• १३ असोज २०८१, आइतबार

‘पाँच सय र हजारका नोट छपाइ बन्द गर्नुपर्छ’

blog

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटा

काठमाडौं, वैशाख १३ गते । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले भ्रष्टाचार नियन्त्रण गरी अर्थतन्त्र सुधारका लागि पाँच सय र हजार रुपियाँका नोट छपाइ रोक्नुपर्ने बताउनुभएको छ ।

बुधवार राष्ट्रिय सभामा वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा बोल्दै सदस्य देवकोटाले मुलुकमा भइरहेको भ्रष्टाचार कम हुने दाबी गर्दै ५ सय र हजार रुपैयाँका नोट छपाइ रोक्नुपर्ने बताउनुभएको हो ।

उहाँले बजारमा भएको सबै पैसा नियन्त्रण गर्न सकिए भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने दाबी गर्नुभयो । उहाँले बजारमा लगानी गर्नुपर्ने पैसा कर्मचारी, नेता, दलाल र विचौलियाले बोरामा लुकाएर राख्ने गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘सरकारले दुई चारवटा काम मात्रै गरिदिए पुग्छ । यसले अर्थतन्त्रमा केही राहत पनि पुग्छ । बजारमा लगानी गर्नुपर्ने पैसा घुस्याहा कर्मचारी, घुस्याहा नेता, दलाल, विचौलियाले बोरामा पैसा लुकाए राख्ने गरेका छन भन्ने सुनिन्छ । मेरो अनुरोध छ । पाँच सय र एक हजारका नोट छाप्न बन्द गरियोस् । बजारबाट सबै नोट खिचियोस् । यसले केही हदसम्म भए पनि भ्रष्टाचार नियन्त्रणमा सहयोग पु¥याउँछ ।’’

उहाँले महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन अनुसार सार्वजनिक ऋणको अधिकांश हिस्सा प्रशासनमा खर्च भएको र अहिले ऋण लिएर चालु खर्च धान्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले नेपालमा वैदेशिक ऋण घट्दो क्रममा रहेको, राजश्व सङ्कलन अनुपात भारी मात्रामा घटेको, उद्योगी व्यवसायी धराशायी बनेको, पुरानो कर्जा तिर्न नयाँ कर्जा लिनुपर्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले आर्थिक वर्षको अन्त्यमा ठूलो बजेट रकमान्तर गर्ने, बिना आधार बहुवर्षीय आयोजना स्वीकृत गर्दा आर्थिक अराजकता बढ्दै गएको उल्लेख गर्नुभयो ।