• ६ जेठ २०८१, आइतबार

देवचुलीको कुमसोतले पर्यटक लोभ्याउँदै

blog

कुमसोत डाँडा अवलोकन गर्न पुगेका पर्यटकहरु । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, वैशाख २१ गते । कुनैबेला विकट मानिएको देवचुलीस्थित कुमसोत क्षेत्र अहिले धेरैको गन्तव्य बनेको छ । देवचुली नगरपालिकाको दुर्गम गाउँ भनेर चिनिने सो ठाउँ सडक, विद्युत विस्तारसँगै आन्तरिक तथा बाह्रय पर्यटकको घुम्ने स्थान भएको छ । 

अहिले दैनिक सयौँको सङ्ख्यामा यहाँ आउने पर्यटकलाई यहाँको वातावरणले लोभ्याउने गरेको छ । चारैतिर वनजङ्गलको बीचमा अवस्थित डाँडा देखेपछि त्यहाँ  पुग्ने जोकोही दङ्ग पर्दै रमाउने गर्छन् ।

नगरकोटको झल्को दिने देवचुली वडा –६ मा अवस्थित कुमसोत अहिले धेरैको रोजाई बनेको छ । कुमसोतबाट नवलपुर क्षेत्र, चितवनका गाउँहरू, चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी, राप्ती नदीको सौन्दर्य सहजरुपमा अवलोकन गर्न सकिन्छ । 

प्राकृतिक सौन्दर्यमा रम्न समय मिलाएर कुमसोत पुग्नेगरेको देवचुली ११ का तुलसी भट्टराईले बताउनुभयो । चाडपर्व तथा विशेष दिनहरूमा कुमसोत पुग्नेको भीड नै हुनेगरेको भट्टराईले बताउनुभयो । 

केही वर्षअघि सडक कालोपत्रे भए तापनि विधुतको समस्या झेल्दै आएका कुमसोत बासीलाई विधुत पुगेपछि सहजता थपिएको छ । विधुत प्रसारणसँगै कुमसोतमा होटलहरु सञ्चालनमा आएका छन् । अहिले ५ वटा होटलहरु सञ्चालनमा रहेको र केही होटलमा आवासको व्यवस्था पनि रहेको छ । 

दैनिक २०० देखि २५० जनाको हाराहारीमा पर्यटक पुग्नेगरेको देवचुली वडा –६ का अध्यक्ष मीनबहादुर सोती मगरले बताउनुभयो । सडक कालोपत्रेसहित विधुत र खानेपानीको सहजताले कुमसोतको विकासमा सहयोग गरेको वडा अध्यक्ष सोती मगरले बताउनुभयो ।

कुमसोत डाँडामा भेटिनुभएकी देवचुली नगरपालिका –१ निवासी शोभा भण्डारी त्यहाँको वातावरण देखेर निकै खुसी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यति राम्रो प्राकृतिक दृश्य देख्दा पाइएको आनन्दबाट धेरै सन्तुष्टि मिलेको छ । आफ्नो सपरिवार छोराछोरीसँगै पुग्नुभएकी भण्डारीले कुमसोत डाँडाबाट देखिने मनोरम दृश्य अवलोकनका साथै त्यहाँ खेलाइने पिङ खेलेर घण्टौँ बिताउन पाउँदा आनन्दको अनुभूति भएको बताउनुभयो ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गमा रहेको दलदले बजारबाट उत्तरतर्फ ३० मिनेटमा पुग्न सकिने भएकाले उक्त स्थानमा प्रायः मोटरसाइकल, अटो तथा कारमा यात्रा गर्न सहज छ । आन्तरिक पर्यटकहरू गर्मीको समयमा गर्मी छल्नका लागि पनि कुमसोत पुग्नेगरेका छन् । चिसो हावापानी साथै हरियालीबीचमा रहेको कुमसोतमा प्राकृतिक सौन्दर्यले थप साथ दिएको छ ।

पिङ खेल्नक लागि साथीहरूसँगै आउनुभएकी कावासोती नगरपालिकाका पवित्रा शर्मा पनि यहाँको वातावरण देख्दा खुसी लागेको बताउनुभयो । उहाँले डाँडामा पुगेर पिङ खेल्दा आकाशमै उडेकोजस्तो भान भएको बताउनुभयो । अहिले गर्मीको समयमा चारैतिर जङ्गल र सोही जङ्गबीचमा रहेको कुमसोत डाँडाबाट देखिने देवचुलीको फाँट हेर्दा आनन्द लागेको उहाँको भनाइ छ । 

आन्तरिक र बाह्रय पर्यटक भित्र्याउनका लागि वडा कार्यालयले विशेष योजना बनाई काम गरिरहेको अध्यक्ष सोती मगरले बताउनुभयो । सोतीका अनुसार मगर समुदायको बस्ती रहेको कुमसोत र नजिकै रहेको कीर्तिपुरमा मगर कला संस्कृति जगेर्ना गर्ने, कुमसोत कीर्तिपुर हुँदै नवलपुरको अग्लो पहाड जाने बाटोको स्तरोन्नति गर्ने, गाउँमा होमस्टे निर्माणका लागि पहल गर्ने, गाउँलाई सफा र हरियाली बनाउने अभियान सञ्चालन गर्ने, स्थानीय रूपमा हुने कृषिउपज तथा पशुपन्छीको बजारीकरण गर्ने कार्यलाई प्राथमिकता राखिएको छ ।

८५ घरधुरी रहेको कुमसोतको अनुमानित जनसङ्ख्या चारसय रहेको छ । गर्मी महिनामा  डाँडा अवलोकन गर्न र पिङ खेल्न टाढा टाढाबाट आउने पर्यटकलाई पिङ खेलेबापत दुई सय रुपियाँ शुल्क लिनेगरिएको छ ।