मेरो प्रिय गाउँ,
भन्छौ, ठूलो सहरमा गयौ
अब गाउँभन्दा तिमी ठूली भयौ
सागरमा मोती टिप्न
तिम्रा सपनाहरू हवाई जहाज चढे
खै कहाँ लुकाएको छ यो सागरले मोती ?
तिम्रै नदीलाई सोध्नु
हाम फालेर भेट्न आउँदा उसले देख्यो कि कतै
म त बरु तिम्रै ऐँसेलुको बोटमा सुन फलेको देख्छु !
नभन्नु तिमी र ममा फरक छ
नठान्नु हामी बेग्लै हौँ
तिम्रो गाउँको चन्द्रमा
यो सहरमा पनि आउँछ
तिम्रा काखबाट बगेका नदी
यो समुद्रमा पनि देखिन्छ ।
मेरो प्रिय गाउँ,
म जहिल्यै तिमीभन्दा पछाडि छु
तिमीलाई उज्यालो बाँढेपछि मात्र
ढिलै आइपुग्छ मेरो मझेरिमा घाम
प्रत्येक दिन समुद्रमा हाम फालेर मर्छ
तिमी फेरि नयाँ सूर्य जन्माउँछ्यौ र पठाउँछ्यौ
म त्यहीँ पर्खिबसेको हुन्छु प्यासिफिक किनारमा कतै
म आइतबार छुट्टीमा आलस्य भएर अताल्लिरहेकै बेला
तिमी सोमबार शिवको चरणमा गुन्गुनाउँछौ
त्यही धुन आइपुग्छ यतै कतै !
तिमी त चराहरूका लागि पखेटा हौ
फूलका लागि सुवास
झरनाका लागि पानी
घामका लागि ताप
जूनका लागि शीतलता
जीवनका लागि प्राण हौ
प्राण छाडेर कसैले सपनाको उडान भर्नसक्छ र ?
तिमीलाई छोएर आएको बतास छुन खोज्छु
झन् बेस्सरी बत्तिन्छ
भन्नेहरू भन्छन् टोर्नाडो आयो !
भन्नेहरू भन्छन्, साइक्लोन आयो !
भन्नेहरू भन्छन्, हुरिकेन आयो !
तिमीलाई भेटेर आएको तरङ्ग देख्छु
झन्झन् तरङ्गित हुन्छ
भन्नेहरू भन्छन्, छाल आयो ।
भन्नेहरू भन्छन्, तुफान आयो, आँधी आयो !
दिमागलाई मनले जित्छ
हुत्तिएर तिम्रै छेउ आउने निर्णय गर्छु
फेरि मनलाई दिमागले जित्छ र थुचुक्क हुन्छु !
मेरो प्रिय गाउँ,
शिरमा राखेर, मुटुमा सजाएर
मलाई तिमीसँग पोइल जान मन छ !
लैजाउ मलाई इन्द्रेणी बनाएर
तिमीसँग पोइल जान मन छ ।
धादिङ, हाल : अमेरिका