लक्ष्मणदत्त पन्त
महेन्द्रनगर, वैशाख १८ गते । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक तथा कञ्चनपुर क्षेत्र ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकले दैजि–छेला औद्योगिक क्षेत्रको काम अघि बढ्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कञ्चनपुरले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘आद्योगिक क्षेत्रको काम सरकार उथलपुथलले प्रभावित भएको हो, यसलाई हाम्रो सरकारले अगाडि बढाउँछ ।’ यस्तै, उहाँले महाकाली प्रादेशिक अस्पतालमा छिट्टै सिटीस्क्यान मेसिन ल्याउन आफु लाग्ने बताउनुभयो ।
‘महेन्द्रनगरको महाकाली प्रादेशिक अस्पतालमा सिटीस्क्यानको आवश्यकता रहेको छ, टिट्टै त्यसको व्यवस्थापन गरिन्छ’ उहाँले भन्नुभयो, “महाकाली अस्पताललाई दुई सय शय्याको अस्पताल बनाउनुका साथै दरबन्दीअनुसार डाक्टर ल्याउन समेत पहल गर्छु ।”
नेता लेखकले कञ्चनपुरको दोधारा चाँदनीमा तीन वर्षभित्र सुख्खा बन्दरगाह निर्माण गरिने बताउनुभयो । सुख्खा बन्दरगाह निर्माणका लागि भारतसँग चाँडै सम्झौता हुने उहाँको भनाइ छ ।
‘सुख्खा बन्दरगाह भारतले बनाइदिने सहमति भइसकेको छ, एमओयू मस्यौदा पठाइसकेको छ, प्रधानमन्त्रीज्यूको भ्रमणका क्रममा एमओयू हुन्छ’ उहाँले भन्नुभयो, ‘तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौताको चरणमा छ ।’
लेखकले कञ्चनपुरलाई त्रिदेशीय नाकाको रुपमा विकसित गरिने बताउनुभयो । महाकाली करिडोर अन्तर्गत कञ्चनपुरदेखि चिनको सीमासँग जोडिएको दार्चुलाको तिंकरसम्मको सडकको ट्रयाक खोल्ने काम शुरु भइसकेको उहाँले बताउनुभयो ।
‘महाकाली करिडोर दशकअघिको सपना हो, रुख कटानको आदेश नहुँदा दुई–तीन वर्षदेखि काम गर्न रोकिएको थियो’ लेखकले भन्नुभयो, ‘रुख कटानको निर्णयपछि ट्रयाक खोल्ने काम सुरु भएको छ, काम समयमा सम्पन्न गर्न निगरानी गर्छु ।’