• २९ मङ्सिर २०८२, सोमबार

सामाजिक सञ्जालमा प्रभावशाली व्यक्तिको लोकप्रियतामा वृद्धिः अध्ययन

blog

ल्युब्ल्याना, मङ्सिर २९ गते । स्लोभेनियामा करिब एक तिहाइ नागरिकले सामाजिक सञ्जालमा सक्रिय प्रचारात्मक प्रभावशाली व्यक्तिलाई नियमितरूपमा पछ्याउने गरेको पाइएको छ । ल्युब्ल्याना विश्वविद्यालय अन्तर्गत सामाजिक विज्ञान सङ्कायको सामाजिक सूचना विज्ञान केन्द्रले आइतबार सार्वजनिक गरेको अध्ययनले यस तथ्यलाई उजागर गरेको हो ।

गत मे महिनामा एक हजार दुई सय बैसठ्ठी अन्तरजाल प्रयोगकर्ता माझ गरिएको सर्वेक्षण अनुसार अधिकांश उत्तरदातालाई वस्तु तथा सेवाको प्रचार गर्ने प्रभावशाली व्यक्तिको जानकारी रहेको देखिएको छ । तीमध्ये एकतिस प्रतिशतले यस्ता व्यक्तिलाई नियमितरूपमा पछ्याउने बताएका छन् ।

अध्ययनले तस्बिर तथा दृश्य सामग्रीमा आधारित सामाजिक सञ्जाल माध्यम सबैभन्दा बढी लोकप्रिय रहेको उल्लेख गरेको छ । उत्तरदाताले प्रभावशाली व्यक्तिलाई प्रायः विज्ञापन र प्रचारसँग सम्बन्धित रूपमा बुझ्ने गरेका छन् । यद्यपि यस्ता व्यक्तिले उपभोक्ताको खरिद निर्णयमा प्रभाव पार्न सक्ने भए पनि त्यसको प्रभाव व्यक्ति अनुसार फरक हुने अध्ययनले देखाएको छ ।

सर्वेक्षण अनुसार स्वदेशी प्रभावशाली व्यक्तिको तुलनामा विदेशी प्रभावशाली व्यक्ति बढी चर्चित रहेका छन् । यसै गरी, आभासी प्रभावशाली व्यक्तिप्रतिको चासो भने अत्यन्तै कम रहेको पाइएको छ, जसमा थोरै सङ्ख्याका सहभागीले मात्र उनीहरूलाई पछ्याउने बताएका छन् । रासस/सिन्ह्वा