• १३ असोज २०८१, आइतबार

झापामा हात्ती आतङ्क नियन्त्रण गर्न माग

blog

प्रतिनिधि सभाको बैठकमा धारणा राख्नुहुँदै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा ।

काठमाडौं, वैशाख १५ गते। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापामा हात्ती आतंक नियन्त्रण हुनेगरी आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ। महामन्त्री शर्माले झापाको खारखोलामा हात्तीको आक्रमणमा ७० वर्षीय भिमलाल भट्टराईको ज्यान गएको उल्लेख गर्दै सो जिल्लालाई हात्ती आतंकबाट मुक्त गराउने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको हो। 

शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै महामन्त्री शर्माले पीडित भट्टराई परिवारलाई तत्काल राहतको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो। उहाँले मेची नदीको तटबन्ध निर्माण गर्न पनि विशेष व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। 

महामन्त्री शर्माले भन्नुभयो,  ‘‘बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर ५ स्थित खारखोला अहिले शोकमा छ। करिब ७० वर्षका भिमलाल भट्टराई हात्तीको आक्रमणमा मारिनु भएको छ। केही समय यता त्यो गाउँमा हात्ती आतंक मच्चिरहेको छ। यो वर्ष त्यो वडामा तीन जना मारिएका छन्। गत वर्ष १७ वर्षका युवा हात्ती धपाउन जाँदा सर्पले टोकेर उनको मृत्यु भयो। करिब ६ महिनाअघि मंगलबारे बजारमा सम्झना श्रेष्ठको पनि हात्तीको आक्रमणबाट ज्यान गयो। बेहुलाबेहुली नै हात्तीको आक्रमणमा परेर ज्यान पनि गएको छ। सरकार आगामी वर्षको बजेट निर्माणको क्रममा छ। हामी हात्तीको समस्या समाधान गर्न माग गर्दछौँ।’’ 

उहाँले एउटा खुला सीमा भएको कारण पश्चिम बंगालबाट हुलकाहुल नेपाल भित्र्ने हात्ती समस्या भएको बताउनुभयो। सुशील कोइराला प्रधानमन्त्री रहनु भएको सरकारले विश्व बैंकको लगानीमा १८ किलोमिटर सोलार सिष्टम निर्माण गरे पनि त्यसले काम गर्न छोडेको उहाँको भनाइ छ। महामन्त्री शर्माले झापामा मौरी पालनका लागि पनि बजेटको विशेष व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो।