिरप्रेरक पावन दिन र महापरिनिर्वाण भएको चिरसंवेगदायी दिनका रूपमा विहार, गुम्बालगायतमा विशेष ध्यान, पूजा र देशना हुन्छन् भने सार्वजनिक रूपमा विभिन्न कार्यक्रम आयोजना हुन्छ । गौतम बुद्धको जन्म तिथिमा केही भिन्नता देखिए पनि त्यसपछिका अन्य तिथि मितिका आधारमा उनको जन्म इसापूर्व ६२३ मा भएको मानिन्छ । जसलाई संयुक्त राष्ट्रसङ्घले विश्वभरका लागि आधिकारिकता ठहराएको छ । 

उनको जन्म, बोधिज्ञान प्राप्त, पहिलो धर्मदेशना र महापरिनिर्वाण स्थल बुद्ध अनुयायीहरूका लागि र पुरातात्त्विक  हिसाबले पवित्र र झन्डै २६ सय वर्ष अगाडिको युगको झझल्को देखाउँछन् । यसमध्ये उनको जन्म स्थान लुम्बिनी र उनले युवा अवस्थासम्म बिताएको सङ्घीय राजा शुद्धोधनको दरबार प्राचीन कपिलवस्तुको तिलौराकोट, उनको मामाली र ससुराली देवदह, उनको जीवनसँग प्रत्यक्ष अप्रत्यक्ष महìव राख्ने गोटिहवा, निग्लिहवा, सगरहवा, सिसनियकोट, अरौवाकोट, कुदान र उनको अस्तुधातु बाँकी भएको एक मात्र स्तूपा रहेको रामग्रामलगायतका सयौँ स्थान नेपालमा रहेका छन् ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीका बारेमा सन् १३१२ पछि सन् १८९३ सम्म कोही पुगेको र त्यसका बारेमा थप उल्लेख गरेको देखिँदैन । सन् १३१२ मा पश्चिम नेपालका एक राजा रिपु मल्लले आफू त्यहाँ पुगेको भन्ने कुरा शिलास्तम्भमा उल्लेख गरेका छन् । यति धेरै शताब्दी वा समयसम्म बौद्ध ग्रन्थ र बौद्ध भिक्षुहरूले उल्लेख गर्दै आएको बुद्ध जन्मस्थल लुम्बिनी कता छ होला भन्ने अन्योल नै रह्यो । बुद्धत्व प्राप्तिपछि उनको यात्रासँग जोडेर जन्म स्थानका बारेमा अनुमान गर्नु कुनै अन्यथा रहेन । जसले लामो समयसम्म भ्रम फैलाई पनि रह्यो ।

सन् १९९३ मा लुम्बिनी क्षेत्रमा पुगेका मेजर जसकर्ण सिंहले जङ्गलभित्र भव्य शिला देखेपछि यो चर्चाको विषय बन्यो । यसको प्राचीनता र महìव पहिचानका लागि सन् १८९४ मा वरपरको जङ्गल फँडानी गरी हात्तीद्वारा उखेल्ने प्रयत्न पनि गरे । जसमा लेखिएको कुरा पाली भाषामा रहेकाले उनले यसलाई लुम्बिनी भनी जान्न सकेनन् तर भारतमा यस्तै पुरातìिवक वस्तुको खोज र पहिचानमा हिँडिरहेका डा. फुहररले जानकारी पाएपछि उनी सन् १८९६ को डिसेम्बर १ मा त्यहाँ पुगे । जहाँ उनले नेपालको तराईका गभर्नर जेनरल खड्ग शमशेरको सहयोग लिएर केही भाग पुरिएको र जमिन माथि करिब १० फिट उचा रहेको स्तम्भका अक्षरको पहिचान गरे ।

यसलाई सामान्य उत्खनन गर्दा शिलास्तम्भको नौ फिट आठ इन्चमाथि पाँच हरफको मौर्यकालीन अभिलेख देखियो । जसका अध्ययन र पहिचानपछि यो बुद्धको जन्म स्थलमा अशोकले स्थापना गरेका स्तम्भ र उक्त स्थान लुम्बिनी भएको भनी उनले इलाहावाद पायनियर पत्रिकामा सन् १८९६ डिसेम्बर २३ मा लेख प्रकाशित गरे । उनले आफूले प्रतिलिपि बनाएर लगेको पाठको सन् १८९७ मा प्रकाशित गरेका थिए तर नेपाल पक्षले भने सन् १९५० मा चारकोसे जङ्गल फँडानी गर्दा उक्त स्तम्भ भेटेको र निकाल्ने प्रयत्न गरेको बताउँदै आएको छ ।

बुद्धकालीन र त्यसपछि बनेका विभिन्न ग्रन्थ र त्यसपछि पनि त्यहाँ पुगेका विशेष व्यक्तिहरूले उल्लेख गरेको विवरणहरू लुम्बिनीलाई पुष्टि गर्ने थप प्रमाणहरू बने । यस्ता विवरणले गौतम बुद्ध र लुम्बिनीका बारेमा धेरै कुरा उजागर गर्दछन् । गौतम बुद्धको ज्ञान प्राप्तिपछि र उनको महापरिनिर्वाणपछि लुम्बिनीमा आवतजावत बढ्यो । त्यहाँ विभिन्न चैत्य र ध्यान केन्द्र बनेका थिए भन्ने अहिले पनि प्रमाणहरू छन् । त्यसपछि भारत वर्षका मौर्य सम्राट् अशोक आफ्ना गुरु र सहयोगी लिएर इसापूर्व २४९ मा त्यहाँ पुगेको र उनले उक्त शिलास्तम्भ ल्याएर बुद्ध जन्मस्थल लुम्बिनीमा पूजा गरेको विवरण लेखेका छन् ।

त्यस्तै तिथि मितिका आधारमा उल्लेख गर्नुपर्दा लुम्बिनीका बारेमा धेरै विवरणसहित उल्लेख गर्ने केही चिनियाँ यात्री पनि छन् । सन् ३९९ देखि ६३६ सम्मको समयमा पुगेकाहरूमध्ये फाहियान र हुएन साङ् विश्व इतिहासमा त्यस्ता यात्री हुन्; जसको वृत्तान्तले अहिले नेपालका धेरै ऐतिहासिक कुरालाई पहिचान गर्न सघाएको छ । उनीहरूले लुम्बिनी पुगेर त्यहाँको वस्तुस्थिति र त्यस वरपरको वस्तु विवरण किटानीका साथ उल्लेख गरेका छन् । जुन कुरा अहिले पनि पाउन र अवलोकन गर्न सक्दछौँ । 

बुद्धको समयमा उनको शिक्षा र उनीसम्बन्धी लेख्ने र लेखाउने विषयमा बुद्धले महìव दिएका थिएनन् । त्यस समयमा भारत वर्षमा प्रचलित अरू धर्महरूमा प्रायः संस्कृत भाषाले महìव पाएको र धार्मिक कुरा त्यसैमा लिपिबद्ध थिए । त्यही भाषामा लेख्ने र थप्ने काम भएका थिए । उनले त्यसलाई नरुचाएको प्रसङ्गहरू धेरै पाइन्छ । उनी प्रचलित पाली भाषामा आफ्ना शिक्षा बाँड्ने गर्थे । उनको शिक्षा र उनी सम्बन्धित कुरा उनको महापरिनिर्वाणपछि नै तयार वा सङ्ग्रह भएका हुन् ।

बुद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक पनि पछि नै सङ्ग्रह गरिएको हो । जुन पाली भाषामा छ । महायानको विकासपछिका अरू ग्रन्थहरू संस्कृतमा बनेका हुन् । बुद्ध शिक्षाको प्रचारसँगै अरू भाषाहरूमा त्यसको अनुवाद हुन थालेका हुन् । अधिकांश ग्रन्थ र भास्यसमेतमा बुद्ध जीवनी र बुद्ध स्थानहरूका बारेमा उल्लेख छन् । केही महìवपूर्ण उल्लेखमा त्रिपिटकको सुत्तपिटकअन्तर्गत खुद्दक निकायअन्तर्गतको सुत्तनिपातमा बुद्धको जन्मस्थल भनी लुम्बिनीको उल्लेख छ । जातक अट्ठकथाको अविदूरे निदानमा कपिलवस्तु र देवदहबीचको भाग लुम्बिनी वन भनी स्वर्गको उपमासमेत दिइएको छ ।

मज्झिम निकायको देवदहसुत्तमा बुद्ध देवदहमा भिक्षाटन गरी लुम्बिनीमा विहार गरेको भनिएको छ । त्यसैगरी ललित विस्तारमा लुम्बिनी वनको वृक्ष र फूलहरूका विवरण रहेको छ । अशोकको धर्मयात्रामा पनि बुद्धको आमा मायादेवी र लुम्बिनीको प्रसङ्ग उल्लेख छ । त्यसैगरी महापरिनिर्माण सूत्रमा बुद्ध लुम्बिनी वनमा जन्मिएको भनिएको छ । त्यस्तै अरू धर्मका ग्रन्थ र सनातन धर्मका पुराणहरूमा पनि बुद्धका बारेमा उल्लेख छन् । 

गौतम बुद्ध र बुद्ध स्थानमा बुद्धको जीवनकाल र त्यसपछिका विभिन्न घटनाक्रम जोडिएका छन् । त्यस्ता धेरै स्थानविशेष हालको नेपाल भूमिमा रहेका छन् । जसले बुद्ध र बुद्धकालीन वरपरका समयका बारेमा अहिले पनि हामीलाई धेरै कुरा ज्ञात गराएका छन् । जसको उत्खनन र संरक्षण समय सान्दर्भिक हुन सकिरहेको छैन । चर्चामा लुम्बिनी मात्र परिरहेको छ । लुम्बिनी, तिलौराकोटलगायतका ती स्थानको अतिक्रमणलाई निस्तेज गर्न पनि सकिरहेको अवस्था छैन । अहिले केवल तिलौराकोट दरबार क्षेत्रको उत्खननमा विदेशी चासो र सहयोगले केही गति भने लिएको देखिन्छ ।

नेपालबाहिरका यस्ता स्थानमा धेरै विकास भइसकेका छन् र विश्वव्यापी प्रचारमा अगाडि परेका छन् । बदलिँदो परिस्थितिमा पर्यटकीय गन्तव्यका रूपमा स्थापित भई राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा दिन सक्ने बनिसकेका छन् । नेपालमा रहेका बुद्ध जीवनसँग सम्बन्धित स्थानहरू र कपिलवस्तुमै रहेका अन्य दुई बुद्ध कनकमुनी र क्रकुछन्द बुद्धसँग सम्बन्धित क्षेत्रको उत्खनन, संरक्षण र तिनका वरपर विकासका पूर्वाधारमा तीव्रता भए देशको धार्मिक, सांस्कृतिक र पुरातìिवक पहिचान बनी नेपालको प्राचीनता र महìव अविरल हुने थियो । विश्व परिवेशमा बढ्दै गएको पर्यटकीय गतिविधिको विशेष केन्द्र बनेर देशकै आर्थिक भविष्यको दरिलो स्रोत बन्न सक्ने देखिन्छ । 

लेखक बुद्ध धर्मको अध्ययन अनुसन्धानमा संलग्न हुनुहुन्छ ।    

Author

डा. उद्धव पुरी