• १६ चैत २०८०, शुक्रबार

आर्थिक समृद्धिका लागि कृषि र पर्यटनमा ध्यान दिनुपर्छ : सञ्चारमन्त्री शर्मा

blog

दाङमा सुरु भएको कृषि, पर्यटन तथा व्यापार महोत्सवको उद्घाटन समारोहमा सञ्चारमन्त्री शर्मा । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, बैशाख १४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल सरकारका प्रवक्ता रेखा शर्माले आर्थिक समृद्धिका लागि कृषि र पर्यटन क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ । दाङको नारायणपुरमा आजदेखि सुरु भएको ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव –२०८०’ को उदघाटन गर्दै मन्त्री शर्माले सो कुरा बताउनुभएको हो । 

दाङ कृषि उत्पादन र पर्यटनका दृष्टिले उपयुक्त क्षेत्र भएको भन्दै कृषि उत्पादनसँगै पर्यटकीय क्षेत्रको विकास र प्रचार प्रसारमा सबैले ध्यान दिनुपर्ने उहाँको भनाइ छ । कृषि क्षेत्रमा उत्पादन बढाउन कृषिको आधुनिकरणसँगै उत्पादित बस्तुको बजारीकरणमा ध्यानदिन आवश्यक रहेको उहाँले बताउनुभयो । 

‘दाङ कृषि र पर्यटनका दृष्टिले सम्भावनायुक्त क्षेत्र हो । यी क्षेत्रको विकास र प्रचार प्रसारमा ध्यान दिन सके राम्रो आम्दानी लिन सकिन्छ’ मन्त्री शर्माले भन्नुभयो, ‘त्यसका लागि कृषिको आधुनिकीकरणसँगै बजारीकरणमा सहयोग गर्न आवश्यक छ ।’ नारायणपुर क्षेत्रमा हाट बजार सञ्चालनका लागि महोत्सवको आयोजना गर्नु राम्रो पक्ष भएको भन्दै मन्त्री शर्माले हाटबजारले किसान र उपभोक्तालाई सिधा सम्पर्कमा जोड्ने भएकाले किसानहरु ठगिनबाट बच्ने बताउनुभयो । 

‘कृषिमा विचौलियाले फाइदा लिने र किसान ठगिने अवस्था छ । यसको अन्त्यका लागि सहरी क्षेत्रमा हाटबजारको आवश्यक छ’ मन्त्री शर्माले भन्नुभयो‘ हाटबजारमा किसान आपैm बिक्रीका लागि आउने र ठगिनबाट बच्नेछन् ।’ मन्त्री शर्माले हाटबजार सञ्चालनका लागि आफुले सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । 

कृषिको विकास गर्दै प्रविधिमैत्री बनाउन देशका तीनै तहका सरकारले कृषिलाई प्राथमिकतामा राख्नुपर्ने समेत उहाँले बताउनुभयो । कृषिसँगै समग्र जिल्लाको विकासका लागि राजनीतिक दलवीच साझा धारणा बन्न आवश्यक रहेको उहाँको भनाइ छ ।  

मन्त्री शर्माले सरकारले सामाजिक सुरक्षा भत्ता कटौती गर्न थालेको जनतामा भ्रम फैलाउने काम भएको बताउनुभयो । जनतालाई भ्रममा नपर्न उहाँले आग्रह गर्नुभयो । ‘देशको आर्थिक अवस्था कमजोर भए पनि सरकारले उपलव्ध गराएको ज्येष्ठ नागरिक, अपाङ्गता, एकल महिला भत्तालगायतका सामाजिक सुरक्षा भत्ता गरिदैन’ उहाँले भन्नुभयो । 

मन्त्री शर्माले भन्नुभयो, ‘सरकारले उपलव्ध गराउँदैआएको सामाजिक सुरक्षा भत्ता काट्न्ुपर्ने अवस्था आयो भने सवभन्दा पहिले जनप्रतिनिधिहरुले बुझ्दैआएको सेवा सुविधा कटौती हुन्छ ।’ चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव बैशाखको २६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।