• २२ असार २०८१, शनिबार

महावीर पुनका माग सम्बोधन हुनुपर्छ : नेता महर

blog

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनका मागप्रति ऐक्यबद्धता जनाउनुहुँदै ।

काठमाडौं, वैशाख १७ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनका माग राज्यका लागि निकै हितकर भएको जनाउँदै  सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताउनु भएको छ । 

पुन नेतृत्वको टोली तीन दिनदेखि माइतीघर मण्डलामा धर्नारत रहेकोमा नेता महरले त्यहाँ पुगेर कार्यक्रममा ऐक्यबद्धता जनाउँदै पुनका माग सम्बोधन गर्न सरकारले विलम्ब गर्न नहुनेमा जोड दिनुभएको हो । 

‘‘महावीर पुन नवप्रवर्तन र आविष्कारका लागि राज्यले प्राथमिकता दिओस् भनेर सडकमा पुग्नु भएको छ। यो राज्यको दायित्व नै हो। पुनका माग सम्बोधनमा सरकारले कुनै बहानाबिना कार्य थालनी गर्नुपर्छ ।’’ नेता महरको भनाइ छ । 

उहाँले पुनका मागका बारेमा आफूले यसअघि नै आफ्नो पार्टी कांग्रेस र सरकारलाई जानकारी गराउँदा पनि सम्बोधन हुन नसकेको र अहिले अनसन बस्नुपर्ने अवस्था सिर्जना भएको जानकारी गराउनु भयो । 


नेता महर भन्नुहुन्छ, ‘‘वर्ष दिन अगाडि आविष्कार केन्द्र स्थापनका लागि सबै तहका सरकारले एक प्रतिशत बजेट आविष्कारका लागि छुट्याउनु पर्नेबारे पुन र मेरा बिचमा छलफल भएको थियो, सो कुरा मैले कांग्रेस र नेपाल सरकारसँग राखेको थिएँ, सुनुवाइ भएन।’’

ढिलै भए पनि यो कुराको सुनुवाइ होस् भन्ने आफूले चाहेको चर्चा गर्दै नेता महरले देशका आविष्कार केन्द्र खोल्नका लागि पुनजस्ता व्यक्तिले सडकमा आउनुपर्ने विषय चिन्ताजनक हो भन्नुभयो । 

पुनको चिन्तन नेपालमै वैज्ञानिक उत्पादन गर्ने र उनीहरूलाई यही रोक्ने हो, यसमा मेरो पूर्ण साथ र समर्थन रहने विश्वास पनि महरले दिलाउनु भयो । पुनको मागलाई आर्थिक वर्ष २०८०।८१ को बजेटमा समावेश गर्ने ग्यारेन्टी गर्न तीनै तहका सरकारसँग अनुरोध पनि गर्नुभयो । 

पुनका माग सम्बोधन र आविष्कार केन्द्रका लागि बजेट विनियोजन गर्न आफूले कांग्रेसमा र अर्थमन्त्री डा. प्रकाशशरण महतसँग पनि कुरा गरेको जानकारी दिनुभयो ।