छिन्चु समाचारदाता
सुर्खेत, वैशाख १७ गते । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले मानव संसारलाई ज्योति प्रदान गर्ने आँखाको स्वास्थ्य उपचार सेवालाई दिगो एवं प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
कर्णाली प्रदेशस्तरीय आँखा स्वास्थ्य कार्यशाला गोष्ठीको वीरेन्द्रनगरमा समापनमा उहाँले सो आवश्यकता औँल्याउनुभएको हो। मन्त्री पोखरेलले सीमित साधन स्रोतलाई परिचालनमा ल्याएर सबै स्थानीय तहमा आँखा उपचार सेवा प्रवाह गर्ने नीति अख्तियार गर्ने उल्लेख बताउनुभयो।
त्यस्तै सामाजिक मन्त्रालयका सचिव सन्तबहादुर सुनारले तीन तहका सरकारको समन्वय तथा सहकार्यमा आँखा उपचारसम्बन्धी स्पष्ट मार्गदर्शन निर्माण हुनुपर्नेमा जोड दिनुभयो। उहाँले आँखा उपचार सेवालाई दिगो एवं प्रभावकारी बनाउनका लागि रणनीति योजना आवश्यक रहेको बताउनुभयो।
नेपाल नेत्रज्योति सङ्घ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमका व्यवस्थापक मानबहादुर कुँवरले प्रदेश तथा स्थानीय सरकारलाई एकै ठाउँमा ल्याएर आँखाका समस्याका बारेमा उजागर गर्ने उद्देश्यले प्रदेशस्तरीय कार्यशाला गरिएको बताउनुभयो।
“आँखा स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर प्रदेश तथा स्थानीय सरकारले अपनत्व लिनुपर्दछ,” उहाँले भन्नुभयो, आँखा सेवा गैरसरकारी निकायकै भरमा रहनु हुँदैन।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका आपूर्ति व्यवस्थापन केन्द्र प्रमुख डा. शक्तिप्रसाद सुवेदीले आँखा स्वास्थ्यका मार्गदर्शन नीति तथा आगामी योजनाबारे आफ्नो प्रस्तुति दिनुभयो।
सीबीएम ग्लोबल डिज्याबिलिटी नेपालको सहयोगमा नेपाल नेत्रज्योति सङ्घ एकीकृत आँखा तथा नाक स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सुर्खेत, राप्ती, हिमालय आँखा अस्पताल पोखरा र सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको सहआयोजनामा सो कार्यशाला गोष्ठी सम्पन्न भएको हो।