• १३ मंसिर २०८१, बिहिबार

रामेछापमा बालमैत्री स्थानीय शासन

बालमैत्री नगर बनाउने लक्ष्य

blog

नवराज श्रेष्ठ

रामेछाप, वैशाख १८ गते । रामेछाप जिल्लाका दुईवटा नगरपालिका रामेछाप र मन्थली बालमैत्री नगरपालिका बनाउने लक्ष्य लिएर अगाडि बढेका छन्।  जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाले २०८१ जेठसम्ममा र रामेछाप नगरपालिकाले २०८१ चैतसम्ममा बालमैत्री नगरपालिका घोषणा गर्ने लक्ष्य लिएका हुन्। बालमैत्री नगर घोषणा गर्ने लक्ष्यका साथ यी नगरपालिकाले ५१ वटा सूचक पूरा गर्न विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेका छन्। 

कामलाई तीव्रता

रामेछाप नगरपालिकाले बालमैत्री स्थानीय शासन लागू गर्न आव २०७९/८० का लागि नगरपालिकाले ३० लाख रुपियाँ बजेट विनियोजन गरेको छ भने बागमती प्रदेश सरकारको पोषण कार्यक्रमबाट एक लाख ५० हजार रुपियाँ बजेट प्राप्त भएको छ। 

बालमैत्री स्थानीय शासन लागू गर्न आवश्यक सूचक प्राप्त गर्न रामेछाप नगरपालिकाले वडा तहमा सञ्चालन गर्नुपर्ने कामलाई तीव्र बनाएको छ। अहिले रामेछाप नगरपालिकाको नौवटै वडामा बालक्लब र बाल सञ्जाल गठन, घरधुरी सर्वेक्षण, बालमैत्री विद्यालयलगायत सरकारले निर्धारण गरेका ५१ वटा सूचक प्राप्तिका लागि प्रत्येक वडामा काम भइरहेको बालमैत्री स्थानीय शासन रामेछाप नगरपालिका नगर सम्पर्क व्यक्ति एवं महिला विकास निरीक्षक सरिता बुढाथोकीले बताउनुभयो। 

“बालमैत्री नगर बनाउन नीति तथा कार्यक्रम कार्यान्वयनका लागि वडास्तरीय अभिमुखीकरण, बालमैत्री वडा सहजकर्ताको नियुक्ति, बालमैत्री सहजकर्तालाई क्षमता विकास प्रशिक्षण दिनुका साथै सूचक प्राप्तिका लागि आवश्यक कार्य भइरहेको छ,” उहाँले भन्नुभयो। बालमैत्री नगरपालिकाले बाल अधिकार महासन्धिमा उल्लिखित बाल अधिकारको सवाललाई आत्मसात् गर्छ जसलाई नेपालले सन् १९९० मा अनुमोदन गरिसकेको छ। 

नगरपालिकाले बालबालिकाको आवाज र विचारलाई बालबालिकासम्बन्धी नीति, कार्यक्रम निर्माण तथा निर्णय प्रक्रियामा महत्वपूर्ण स्थान दिँदै आएको छ। बालमैत्री नगर घोषणका लागि रामेछाप नगरपालिकाले आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको र विभिन्न सूचक पूरा गर्न आवश्यक कार्यक्रम सञ्चालन भइरहेको नगरपालिकाकी उपप्रमुख बालकुमारी कार्कीले बताउनुभयो। 

“२०८१ सालको चैत महिनासम्ममा नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ, तोकिएकै समयमा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्न सबैको सहयोग अत्यावश्यक छ,” उहाँले भन्नुभयो। नगरपालिकाले वडास्तरीय बालमैत्री स्थानीय शासनसम्बन्धी नीति तथा घोषणाको अभिमुखीकरण तालिम प्रदान गरी बालमैत्री स्थानीय निकाय हुन तयार पार्नुपर्ने ५१ वटा सूचकका लागि वडामा कार्यक्रम गरिरहेको नगर उपप्रमुख कार्कीको भनाइ छ। 

१३७ बाल समूह गठन 

नौवटा वडा रहेको रामेछाप नगरपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयन घोषणा र दिगोपनाका लागि आठदेखि १८ वर्ष उमेर समूहका बालबालिका सम्मिलित ३७ वटा विद्यालयस्तरका र एक सयवटा समुदायस्तरका गरी १३७ वटा बाल समूह गठन गरिसकेको छ। ती बाल समूहमा दुई हजार ७७२ जना बालिका र दुई हजार ५११ जना बालक समेटिएका छन्। यसैगरी वडा तहमा बालमैत्री कक्ष व्यवस्थापन, सार्वजनिक स्थलमा बालमैत्री आचारसंहिता, सावधान बोर्ड, बाल श्रमविरुद्धको पम्प्लेट एवं बोर्ड राख्ने काम पनि गरिरहेको छ। 

मन्थलीले २०८१ जेठसम्म घोषण गर्ने

जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाले पनि २०८१ सालको जेठसम्म बालमैत्री स्थानीय शासन लागू गर्ने गरी काम गरिरहेको छ। २०८१ सालको जेठ महिनासम्म नगरलाई बालमैत्री नगर घोषणा गर्ने लक्ष्यका साथ विभिन्न सूचक पूरा गर्न नगरपालिका लागिपरेको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताउनुभयो।  

“बालमैत्री स्थानीय शासन लागू गर्नका लागि चालू आर्थिक वर्षमा नगरपालिकाले १५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ, जुन बजेटबाट नगरभित्रका १४ वटै वडामा सहजकर्ताको नियुक्ति गरिएको छ, अब अपुग बजेट थप गरेर यो कार्यक्रमलाई तीव्रता दिन्छौँ,” उहाँले भन्नुभयो। 

मन्थली नगरपालिकालाई २०८१ जेठ मसान्तसम्म बालमैत्री नगर घोषणा गर्नका लागि सबै वडामा सहजकर्ताहरू परिचालन गरिएको मन्थली नगरपालिका महिला, बालबालिका तथा सामाजिक परिचालन उपशाखाकी महिला विकास निरीक्षक भगवती तामाङले बताउनुभयो। 

छ स्थानीय तहमा अगाडि बढेन अभियान

रामेछाप जिल्ला छ गाउँपालिका उमाकुण्ड, गोकुलगङ्गा, लिखुतामाकोशी, खाँडादेवी, सुनापति र दोरम्बा शैलुङ गाउँपालिकाले आफ्नो गाउँपालिकामा बालमैत्री स्थानीय शासन लागू गर्ने अभियान सञ्चालन गर्न अझै सकेको छैन। दोरम्बा शैलुङ गाउँपालिकाले यसभन्दा अघिल्लो कार्यकालमै गाउँपालिकामा स्थानीय शासन लागू गर्ने गरी आवश्यक सूचक प्राप्तिका लागि वडा तहमा विभिन्न कार्यक्रम सञ्चालन गरे पनि घोषणा भने हुन सकेन। अहिले नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि यो अभियान रोकिएको छ।