• ११ पुस २०८१, बिहिबार

संस्थागत विद्यालयमा पाठ्यपुस्तक अभाव

blog

बोदेबरसाइन समाचारदाता

बोदेबरसाइन (सप्तरी), वैशाख १८ गते । सामुदायिक विद्यालयका विद्यार्थीले यो वर्ष समयमै पाठ्यपुस्तक पाए पनि निजी (संस्थागत) विद्यालयका विद्यार्थीलाई पाठ्यपुस्तक पाउनेमा अझै अन्योल छ।

सप्तरीका सबैजसो सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाइसकेका छन् तर वर्षैपिच्छे विभिन्न बहानामा किताब बदलिरहने, थरीथरीका पब्लिकेसन फेरिरहने निजी विद्यालयमा पढ्ने अधिकांश विद्यार्थीले अहिलेसम्म पाठ्यपुस्तक नपाएको राजविराज नगरपालिका–८ का अभिभावक लालकुमार यादवले बताउनुभयो।

सामुदायिक र निजीमा पढाइ हुने एउटै विषय जस्तै सामाजिक, नेपालीलगायतको किताब परिवर्तन नभए पनि बाँकी किताब वर्षैपिच्छे बदलिरहने हुनाले विद्यालय खुलेको १५ दिन भइसक्दा पनि कक्षा ७ को गणित, विज्ञानजस्ता कतिपय विषयको किताब नपाएको राजविराज–१० स्थित सिर्जना सेकेन्ड्री स्कुलका एक छात्रले सुनाउनुभयो।

राजविराजलगायत जिल्लाभरिकै अधिकृत पुस्तक बिक्रेता भोला चौधरीका अनुसार धेरै निजी विद्यालयको बुक लिस्ट हामीकहाँ आइसके पनि गणित, कम्प्युटरजस्ता कतिपय महत्वपूर्ण विषयको पब्लिकेसन र किताबको कुनै कुनै विद्यालयले टुङ्गो लगाउन ढिला गरेका हुन्। “विद्यार्थीलाई समयमा सबै विषयको किताब बेच्न सकेका छैनौँ। यद्यपि समयमै पुस्तक पु-याउने प्रयासमा छौँ, उहाँले भन्नुभयो।

  निजी विद्यालयहरूले स्थानीय सरकारको सेवा सुविधा लिन्छन् तर यस्ता विकृति सच्याउन  मान्दैनन्। यसले निजीमा पढ्ने विद्यार्थी र अभिभावकलाई अनेक हैरानी खेप्नुपरेको अग्निसाइर कृष्णासवरण गाउँपालिकाका शिक्षा शाखा संयोजक योगेन्द्रप्रसाद यादवले बताउनुभयो।

राजोवती माध्यमिक विद्यालय शम्भुनाथ १२ का प्रधानाध्यापक धर्मदेव साहका अनुसार अघिल्लो वर्षमा जिल्लाका सरकारी विद्यालयका विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाएरै महिनौँसम्म पठनपाठन नै प्रभावित हुने गरेको थियो तर यस पटक भने विद्यालयले नयाँ सत्र सुरु गर्नुपूर्व नै पाठ्यपुस्तकलगायत सम्पूर्ण रूपमा तयारी भएर बसेका थियौँ। यसले नयाँ सत्रको कक्षा सञ्चालन र विद्यार्थीमा पढ्ने उत्साह थपिएको उहाँले उल्लेख गर्नुभयो।