• ७ वैशाख २०८१, शुक्रबार

जिन्दगी यस्तै त हो कान्छा

blog

जिन्दगी यस्तै त हो कान्छा

उमेर चढ्दै गएपछि 

सन्तान परदेशिएपछि 

रुखोसुखो घर कटेरामै 

बाँधिएपछि 

बिग्रेको बाटोमा चिप्लेपछि 

घरि–घरि लडिन्छ 

उठ्यो–लड्खडाएर फेरि हिँड्यो 

यस्तै त छ हो कान्छा

यो जिन्दगी

बाउ बाजेको बिँडो थामी खाएको 

कहिलेकाहीँ त लाग्छ 

पुरानो बिग्रेको मोटरजस्तो 

एउटा चक्का पङ्चर हुन्छ 

टाल्यो काम चलायो

घरिघरि हावा खुस्किन्छ 

बनायो फेरि स्लिप खान्छ 

स्टेरिङ नै बटारिने गरी

ठोकठाक गरेर दगु-यायो

फेरि कहिले त 

अँध्यारोमा हेड लाइट नै बल्दैन

गुलुब जलेछ भन्यो

मधुरो साइड लाइटले 

जेनतेन बाटो धान्यो 

लोडसेडिङ हो क्यारे

झ्याप्प झ्याप्प बत्ति जाने 

टुकी बालेर अलि अलि फुटेको 

निक्कै पहिला नेपाल सहर जाँदा

छोराले हाल्देको 

पावरको चस्माले काम चलाएजस्तै 

अलिक अप्ठ्यारो बाटोमा त 

जिउ पनि हल्लिन्छ 

एक नम्बर गियरमा हिँड्दा पनि, 

पुरानो मोटरको 

हर्नबाहेक सबै बजेजस्तो 

सायद–  उमेरले थिचेपछि

व्यवहारले किचेपछि 

समस्याहरूले चाउरिएपछि 

ढोकाहरू पनि बन्द हुन्छन् 

पुुरानो मोटरको ढोका 

स्टार्ट गर्न तम्सिँदा नखुलेजस्तै

ऊ त्यहाँ पर घुम्तीको 

दोकाने साहिँलीले पनि 

उधारो माग्छ भनेर हो कि

किन हो ? 

देख्नेबित्तिक्कै मुन्टो बटार्छे

र एक्लै फत्फताउँछे 

साँझमा त उधारो पनि मिल्दैन 

होला– आफ्नो आफ्नै रीति 

घरमा चामल र बेसार थिएन 

छोराहरू अमेरिका बसेर के भो र ? 

यसो जाडोमा– निगारको तलतलले 

आधा तोङ्बा तानुँ कि भनेर 

तीनघरे कान्छीकोमा

छिरेको मात्रै 

सितनबिनाको तोङ्बा बात है 

सुनेपछि 

लाग्यो कान्छा यो जिन्दगी 

बिग्रेको बाटोमा पुरानो मोटर 

लड्खडाएर चल्दोरैछ

तेल सकिनै लागेको टुकीजस्तै 

निभ्न निभ्न खोजेर पनि 

धिपधिपाएर बल्दोरैछ । 

धिपधिपाएर बल्दोरैछ ।