• २७ पुस २०८१, शनिबार

‘दूध बिक्रीमा समस्या’

blog

सर्लाही, वैशाख १३ गते । डेरी उद्योगीले दूध नपाएको गुनासो गरिरहँदा तराई मधेशको दूध बिक्री नभएर किसान भारत लगेर बेच्न बाध्य छन् । डेरी उद्योगीले दूधको अभाव देखाउँदै भारतबाट आयात गर्न पाउनुपर्छ भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा निवेदन दिएका छन् तर अर्कोतिर किसान दूध बिक्री नभएको भन्दै भारत लगेर बेच्न बाध्य छन् ।

दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झाले तराईको दूध भारत गइरहेको र त्यसलाई रोक्नुपर्ने बताउनुभयो । “एकातिर दूध नपाएर भौँतारिरहेका छौँ तर हामीसँग भएको दूध भारत गइरहेको छ, त्यसलाई रोक्नुपर्छ,” हरिवनमा मङ्गलबारदेखि सुरु भएको डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनीको उदघाटन कार्यक्रममा बोल्नुहुँदै उहाँले आफू डेरी उद्योगी दूधको अभाव झेलिरहेको बताउनुभयो ।

डेरी उद्योगीले दूध नपाएको गुनासो गरिरहँदा सर्लाहीमै आयोजित दुग्ध व्यवसायसँग सम्बन्धित प्रदेशस्तरीय सरोकारवालासँग अन्तक्र्रिया गोष्ठीमा बोल्नुहुँदै डेरीविज्ञ टेकबहादुर थापाले डेरीवालाले सुगममा मात्र दूध खोजेका कारण अभाव देखिएको बताउनुभयो । हिमाल, पहाड तथा तराईका विभिन्न ठाउँबाट अझै दूध उठ्न नसक्ने बताउँदै उहाँले विकट गाउँमा गएर दूध उठाए दूधको समस्या नहुने दाबी गर्नुभयो । विज्ञ थापाले नेपालका डेरी उद्योगले गुणस्तरमा ध्यान नदिएको गुनासो गर्नुभयो । काठमाडौँका डेरीवालाले २० प्रतिशत पानी मिसाएर उपभोक्तालाई खुवाउने गरेको दाबी गर्नुभयो । 

सिरहाबाट सहभागी हुन आउनुभएका मिश्रीलाल यादवले आफूहरूलाई दूध बेच्न निकै गाह्रो भइरहेको बताउनुभयो । आफूले २१ वटा गाई पालेको र त्यसबाट दैनिक एक सय लिटर दूध उत्पादन हुने गरेको छ तर औपचारिक क्षेत्रमा बेच्न गाह्रो भइरहेको उहाँले बताउनुभयो । डेरी उद्योगीले दूध नपाएको गुनासो गर्छन् तर आफूहरूको दूध नै बिक्री नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले कहिले कसलाई, कहिले कसलाई दूध बेचेर गुजारा गरेको छु ।”

कार्यक्रममै सहभागी हुन आउनुभएका एक किसानले भन्नुभयो, “डेरी उद्योगीले भारतबाट दूध किनेर ल्याउँछन् तर हाम्रो दूध खरिद गर्दैनन् ।” भारतबाट सस्तोमा दूध किनेर ल्याउँछन् र नेपालमा महँगोमा बेच्ने गरेको उहाँले गुनासो गर्नुभयो ।

नेपालमा वार्षिक २५ लाख ६६ हजार ६१३ मेट्रिक टन दूध उत्पादन हुन्छ । त्यसमध्ये १७ प्रतिशत मात्र औपचारिक क्षेत्रमा जान्छ भने ३३ प्रतिशत अनौपचारिक क्षेत्रमा जान्छ र ५० प्रतिशत घरायसीमा खपत हुन्छ ।