• ११ पुस २०८१, बिहिबार

कोइली र मान्छे

blog

ए काली ! कहिले बजाउन सिक्यौ यस्तो मिठो बाँसुरी

वासन्ती नवपल्लवी कुसुममा लुक्तै बसेकी चरी 

काली छौ तर बान्किलो तनसँगै एकान्त पो रोज्दछौ

हे प्यारी स्वरकिन्नरी ! कुहुकुहू गर्छौ र को खोज्दछौ ।

(१)

नौलोझैँ किन केर्दछौ कुहुचरी ! को हो भनी बेस्सरी

सालिन्दा चिनजान हुन्छ तर खै चिन्दै नचिन्ने परी

नङ्गा रूख हुँदा लुक्यौ शिशिरमा निश्वास जस्तै गरी

लुक्छौ फेरि वसन्तका विपिनमा हे प्यार बोल्ने चरी !

(२)

एक्ली छौ, भन प्यारको सहचरी छोडेर भाग्यो कता 

वासन्ती वनकुञ्जमा कि त तिमी बन्दै गयौ बेपता 

मान्छेका मन तानिए पनि तिमी दुःखी बन्यौ सुन्दरी 

साँच्चै नै अब मात्तियौ कि सुखले को हो भन्यौ बेस्सरी ।

(३)

नङ्गा रूख थिए हिजो शिशिरमा खप्नै परेको थियो

जे जे मिल्छ उही निलेर पनि ता बाँच्नै परेको थियो

छिट्टै ग्रीष्म तयार हुन्छ र तिमी लुक्नै छ अर्कोतिर

मात्तिन्छौ किन चिन्दिनौ वनचरी वासन्तको खातिर ।

(४)

मान्छेमा पनि जिन्दगी विपिनमा छन् ग्रीष्म वर्षाहरू

वासन्ती र शरद् तथा शिशिर छन् हेमन्त जस्तै अरू

गिज्ज्याएसरि लाग्छ यो कुहुकुहू वासन्तको रापमा

जस्तो भुल्दछ मित्रता मनुजले सम्पत्तिका साथमा ।

(५)

मिथ्या हुन् सब भावभित्र मनमा मेरा पलाए जति

आफ्नै रम्य स्वतन्त्रतासँग तिमी रम्दै बसेकी रती 

आफैँ रम्छ चरी निमग्न वनमा त्यस्तै बनोस् मानव

यी सम्पत्ति, समृद्धि ता क्षणिक हुन् हो मित्रता गौरव । 

(६)

चौदण्डीगढी–१०, उदयपुर