काठमाडौं, वैशाख १७ गते । सुदूरपश्चिम प्रदेशले १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र ४ गुणा ४ सय मिटर रिलेमा आइतबार जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा चन्द्र बोहरा, अमित आउजी, कविर कामी र सुक्विर पोखरेलको सम्मिलित सुदूरपश्चिम टोलीले ३ मिनेट ३१.०० सेकेन्ड समयमा निर्धारित दूरी तय गर्दै नयाँ जुनियर राष्ट्रिय कीर्तिमान रच्यो ।
लुम्बिनी प्रदेशका सिमन पाण्डे, लेखनाथ महरा, वेद ओली र श्रवण केवतले २०७६ सालमा स्थापित गरेको ३ मिनेट ३२.३ सेकेन्डको कीर्तिमान सुदूरपश्चिमले भङ्ग गरेको हो ।
प्रतियोगितामा योसहित जम्मा ३ जुनियर राष्ट्रिय कीर्तिमान बने । अघिल्लो दिन लुम्बिनीका सुदिप थारुले छात्र लङजम्प तथा सुदिप नै सम्मिलित सुजल डाँगी, तुलसीराम थारु र रोशन थारुको टोलीले ४ गुणा १ सय मिटर रिलेमा कीर्तिमान बनाउनुभएको थियो ।
छात्रा ४ गुणा ४ सय मिटर रिलेमा लुम्बिनीले स्वर्ण, सुदूरपश्चिमले रजत तथा कर्णालीले कांस्य पदक जितेको छ । छात्र २ सय मिटर दौडमा लुम्बिनीका सुजल डाँगीले स्वर्ण जित्नुभयो । उहाँले निर्धारित दूरी २३.० सेकेन्डमा पूरा गर्नुभयो । सुजलले योसहित प्रतियोगितामा १ कीर्तिमानीसहित ३ स्वर्ण हात पार्नुभयो ।
उहाँले १ सय मिटर दौडमा पनि स्वर्ण जित्नुभएको थियो । ३ हजार मिटर दौडमा सुदूरपश्चिमका अमित आउजी पहिलो हुनुभयो । उहाँले निर्धारित दूरी तय गर्न ९ मिनेट २८.१ सेकेन्ड समय खर्चिनुभयो ।
ट्रिपलजम्पमा कोशीका राजीव ढुङ्गाना (१३.५० मिटर) तथा सटपुटमा कर्णालीका धीरेन्द्र विक (१२.०९ मिटर) ले शीर्ष स्थान हात पार्नुभयो । छात्रा २ सय मिटर दौडमा लुम्बिनीकी रेसु चौधरी २८.० सेकेन्ड समयसाथ पहिलो स्थानमा रहनुभयो ।
रेसुले ट्रिपलजम्पमा पनि (१०.१४ मिटर) स्वर्ण जित्नुभयो । रेसुले प्रतियोगितामा ३ व्यक्तिगतसहित ४ स्वर्ण चुम्नुभयो । रेसुले १ सय मिटर दौड र ४ गुणा १ सय मिटर रिलेमा पनि स्वर्ण जित्नुभएको हो ।
३ हजार मिटर दौडमा लुम्बिनीकी मोतीकला डाँगीले दूरी ११ मिनेट २४.५ सेकेन्डमा पूरा गर्दै पहिलो हुनुभयो । सटपुटमा बागमतीकी अप्सरा श्रेष्ठ (८.६२ मिटर) ले स्वर्ण हात पार्नुभयो ।
एथलेटिक्समा लुम्बिनीको वर्चस्व रह्यो । जम्मा २६ स्वर्णका लागि भएको प्रतिस्पर्धामा लुम्बिनीले १६ स्वर्ण जित्यो । कर्णालीले ३, बागमती, सुदूरपश्चिम र गण्डकीले समान २–२ तथा कोशीले १ स्वर्ण जितेको छ ।