• २६ पुस २०८१, शुक्रबार

पहिरो गएको तीन वर्षमा पनि भएन बासको टुङ्गो

blog

सुजन काफ्ले  

चरीकोट, वैशाख १५ गते । दोलखाको कालिञ्चोक गाउँपालिका–५, लापिलाङको रानीवनमा पहिरो गएको तीन वर्ष बितेको छ तर पहिरो प्रभावितको पीडा भने अहिले पनि उस्तै छ। पीडितको बसोबासको अझै ठेगान लाग्न नसक्दा उनीहरू कष्टकर जीवन बिताउन बाध्य छन्। 

रानीवन पहिरोका कारण करिब दुई सय घर विस्थापित भएका थिए। १४ घर बगाएको थियो। बास बस्ने घरदेखि गुजारा चलाउन खेतीपाती गर्ने जग्गा बगाउँदा पीडितको बिचल्ली भएको छ। पहिरोपीडितका लागि अहिलेसम्म कुनै दीर्घकालीन योजना बन्न सकेको छैन। यतिको समय बितिसक्दा पनि अहिलेसम्म स्थायी बासको अत्तोपत्तो नभएको स्थानीय पहिरोपीडित सुनिता पाण्डेले बताउनुभयो। उहाँले भन्नुभयो, “हिउँदमा मात्र हो यहाँ बस्ने। वर्षायाम सुरु भएपछि अरूको घरमा भाडा तिरेर बस्ने गरेका छौँ।” १९ महिनाको बच्चासहित पहिरोको छेउमा सात जनाको परिवार बस्दै आएको पाण्डेले बताउनुभयो। 

केही पहिरोपीडित दारिमथली भन्ने ठाउँमा जग्गा किनेर घर बनाएर बसेका र केही आफूजस्तै भाडामा बस्दै आएका उहाँले बताउनुभयो। “बस्ती तलबाट पनि पहिरो गएको छ, माथिबाट नि पहिरो आएको छ। तलको पहिरो घरसम्म आइसकेकाले यो वर्ष मेरो घर पनि बगाउलाजस्तो छ,”  पाण्डेले भन्नुभयो। आफूले किनेको घर र दुई रोपनी जग्गा पहिरोले गत वर्ष नै बगाएको अर्का स्थानीय रोशन लामिछानेले बताउनुभयो। उहाँले भन्नुभयो, “घरखेत गएको वर्ष नै बगाइहाल्यो, अहिले नजिकैको घरमा बस्दै आएका छाँै। त्यो घर पनि यो वर्ष बगाउलाजस्तो छ। खेतबारी बगाएपछि दैनिक गुजारा चलाउन छिमेकीको घर भाडा लिएर बिजुली पसल चलाउँदै आएको र त्यो घर पनि पहिरोको जोखिममा रहेकाले पसलको सामान सार्ने ठाउँको खोजी गरिरहेको छु।” पहिरो रोकथाम गर्न दुई करोड रुपियाँको लागतमा जाली लगाइएकोमा सो जालीसमेत पहिरोले बगाइसकेको उहाँले बताउनुभयो।

कालिञ्चोक गाउँपालिका–५ का वडाध्यक्ष सहदेव खड्काले सरकारी निकायको बेवास्ताका कारण पहिरो रोकथामका कुनै काम अगाडि बढ्न नसकेको बताउनुभयो। वडाको बजेटले पहिरो रोकथाममा केही गर्न नसक्ने र पहिरो नियन्त्रणमा गाउँपालिकाले समेत चासो नदिएको उहाँले बताउनुभयो। पहिरोका कारण सो क्षेत्रका एक दर्जन घर बगाएको र दुई सयभन्दा बढी घरपरिवार विस्थापित भएको कालिञ्चोक गाउँपालिकाले जनाएको छ। पानी पर्नासाथ स्थानीय पहिरोपीडितलाई रातमा निद्रा पर्दैन। त्यसैले अबको विकास निर्माण प्रकृतिमैत्री हुनुपर्नेमा उहाँहरूको जोड छ।