• १५ चैत २०८०, बिहिबार

सम्झौता र सम्झौताहरू (कविता)

blog

प्रिय, तिमी रिसाएको?

मैले पूर्ववाचाहरु पुरा गरिनँ भनेर

तिमी रिसाएको ?


मलाई लागेको थियो

तिमी

ती वाचाहरू बिर्सने छौ

मैले बिर्सिए सरह,

तर, तिमीले त साँच्चिकै मनमा साँचेका रहेछौ, 

त्यसको विपरीत मैले बेवास्ता गर्दै रहेँ

बिर्सिएको अभिनय गरिरहेँ ।

 

फेरि, तिमी नै भन न,

कुन सम्झौतालाई कुन साईतमा सम्झिउँ म

खातका खात

चाङ्का चाङ् छन्

कुन सम्झौतालाई 

कुन हदसम्म सम्झिउँ म

निम्ता दिएर घर बोलाएर होस् या 

म आफै तिम्रो घर आएर

कहिले चकलेट दिएर

कहिले केक दिएर

कहिले मानपदवीले सम्मान गरेर

तिम्रा मागहरू पुरा गरौँला भनेर

सम्झौता नगरेको होइन

सम्झौतामा दस्तखत गर्दैगर्दा 

मेरो मनभित्रको चोर देखेनौ, चिनिनौ र त

अहिलेसम्म तिमी मेरो जालमा छौ ।


यी सम्झौताकै आधारमा त तिमी मेरो छौ

तर यसलाई चटक्क बिर्सिएर या भनौँ नबुझेर हो

बेलाबेला रिसानी गर्छौ, ममाथि आरोप लगाउँछौ ।



ल, भैगो,

हिजोसम्म जे भयो भयो

आउ, आज अर्को सम्झौता गरौँ ।।

सारा पूर्वसम्झौताहरु अक्षरसः लागु हुने 

अर्को सम्झौता गरौँ

कथम्, यो लागु भएन र तिमी रिसायौ भने

पुनः अर्को सम्झौता गरौंला 

त्यसलाई स्वर्णिम अक्षरमा लेख्ने वाचा गरौंला

आउ, सम्झौताका खातहरु लागु गरौँ भन्ने 

अर्को सम्झौता गरौँ

र ति खातहरुका माथि फेरी अर्को एउटा थपौँ 

र विश्वलाई देखाऔकक हाम्रो अमर प्रेम र भ्रातृत्व । 

उडब्रिज, भर्जिनिया