• १५ वैशाख २०८१, शनिबार

कृषिजन्य वस्तु बिक्रीका लागि किसानलाई परिचयपत्र

blog

गोकर्ण पौडेल 

तुलसीपुर, वैशाख १५ गते । तुलसीपुर उपमहानगरपालिकाले स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारमा बिक्रीका लागि किसान परिचयपत्र वितरण गरेको छ ।   स्थानीय किसानले उत्पादन गरेका कृषिजन्य वस्तु प्रोत्साहन गर्न परिचयपत्र वितरण गर्न थालेको हो । 

तुलसीपुर उपमहानगरपालिकाले बजारक्षेत्रमा स्थानीय किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बिक्री गर्नका लागि किसान परिचयपत्र उपलब्ध गराएको छ । कृषि शाखाका प्रमुख धनराज गौतमले पहिलो चरणमा एकसय जना किसानलाई किसान परिचयपत्र उपलब्ध गराउन सुरु गरेको छ । 

गैह्र किसानले अन्यत्रबाट ल्याएका तरकारी बजारक्षेत्रमा यत्रतत्र बिक्री वितरण गर्न थालेपछि स्थानीय किसानहरु मारमा परेको भन्दै परिचयपत्र वितरण गर्न थालिएको छ । आर्थिक विकास समितिका संयोजक माधव वलीले किसानहरुले परिचयपत्र प्राप्त गरेसँगै बिहान ४ देखि ८ बजेसम्म बजार क्षेत्रमा कृषिजन्य वस्तु बिक्री सहजरुपमा गर्न पाउने व्यवस्था गर्न थालिएको बताउनुभयो । 

सयोजक वलीले परिचयपत्र नराखी बजारमा तरकारी बिक्री वितरण गर्न नपाइने व्यवस्था गरिएको बताउनुभयो । आर्थिक विकास समितिका संयोजक माधव वलीले बजारमा खुल्लारुपमा भारतीय तरकारी ठेलामा राखेर बिक्री गर्दा स्थानीय किसान मारमा परेका कारण किसान परिचयपत्र वितरण गर्न थालिएको बताउनुभयो । 

उहाँले सम्बन्धित वडाले तरकारी बिक्री वितरण गर्ने किसानले उत्पादन गरेको विवरण सिफारिसपत्रमा जानकारी गराउनुपर्ने बताउनुभयो । उहाँले भारतीय बजारबाट परीक्षणबिना नै तुलसीपुर बजारक्षेत्रमा तरकारी भित्रिरहेको अवस्थामा त्यस्ता तरकारी नकिन्न समेत आग्रह गर्नुभयो । तुलसीपुर उपमहानगरपालिकाले भारतीय बजारबाट खुल्लारुपमा विषादी परीक्षण नगरेरै तुलसीपुर बजारक्षेत्रमा भित्रिने तरकारीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजनसँगको समन्वयमा चेकजाँच गर्न थालेको नगर प्रवक्ता समेत रहेका वलीले बताउनुभयो ।