• १३ असोज २०८१, आइतबार

लडाकुलाई राहत दिने निर्णय खारेज गर्न अध्यक्ष लिङ्देनको माग

blog

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद लिङदेन ।

काठमाडौं, वैशाख १५ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवम् सांसद राजेन्द्रप्रसाद लिङदेनले अयोग्य लडाकुलाई दुई लाखका दरले राहत दिने निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गर्नुभएको छ। 

सत्ताको चरम दुरुपयोग गरेर सरकारले गरेको सो निर्णय तत्काल रोक्नुपर्ने उहाँको भनाइ थियो। त्यस अवसरमा अध्यक्ष लिङदेनले राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा उपचार अस्वाभाविक र महँगो भएको उल्लेख गर्दै असन्तुष्टिसमेत व्यक्त गर्नुभयो। 

राजस्वले पुँजीगत खर्चसमेत धान्न नसक्ने अवस्थामा अयोग्य लडाकुलाई रकम दिने कुरा सत्ताको चरम दुरुपयोगको नमुना भएको पनि उहाँले बताउनुभयो। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङदेनले अयोग्य लडाकुलाई स्वास्थ्य उपचार, रोजगारी र सीपको आवश्यकता व्यवस्था मिलाउन पनि सरकारलाई सुझाव दिनुभयो। 

उहाँले आफूले सकेसम्म विदेश उपचार यात्रा नगर्ने र राज्यकोषबाट उपचार खर्च नलिने घोषणासमेत गर्नुभयो। अध्यक्ष लिङदेनले भन्नुभयो, ‘‘अहिले अर्थतन्त्रको बारेमा धेरै कुरा भयो कि सरकारले निर्माण व्यवसायीलाई मात्रै ८० अर्ब भुक्तानी दिन बाँकी छ। राजस्वले चालू खर्चसमेत धान्न सकेको छैन। यस्तो बेला अस्वाभाविक ढङ्गको र महँगो राष्ट्रपति वैदेशिक उपचार यात्रा र अयोग्य लडाकुलाई जुन रकम वितरणको तयारी गर्न लागिएको छ। सत्ता दुरुपयोगको यो चरम नमुना हो। यस्ता काम रोकिनु पर्दछ। अयोग्य लडाकुलाई स्वास्थ्य उपचारको सुविधा दिनुहोस्। सीप दिनुहोस्, रोजगारी दिनुहोस्। तर यस प्रकारको सत्ताको दुरुपयोग नगरौँ भन्ने कुरा म आग्रह गर्न चाहन्छु।’’ 

अध्यक्ष लिङदेनले बौद्धिक पलायनलाई रोक्न पनि सरकारलाई सचेत गराउनुभयो।