होमराज रानाभाट
गैंडाकोट (नवलपरासी), वैशाख १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजी क्षेत्रसँग अर्थपूर्ण सहकार्य नगरेसम्म देशले आर्थिक रूपले गति लिन नसक्ने बताउनुभएको छ । मुलुकको आर्थिक समस्या हल गर्न उद्योगी व्यवसायीहरूका भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ छ । नवलपरासी पूर्वको गैँडाकोटमा स्थापना भएको मौलाकालिका केबलकारको आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो ।
उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने काममा सरकारले जोड दिएको उहाँले बताउनुभयो । मुलुकमा आर्थिक सङ्कट परेको भन्ने बाहिरी हल्ला सत्य नभएको भन्दै उहाँले मुलुकको आर्थिक अवस्था अहिलेसम्म नकारात्मक नरहेको प्रष्ट पार्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले उत्पादन र रोजगारी वृद्धि गर्ने काममा निजी क्षेत्रसँग सरकारले हातेमालो गर्दै अघि बढेको र सधैँ निजी क्षेत्रसँग राम्रो सम्बन्ध कायम गरिनेमा जोड दिनुभयो । उत्पादन र रोजगारी बढाउन निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेकाले सरकारका तर्फबाट जस्तोसुकै सहज वातावरण तयार गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले चितवन र नवलपरासीलाई एउटै मोडलबाट विकास निर्माणको काम अघि बढाउन आफू संधैं लागिपर्ने बताउँदै चितवनजस्तै नवलपुरको विकासलाई पनि उच्च प्राथमिकतामा राखेर अघि बढेको स्पष्ट पार्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले उद्योगी व्यवसायीको सुरक्षाका लागि राम्रो प्रत्याभूति मात्र दिन सकेमा पनि मुलुकमा आर्थिक अवस्था बलियो र सबल हुने बताउनुभयो ।
गैँडाकोटमा प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिकामा स्थापना भएको मौलाकालिका केवलकार आईएमई गुप्रले सञ्चालनमा ल्याएको हो । केवलकारमा डेढ अर्ब लगानी रहेको ग्रुपले जनाएको छ ।
केवलकार वैशाख १ गतेबाट सञ्चालनमा आएको भए पनि उद्घाटन भने प्रधानमन्त्रीबाट आज एक भव्य समारोहबीच भएको हो । सञ्चालनमा आएको केबलकार एक हजार दुई सय मिटर लामो छ भने त्यसमा छ वटा टावर रहेका छन् । ती टावरमा यात्रु चढ्ने १४ वटा डब्बा रहेका छन् ।
त्यसमा १२ वटा डब्बामा यात्रु ओसार्ने, एउटामा सामान ओसार्ने र अर्को एउटा डब्बा सर्भिससङका लागि प्रयोग हुनेछ । पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक छ हजार यात्रु ओहोरदोहोर गर्न सक्ने मौलाकाली केबलकार कम्पनीले जनाएको छ ।
कम्पनीले डाँडामा सुविधा सम्पन्न ६० कोठाको होटल पनि निर्माण गरिहरेको छ । केबलकार सञ्चालनमा आएपछि यहाँको आर्थिक जीवनस्तरमा समेत परिवर्तन आउने अपेक्षा गरिएको गैँडाकोट नगरपालिका वडा १ का वडाध्यक्ष सुरेन्द्र रेग्मीले बताउनुभयो ।
गैँडाकोट नगरपालिका –१ मा स्थापित सो केवलकार सञ्चालनमा आएपछि अहिले आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल उल्लेखनीय रूपमा बढेको स्थानीयहरू बताउँछन् ।