• ११ साउन २०८१, शुक्रबार

प्रवासीको सहयोगमा नयाँ विद्यालय भवन

blog

म्याग्दी समाचारदाता

म्याग्दी (बेनी), वैशाख १२ गते । भूकम्पका कारण जीर्ण बनेको रघुगङ्गा गाउँपालिका–१, बेगमा रहेको महादेव माध्यमिक विद्यालयको भवन प्रवासीको सक्रियतामा पुनर्निर्माण गरी चिटिक्क पारिएको छ। रोजगारीका क्रममा विदेश पुगेका बेगखोलावासीको आर्थिक सहयोग र अगुवाइमा विद्यालय पुनर्निर्माण गरिएको हो। 

पुरानो भौतिक संरचना र २०७२ सालको भूकम्पका कारण जीर्ण बनेको विद्यालय भवनलाई करिब एक करोड ५० लाख रुपियाँ चन्दा सहयोग सङ्कलन गरी सातकोठे सुविधासम्पन्न भवन निर्माण गरिएको हो।

नयाँ भवन निर्माण भएसँगै पठनपाठन सहज भएको विद्यालयका प्रधानाध्यापक दुतबहादुर गर्बुजाले बताउनुभयो। विभिन्न मुलुकमा पुगेका बेगखोलावासीले जन्मगाउँको शैक्षिक विकासका लागि पठाएको रकमबाट विद्यालय भवन पुनर्निर्माण गरिएको उहाँले बताउनुभयो। 

“जीर्ण भवनका कारण पठनपाठनमा समस्या भएको थियो,” प्रधानाध्यापक गर्बुजाले भन्नुभयो, “पेसा र रोजगारीका क्रममा विदेशका विभिन्न मुलुकमा पुगेका बेगखोलावासीको साथ र सहयोगले विद्यालयले नयाँ जीवन पाएको छ।” नयाँ भवन बनेसँगै शैक्षिक गुणस्तर पनि वृद्धि हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो। भवन पुनर्निर्माण समितिका संयोजक योगकुमार फगामीले बेगखोला कल्याणकारी समाजमार्फत सहयोग रकम पठाई विद्यालय भवन पुनर्निर्माण गरिएको बताउनुभयो। 

विद्यालयमा इन्द्रबहादुर पुर्जा, पदमबहादुर पुर्जा र यमकुमार पुर्जाका तीन दाजुभाइका परिवारले करिब १४ लाख रुपियाँ लगानीमा कम्प्युटर कक्षाका लागि छुट्टै थप कोठा निर्माण गरिदिनुभएको छ। 

सहयोगदाताले मन खोलेर सहयोग गरेकै कारण पुरानो र जीर्ण भवनको ठाउँमा सुविधासम्पन्न भवन निर्माण हुन सम्भव भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र थापाले बताउनुभयो। 

भवन निर्माण भएपछि विद्यालयको नियमित पठनपाठनसमेत सहज भएको प्रअ गर्बुजाले बताउनुभयो। उहाँका अनुसार विद्यालयले कक्षा ४ देखि नै कम्प्युटर विषयको समेत पठनपाठन गराउँदै आएको छ।