• १५ वैशाख २०८१, शनिबार

मुक्तक

blog


दुःख आफैँसँग थियो दुःखसँग दुःखै साट्ने पनि भएनन्

आफ्नै गाउँ आफ्नै घरमै थिएँ के छ ? भन्न कोही गएनन् 

पद पनि र मान पनि समयले भनौँ वा विधाताले जुरायो 

फूलमाला र बधाई वैरियो छरछिमेक बाँकी कोही रहेनन् ।

फूलबारीमा फूल हजारौँ हुन्छन् भिन्न आकार, रङ भिन्न

कसैले फूलको जात रोज्छन् कोही सुवास खोज्छन् चिन्न

यही फूलबारीबीचको फूल हौ तिमी, म यसरी नै बुझ्दछु

यो पनि थाहा छ कि कुनै फूलले सुवास दिन्छ कुनैले दिन्न ।

पहिलो त देशमा काम छैन दोस्रो खान लाउन पुग्ने दाम छैन

उमेर पुगेका मान्छेहरू  विदेश नजाने कुनै घर कुनै गाउँ छैन

सरकार रेमिट्यान्सको मात्र हिसाब गर्छ ऊ बुझ्दैन सुख दुःख

मन बेचैन छ अशान्त छ, जता जाऊँ शान्ति पाउने ठाउँ छैन ।

खै ! थाहा छैन यहाँ कतिबेला भाग्यमा घाम लाग्छन्

कुनै बेला रावण लाग्ने पनि कुनै बेला राम लाग्छन्

शत्रुले पनि उपकार गर्छन् कुनै बेला मित्रले मात्र हैन

थाहा छैन जीवनमा कतिबेला कोको काम लाग्छन् ।