काठमाडौं, वैशाख २१ गते । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतले मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ ।
बिहीबार मन्त्रालय पुगेर पदभार सम्हाल्नुहुँदै मन्त्री बस्नेतले विभिन्न चार वटा निर्णय गर्नुभएको छ । उहाँले आम नागरिकको स्वास्थ्य उपचार सेवालाई सरलीकृत गर्ने र उपलब्ध साधन श्रोतलाई अधिकतम उपयोग गरी जनताको स्वास्थ्य सेवा प्राप्त गर्ने आधारभूत मानव अधिकारलाई सुनिश्चित गर्ने निर्णय गर्नुभएको हो ।
मन्त्री बस्नेतले स्वास्थ्य उपचारका नियमित सेवाका अलावा समय क्रममा विकसित भई सङ्क्रामक एवम् महामारीको रूपमा फैलिने कोभिड, डेंगु र अन्य सरुवा रोग फैलिन नदिन मन्त्रालयले नीतिगत भूमिका खेल्ने बताउनुभएको छ ।
साथै उहाँले सङ्घ, प्रदेश र स्थानीय तहसँगको पारस्परिक समन्वय र व्यवस्थापनलाई चुस्त दुरुस्त गरी आम नागरिकको स्वास्थ्य उपचारसँगै जीवन सुरक्षाका लागि तीनै तहका सरकार, दातृ निकाय एवम् सङ्घ संस्थाको साझेदारी र लगानीमा स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्नुभएको छ ।
त्यस्तै, स्वास्थ्य बीमा कार्यक्रममा सर्वसाधारण नागरिक समेतको सहज पहुँच र सुविधाका लागि सरलीकृत गर्न आवश्यक भएकाले दातृ निकाय समेतको सहभागिता जुटाई स्वास्थ्य संस्थामार्फत स्वास्थ्य बीमाको सेवालाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने, आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा साधन, स्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधासहित चिकित्सकहरूलाई अधिकतम परिचालन गर्ने निर्णय पनि उहाँले गर्नुभएको छ ।
यसैगरी, मन्त्री बस्नेतले स्वास्थ्य सेवा प्रवाहका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा रहेका अस्पतालबाट भइरहेको उपचारात्मक सेवा र उपलब्ध स्रोत र साधन (औजार उपकरण) को अत्यधिक उपयोग भए, नभएको समेत समग्र क्षेत्रको अनुगमन गरी मन्त्रीसमक्ष प्रतिवेदन पेस गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा अनुगमन समिति गठन गर्ने निर्णय गर्नुभएको छ ।