प्रकाशविक्रम शाह
धनगढी, वैशाख १५ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दूरसञ्चार सेवालाई गुणस्तरीय बनाउन प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरणद्वारा शुक्रबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशको दूरसञ्चार सेवाका वर्तमान अवस्था र गुणस्तर विषयमा सेवा प्रदायक र सरोकारवालासँगको अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री शाहले सो कुरा बताउनुभएको हो ।
अहिले दूरसञ्चार सेवा प्रभावकारी छैन, सबै ठाउँ फोन सुनिँदैन, इन्टरनेट चलाउन खोज्दा डाटा चल्दैन, सेवा गुणस्तरीय र प्रभावकारी बनाउनुपर्छ उहाँले भन्नुभयो । दूरसञ्चार सेवा प्रभावकारी बनाउन हामी मात्र होइन स्थानीय तहको पनि सहयोग हुनुपर्छ उहाँले बताउनुभयो ।
प्रदेश सरकारका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले पनि पिछडिएका क्षेत्रमा समेत दूरसञ्चार सेवा विस्तार गरेर फोन, इन्टरनेट सेवा सहज बनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्येका अधिकांश तहका प्रमुखको सहभागिता थियो ।