• १० मंसिर २०८१, सोमबार

असान्दर्भिक राजतन्त्रको मुद्दा

blog

राजतन्त्र सकियो, यो केही समयपहिले नै समाप्त भयो तर अझै केही लासहरू नाचिरहेका छन् ।’

–सु टाउनसेन्ड

अमेरिकी लेखिका सुले भनेजस्तै देशमा राजतन्त्रको अवस्था देखिएको छ । वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा राजतन्त्रको मुद्दा यति फितलो बन्यो कि, बारा, चितवन र तनहुँमा राजतन्त्र र हिन्दु राज्यको मुद्दासहित चुनावमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार जमानत जफतमा परे । उनीहरूले ल्याएको मत हजारमा पनि गणना नहुने दिन आयो । अर्थात् २०७९ मङ्सिर ४ गते भएको सङ्घ र प्रदेशको निर्वाचनमा हिन्दु राज्य र राजतन्त्रको मुद्दा जति पेचिलो देखिएको थियो, यही मुद्दाले कतै एमाले र नेपाली कांग्रेसलाई पनि क्षति पो पुग्छ कि भन्ने अनुमान थियो । किनभने एमाले र कांग्रेसभित्र पनि राजतन्त्र नभने पनि हिन्दु राज्यचाहिँ बोल्ने बेला भयो कि भन्ने जमात बढ्दै थियो । यहीबेला जनआक्रोशलाई जडीबुटी नै हुने हिन्दु राज्यबारे कांग्रेस, एमाले नबोल्दा भोट घट्छ भन्ने पनि त्यही पार्टीभित्र ठूलै पङ्क्तिमा थिए । राप्रपाले जोडतोडका साथ यही मुद्दा उठाएपछि निर्वाचनमा कांग्रेस, एमाले भयमै थियो । नभन्दै राप्रपाले राम्रै जनमत पनि बटुल्यो तर त्यही मङ्सिर कटेर पाँच महिनापछि मुलुकका तीन ठाउँमा भएको उपनिर्वाचनमा राप्रपा नगन्यमा पुग्यो । राजतन्त्रको मुद्दाले जमानत जोगाउन सकेन । 

यस पटक सरकारले फागुन १ गते राष्ट्रिय बिदा दियो । जनयुद्ध दिवसको बिदा थियो । त्यही दिन एउटा व्यापारीको उक्साहटमा परेर पूर्वराजा ज्ञानेन्द्र शाह र परिवारका सदस्यसहित झापामा भएको एउटा कार्यक्रममा पुग्नु भयो । त्यहाँ केही पञ्चायती आवरणका पूर्वमन्त्री पनि हुनुहुन्थ्यो । भिड ठूलो थियो, देखिएको भिड सबै आफ्ना पक्षमा होइन भन्ने भ्रममा शासक, नेता पर्नु दुर्भाग्य हो । ५० को दशकमा मकवानपुरमा हुने आमसभामा रूपचन्द्र विष्टको कुरा सुन्न सोहोरिएर आउँथे । गाईभैँसी किलामै छाडेर आउँथे । त्यो भिडले विष्टको सम्बोधनपछि ताली पनि बजाउँथ्यो । विष्ट त्यतिखेरको दुई निर्वाचन क्षेत्रमा विभाजित भूगोलमा जम्मा ७३ भोट पाउँथे । यो तथ्यसँग नेता नजिक भए राजनीतिमा सक्रियता रहन्छ । 

धैर्यता र वस्तुस्थिति नबुझ्दा नै राजतन्त्रको कुरा गर्नेहरू बढिरहँदा मतचाहिँ यसरी ओरालो लाग्छ भन्ने बुझ्न सायद झापाको सभा काफी थियो । उपनिर्वाचनसँग झापा कनेक्सनको आइनोसाइनो छैन भन्नेहरू धेरै हुनुहोला । राजतन्त्रको सेयरबजार ओरालो लाग्नुमा यस्तै उपक्रमहरूले भरमग्दुर जोडबल पुगेको लुक्न सक्दैन । कैयौँ घटनाक्रम व्यक्तिगत हुन्छन्, त्यसले सिङ्गो व्यवस्थालाई प्रहार गरिरहेको हुन्छ, संस्थालाई क्षति पु¥याइरहेको हुन्छ । 

राजतन्त्र व्यवस्था हो । राजतन्त्र मुद्दा हो र हरेक १५ वर्षमा नेपाली जनता व्यवस्था र दल नयाँ हेर्न चाहन्छन् । यो लामो समयदेखि देखिएको जनताको मनोग्रन्थी हो । मङ्सिरमा सम्पन्न निर्वाचनमा नेपाली जनतासँग दुईवटा विकल्प थिए । यथास्थितिको कांग्रेस–एमाले–माओवादी छँदै थियो । वैज्ञानिक समाजवादको राजनीतिक कार्यदिशा बनाएको नेकपा (एकीकृत समाजवादी) या पुरातनवादी सोचको हिन्दु राज्य राजतन्त्र पक्षधर रोज्ने भन्ने थियो । ‘जनजातिका छोरालाई किन राजतन्त्र र हिन्दु राज्य चाहियो र तर देशलाई हिन्दु राज्य र राजतन्त्रले मात्रै सही दिशामा लैजान्छ’ भन्नै राप्रपा नेतृत्वले चुनावी मुद्दा बनाएपछि कतै राजतन्त्र पक्षधरको मत ह्वात्तै बढ्छ कि भन्ने अपेक्षा थियो । अपेक्षाकृत मत समाजवादी र राप्रपा दुवैको नआए पनि जनताले राप्रपा रोजेकै थिए । 

प्रदेश र सङ्घीयता खारेजको मुद्दालाई राप्रपाले अरू तेज पारेको थियो । जनतामा प्रदेश संरचना बोझ नै हो भन्ने परिरहेका बेला निर्वाचनमा मत माग्ने यो गतिलो मुद्दा पनि थियो । बागमती प्रदेशमा राप्रपाका उम्मेदवारले यही विषय उठाए । राजतन्त्र, हिन्दु राज्य र प्रदेश खारेजीका लागि पनि प्रदेश सरकारमा जान जरुरी छ । सरकारमा गएर, विधि पु¥याएर प्रदेश खारेज गर्छौँ भनेपछि जनताले हो न हो भन्ने बुझे । केन्द्र र प्रदेशमा सरकार बनाउने काममा राप्रपा सबैभन्दा पहिला उही गणतन्त्रको एजेन्डा बोकेर सत्ता समीकरणमा जुटेको एमाले–माओवादीको हिस्सेदार भएपछि सायद जनताले बुझे, अरू त अरू पुरानो शक्तिले पनि सत्तामा पुग्ने भ¥याङ मात्र बनाए । यसपछिको पाँच महिनामा राजतन्त्र यसरी ओरालो लागेको हुनुपर्छ । नत्र भने जनमत नयाँ शक्तिहरूमा आकर्षित मात्र थिएन, सात सय ६१ राजा पाल्नुभन्दा एउटा राजा वेश भन्नेको बोली ठूलो हुँदै थियो । त्यो जनमतको कदर सुरुमै राप्रपाले गर्न सकेन । 

उसो त झापामा राजतन्त्रको आन्दोलन थिएन । त्यो आन्दोलन लघुवित्तपीडितको थियो । लघुवित्तले मच्चाएको वित्तीय, मानसिक, आर्थिक तनावविरुद्ध थियो । जनता आहत थिए । भएको भूमि बेचेर ऋण तिर्न खोज्दा पनि नबिकेपछि आजित थिए । यस्तो अवस्थामा राहत खोजिरहेकालाई हठात् दुर्गा प्रसाईले चालेको आन्दोलन सान्त्वना साबित हुन खोज्दै थियो । अस्थिर स्वाभावका प्रसाईले खुलासा गरिहाल्नु भयो, ‘एमाले अध्यक्ष अर्थात् मेरो हजुरबुबा केपी ओलीको सल्लाहमै मैले पूर्वराजालाई झापामा बोलाएको हुँ, हजुरबुबा पनि आउने कुरा थियो, आउनु भएन ।’ यसले तत्काल एमालेलाई त बेफाइदा भएन तर जनमतका अघि उभिने पूर्वराजपरिवारको भने हुर्मत नै लिइयो भन्दा पनि हुन्छ । 

एउटा कट्टर कम्युनिस्ट नेताको इसारामा यत्रो घटनाक्रम भइरहेको र राजपरिवारका सदस्य लुरुलुरु गइरहेको विषय जनतामा लुक्नै सकेन । अर्कातिर पूर्वराजा प्रत्यक्ष रूपमा राजनीतिमा सक्रिय बनिरहेका थिए । जुन कुरा राप्रपा महाधिवेशनका बेला कमल थापाले भनेका थिए, यो कुरा झुटा साबित होस् भन्ने राष्ट्रवादीको कल्पना थियो । राप्रपाको सरकार यात्रा, एमालेसँगै सरकार बहिर्गमनका विषयमा राप्रपाको ‘चालमा ताल’ मिलेको पनि राष्ट्रवादी शक्तिहरूलाई मन परेको थिएन । यसले पनि सरकारी भोजनले दुई महिनामै राप्रपा, हिन्दुवादी र राजतन्त्र पक्षधर यस्तरी कुपोषणको सिकार भएको तथ्य पाँच महिनापछि भएको उपनिर्वाचनमा देखियो । नेतृत्वले सिकेन–बुझेन । राजपरिवारका सदस्य राजतन्त्रका नाममा केही बुख्याचाको सिकार भएको भन्ने बुझ्न ढिला हुँदा पनि राष्ट्रवादी र पुरातनवादी शक्ति नराम्ररी क्षति भोग्न पुगेको हो । केन्द्र सरकारसँगै प्रदेश सरकारमा पनि राप्रपाको चाल उही देखियो । कैयौँ प्रदेशमा राप्रपा सरकारमा रहन सक्थ्यो । राजतन्त्र र प्रदेशको मुद्दा सरकारमा बसेर पनि अरू तेजिलो बनाउन सक्थ्यो । उसको भूमिका ‘भाइ एमाले’ मा सीमित भयो । एमाले सरकारबाट ओर्लनेबित्तिकै राप्रपाले पनि खुट्टा उचाल्नु स्वाभाविक मान्नै सकिने स्थिति थिएन । लघुवित्तपीडित वित्तीय संस्थाबाट राहत खोजिरहेका थिए, देशमा राजतन्त्र चाहिरहेका थिएनन् भन्ने पनि पूर्वराजपरिवारका सदस्यले बुझ्न सकेनन् । यसले क्षणिक रूपमा दुर्गा प्रसाईलाई लाभ भयो तर राजपरिवारका सदस्यलाई हानि मात्रै ग¥यो । 

अर्कातिर पूर्वयुवराज पारस शाहले फेरि पनि प्रहरी अधिकृतसँग गरेको व्यवहार जनताले रुचाएनन् । अनि मुलुकमा राजतन्त्र र हिन्दु राज्यको मुद्दासँगै राजपरिवारका सदस्य पनि जानी नजानी एमालेको छायाभन्दा बाहिर रहेनछन् भन्ने सन्देश यो पाँच महिनामा देखियो । त्यसको असर उपनिर्वाचनमा जताततै नयाँ शक्ति उदाउँदा राजतन्त्र ओझेलमा पर्न गयो । बाकसको मतपत्रमा जमानत जोगाउने हैसियत गुमाउनेमा राप्रपा पुग्यो । 

उपनिर्वाचनले दिएको सन्देश के हो भने जनता २०६४ को आसपासमा उदाएका राजनीतिक शक्तिहरूको विकल्प खोजिरहेका छन् । युद्ध नै लडेर आएको शक्ति पनि जनतामा पटक पटक परीक्षण भइरहँदा पूर्ण रूपमा जनतामा वितृष्णा मेट्ने ओखती बन्न सकेको देखिएको छैन । नेपाली कांग्रेस, नेकपा एमालेभित्र देखिएको विकृत राजनीतिक संस्कारमा विद्रोह गर्न सक्नेहरूको भविष्य छ भन्ने पनि सन्देश प्रवाह भएको छ । यस्तो अवस्थामा एमाले–कांग्रेसकै नेतृत्वमा त प्रश्नचिह्न तेस्र्याउँदै नयाँ पुस्ता नयाँ शक्तिको पछि लागेका छन् । 

मधेशमा जनमत पार्टीले जनमत बढाइरहेको छ । पहाडमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयतन जोडसँग बढाएको छ । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले समुदायगत राजनीतिक स्वादमा जनताको मत बटुलिरहेको छ अर्थात् कांग्रेस–एमालेको विरक्त राजनीतिको विकल्पमा अब साना र नयाँ शक्ति उदीयमान भइरहेका बेला अघिल्लो पुस्ताको पालामै बहिष्कृत भएको राजतन्त्र र हिन्दु राज्यको मुद्दा फेरि पनि राजनीतिमा विकल्प साबित हुन्छ भनेर बोकी हिँड्नु गणतन्त्र संस्थागत भइरहेको मुलुकका लागि हितकर थिएन नै, उपनिर्वाचनले यसको झन् पुष्टि गरेको छ कि, अब यो मुद्दा जमानत जोगाउन नसक्ने तपसिलको विषय बनेको छ । राष्ट्रिय राजनीतिको विकास जनताको मनोदशामा केन्द्रित हुनपर्छ, कुनै पुरातनवादी एजेन्डामा होइन भन्ने प्रमाणित पनि गरेको छ ।

लेखक समसामयिक राजनीतिक विषयका जानकार हुनुहुन्छ ।

   

Author

रामकुमार एलन