म कसरी स्वीकारूँ ?
तखतामा सजिएका भावहरू,
एस्ट्रेमा निभेका ठुटाहरू,
निमोठिएका धुवाँहरू,
किनारामा साक्षी बन्न तयार त छँदै छन्
तर,
म कसरी स्वीकार गर्न सक्छु ?
लत्पतिएका गाजलले विम्बित आँशुका
पङ्क्ति लेख्दा
म कैयौँ पटक हासेँ होला !
मेरा कुनै हरफहरूले
जति चिच्याए पनि न्याय पाएनन् !
न भोकाहरू अघाए !
म टन्न अघाएको बेला
कोरिएका कविताले !
श्रीमतीले पकाको भात चपाउँदै,
विदेशी दुःखका जिन्दगी नियाल्ने म !
के कवि हुनु ?
प्रेमको इत्तरमा नडुबेको मैले
अनेकौँ घृणा पालेर,
प्रेमिलका कविता कोर्ने यी हातहरू,
कविका कदापी होइनन !
झ्यालबाट छिमेकीलाई सराप्दै,
आचरण्का शब्द खेलाउने कलम,
कविको कसरी होस् ?
बाले किनिदिएका प्लास्टिकको कुर्चीमा आड लाई
आत्मनिर्भर्ताको गाथा कुँद्ने यी मसी,
पापीहरूलाई अङ्कमाल गर्दै,
धर्म र आचरण पट्याउने पाना,
अश्लीलताका औँसीमा,
स्खलित चिन्तनहरू
अपराधको आङमा चडेर,
सुन्दरताको जून खोज्ने मेरा
यी आँखाहरू,
कविका नै हुन भनेर !
म मात्र हैन, कसैले स्वीकार्न सक्दैन !
म कवि हुन्थे भने,
मेरा शब्दका चिर्पटले,
फुट्थे होलान भ्रष्टाचारको पराकाष्ठा ।
पाउँथिन् होला
ती बिचरी बलात्कृत निर्मलाले न्याय,
मेरा पङ्क्तिहरू कविकै हुन्थे भने,
किन विदेशिन्थे त
उर्वर हातहरू?
कसका लागि कुविचार सजाइन्थ्यो ?
महोदय,
त्यसकारण
मेरा कविताहरू बेइमान छन् !
झुट छन् मेरा हरेक हरफहरू!
फलाक्छन् मात्र यी आशाहरू,
अनि धुलाम्य हुन्छन्
थिग्रिएका कविताहरू,
परन्तु, युगपछि
गिज्याउँदै मेरा बिचारहरूलाई,
उमिने छन् परिवर्तन बनेर
तर !
यो युगमा
आफैँलाई स्वीकार्नु छैन
म कवि हुँ भनेर !!
विदुर–२, नुवाकोट