• १४ असार २०८२, शनिबार

‘रामचन्द्र गौतम–इन्दु पत्रकारिता पुरस्कार’ तिवारीलाई

blog

गोरखापत्रका पूर्व प्रधान सम्पादक रमेश तिवारी ।

गोरखापत्र समाचारदाता 

काठमाडौं, वैशाख २१ गते । यस वर्षको रामचन्द्र गौतम–इन्दु पत्रकारिता पुरस्कारबाट गोरखापत्रका पूर्व प्रधान सम्पादक रमेश तिवारीलाई पुरस्कृत गरिने भएको छ । वैशाख २४ गते हुने हरेक वर्षको गोरखापत्रको स्थापना दिवस तथा राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सो पुरस्कार प्रदान गर्ने गरिएको हो । 

नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाद्वारा प्रदान गरिने पुरस्कारको राशी ५० हजार रुपियाँ रहेको छ । गोरखापत्रका पूर्व प्रधान सम्पादक निर्मल आचार्यको संयोजकत्वमा गठित समितिले तिवारीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । 

उहाँ गोरखापत्र दैनिकमा २०५५ साल र २०६६ सालमा दुई पटक प्रधान सम्पादकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । करिब पाँच दशकदेखि पत्रकारितामा निरन्तर क्रियाशील तिवारी २०३९ सालमा गोरखापत्रमा करार सेवामा प्रवेश गर्नुभएको थियो । 

२०४० सालमा गोरखापत्रमा उपसम्पादक पदमा उहाँ स्थायी सेवामा प्रवेश गर्नुभयो । गोरखापत्रमा उहाँले २८ वर्ष पत्रकारिता गर्नुभयो । गोरखापत्र प्रवेश गर्नुभन्दा पहिले उहाँले समीक्षा, विमर्श र राष्ट्रपुकार साप्ताहिक पत्रिका, भानु साहित्यिक पत्रिकालगायतका पत्रपत्रिकामा काम गर्नुभएको थियो । 

उहाँले अर्थशास्त्र विषयमा स्नातकोत्तर गर्नुभएको छ भने भारतको नयाँ दिल्लीमा रहेको इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेशनबाट एक वर्षे पोष्ट ग्राजुएशन कोर्स गर्नुभएको छ । 

गोरखापत्रका पूर्व प्रधान सम्पादक स्वर्गीय रामचन्द्र गौतमको स्मृतिमा ‘रामचन्द्र गौतम–इन्दु पत्रकारिता पुरस्कार’ तीन वर्षअघि स्थापना भएको थियो । स्वर्गीय गौतमको कार्यस्थलमा नै हृदयाघातबाट निधन भएको थियो । 

नेपालको पत्रकारितामा विशिष्ट योगदान पु¥याएका व्यक्तित्वको सम्मानका लागि पुरस्कार स्थापना गरिएको थियो । यो पुरस्कार हरेक वर्ष दिइने नेपाल पत्रकार महासंघ, गोरखापत्र प्रतिष्ठान शाखाका अध्यक्ष सरोज ढुङ्गेलले बताउनुभयो । 

यसअघि यो पुरस्कारबाट रातोपाटी अनलाइनका संस्थापक प्रधान सम्पादक ओम शर्मा र गोरखापत्रका पूर्व प्रधान सम्पादक निर्मल आचार्य पुरस्कृत हुनुभएको थियो ।  

स्वर्गीय गौतमकी धर्मपत्नी इन्दु थपलिया गौतमले पुरस्कार स्थापनार्थ अक्षयकोषका लागि पाँच लाख रुपियाँ प्रदान गर्नुभएको थियो । कोषको सोही रकमबाट प्राप्त ब्याजबाट हरेक वर्ष पुरस्कार प्रदान गर्ने गरिएको छ ।