• १३ असोज २०८१, आइतबार

अयोग्य लडाकुलाई राहत दिने निर्णय खारेज गर्न एमालेको माग

blog

एमालेका प्रमुख सचेतक पदम गिरी

काठमाडौं, वैशाख १५ गते। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले माओवादीका अयोग्य लडाकुलाई दुई लाखका दरले राहत उपलब्ध गराउने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेको छ। शुक्रबार प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले मुलुकको आर्थिक अवस्था भयावह भएको बेला सरकारले सो निर्णय गरेको भन्दै तत्काल खारेज गर्न माग गर्नुभएको हो। 

उहाँले राज्यकोषबाट माओवादी अयोग्य लडाकुको नाममा कार्यकर्तालाई पोस्ने गरी सो रकम दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताउनुभयो।  सरकारले सो निर्णय तत्काल खारेज नगरे आफ्नो पार्टी त्यसविरुद्धमा जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने प्रमुख सचेतक गिरीको चेतावनी थियो। 

उहाँले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गराउन सरकार नलागेको आरोपसमेत लगाउनुभयो। प्रमुख सचेतक गिरीेले भन्नुभयो, ‘‘सभामुख महोदय, देशको अर्थतन्त्र संकटग्रस्त छ। आज राज्यकोषमा रकम नभएको भन्दै ८० अर्ब भन्दा बढी विभिन्न आयोजनालाई दायित्व भुक्तानी दिनुपर्ने अवस्था छ। १५ अर्ब शिक्षक र कर्मचारीलाई पेन्सन दिन दायित्व भुक्तानी बाँकी छ। पाँच अर्ब वृद्धवृद्धालाई अहिले सामाजिक सुरक्षा भत्ता दिन सरकारले बाँकी नै छ। २० अर्ब राज्यले तिर्नुपर्ने साँवा र ब्याज तिर्न नसकेको अवस्था छ। हिजो मात्रै क्याबिनेटबाट एउटा निर्णय भएको छ। आज माओवादीका अयोग्य लडाकुको नाममा करिब ४८ सय भन्दा बढी व्यक्तिलाई राज्यकोषबाट, ढुकुटीबाट २÷२ लाख नगद निकालेर बढ्ने खालको चलखेल हुँदैछ। कार्यविधि बनाएर पैसा बाँडिदै छ भन्ने सुनिएको छ। राज्यसत्ताबाट यस्तो प्रकारको दोहन हुँदै छ कि आज देश दिनदहाडै लुटिएको छ। त्यस्तो कुरा हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन। यो निर्णय तत्काल खारेजहोस्।’’

प्रमुख सचेतक गिरीले झापामा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा सत्ता पक्षकै मिलेमतोमा आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि ढुंगामुढा प्रहार गर्ने प्रयास गरिएको भन्दै निन्दा र भत्सर्ना गर्नु भयो। उहाँले घटनामा संलग्नलाई सत्तापक्षले उन्मुक्ति दिने प्रयास गरिरहेको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभयो।