• ११ मंसिर २०८१, मङ्गलबार

बनेपामा चण्डेश्वरी जात्राको तयारी

blog

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, वैशाख १९ गते । बनेपामा चण्डेश्वरी जात्राको तयारी सुरु भएको छ । आगामी शुक्रबार हुने चण्डेश्वरी जात्राको तयारी गर्ने क्रममा मन्दिर रङरोगन र टोल तथा मन्दिर सरसफाइ गर्ने काम भइरहेको छ । बनेपालीले आस्था, विश्वास र महत्वका साथ मनाउने चाड चण्डेश्वरी जात्राका लागि बनेपामा रहेको चण्डेश्वरी मन्दिर र मन्दिर परिसर धुमधामसाथ हरेक वर्ष बेहुलीझैँ सिँगार्न थालिएको छ ।

यो जात्रा बनेपालीका लागि एउटा महत्वपूर्ण उत्सव नै हुने गरेको छ । जात्रा अवधिमा बनेपालीले आफ्नो घरमा आफन्त तथा नातागोता, साथीभाइलाई भोज खुवाउने प्रचलन छ । जात्राको समयमा स्थानीय बुढापाकाले टोल–टोलमा बसी भजनसमेत गाउँछन् भने बनेपाको चोक, सडक र गल्लीमा जात्रा हेर्नेको भिड लाग्ने गर्छ । वैशाख शुक्ल पूर्णिमा अर्थात् चण्डीपूर्णिमाका दिन बनेपालीले चण्डेश्वरी जात्रा मनाउने गर्छन् । पूर्णिमाको अघिल्लो दिन हनुमानढोकाबाट ल्याइने तरबार (खड्ग)सँगै जात्रामा नेपाल सरकारबाट समेत पूजा गर्ने व्यक्तिको सहभागिता रहनुले यसको महत्व अझ बढ्ने गर्छ । 

परापूर्वकालमा चण्डासुर नामको दैत्यले तेत्तीस कोटी देवताका साथै बनेपावासीलाई धेरै दुःख दिएकाले उनीहरूको दुःखबाट मुक्ति दिन रक्तचन्दनको वनबाट चण्डेश्वरी माई प्रकट हुनुभएको र ती दैत्यको नाश गरेको खुसियालीमा बनेपावासीले हरेक वर्ष चण्डेश्वरी जात्रा मनाउने गर्छन् । जात्राको पहिलो दिन तकःपूजा अर्थात् चण्डेश्वरीसहित विभिन्न देवीदेवताको पूजा हुने गर्छ । सोही दिन चण्डेश्वरीमा १२ वटा कालो बोकाको बलि दिने प्रचलन छ । 

जात्राको दोस्रो दिन बिहान अर्थात् पूर्णिमाको दिन बिहान ३:३० बजेको समयमा बनेपाली हातहातमा चिराग लिएर बनेपाको लायकु दरबारमा उपस्थित भई विभिन्न बाजागाजासहित भजन कीर्तन गर्दै चिराग लिएर चण्डेश्वरी नजिकै रहेको जैसिगाकुण्ड (पवित्र तीर्थस्थल)मा गई नुहाउने चलन रहेको इतिहासविद् ज्ञानकाजी मानन्धरले बताउनुभयो । जात्राको दोस्रो दिन काठमाडौँको हनुमानढोकाबाट कानफट्टा जोगी आएपछि बनेपाको तीनधारामा एक भेडा र एक कुखुराको भाले काटी पूजाआजा गरी देवता राख्न रथलाई चण्डेश्वरी मन्दिरमा लैजाने प्रचलन छ । देवी राख्न लैजान लागिएको रथ बोक्न युवाको भीड लाग्ने गर्छ । 

जात्राको तेस्रो दिन देवी राख्न चण्डेश्वरी मन्दिर पु-याइएको रथमा देवता राखी बजारतर्फ ल्याइने गरिन्छ । देवता राखी ल्याइएको सो रथलाई भैरव कुण्डमा देवताको मुख धोएर बजारतर्फ ल्याइने प्रचलन रहेको स्थानीय बुढापाका बताउँछन् । देवता राखेर ल्याइएको रथलाई भोक्षिभोया थरका कन्याले 

‘लशकुश’ अर्थात् देवताको मुख खोलेर स्वागत गर्ने चलन छ । लशकुश गरेपछि सो रथलाई सहर परिक्रमा गराई लायकु दरबारमा लगी हाँसको बलि दिई (राज) पूजा गरिने प्रचलन छ । 

बलि दिएका १२ काला बोकामध्ये एक बोका पूजापाठ गर्ने जोशीलाई, एक द्वारेलाई दिई अन्य बोकाको मासु टुक्रा पारी कलदान गर्ने चलन छ । कलदान गरेको मासुमध्ये पनि बोकाको कान, जिब्रो, आँखा, सिङलगायतका चिज भेट्टाउने मानिसले आफूले चिताएको सम्पूर्ण कुरा पुग्ने किंवदन्ती छ । यीमध्ये पनि दाहिने सिङ र आँखा, कान भेट्टाएमा झन् राम्रो हुने स्थानीय वृद्ध बताउँछन् । 

कलदानपछि देवता राखेको रथलाई गणेशस्थानबाट चण्डेश्वरी पु-याइन्छ । बिहान (भाले बास्नुअघि) सो रथलाई चण्डेश्वरी पु-याउनुपर्ने जात्राको अर्को रोमाञ्चक पक्ष रहेको छ । भाले बासेपछि रथलाई चण्डेश्वरीमा पु-याइएको खण्डमा सो रथलाई मन्दिरभित्र पसाउन नपाइने नियम छ । यस जात्राका लागि देश तथा विदेशका विभिन्न स्थानमा कामको सिलसिलामा रहेका सम्पूर्ण बनेपाली घर आउने गर्छन् । चण्डेश्वरी जात्राको समयभर बनेपा र आसपासका सङ्घसंस्था तथा विद्यालय बन्द गरिने प्रचलन छ ।