सामान्यतया खनजोत, सिँचाइ नगरी राखिएको उब्जनी नहुने जमिनलाई हामी बाँझो खेत वा बारी भन्ने गर्छाैं । त्यसैगरी प्रजनन स्वास्थ्यका दृष्टिकोणबाट सन्तान हुन नसकेका दम्पती वा जोडीको अवस्थालाई पनि बाँझोपना भन्ने गरिन्छ । यस अवस्थाका लागि प्रयोग गरिने अर्काे पर्यायवाची शब्द निःसन्तानपना हो ।
यहाँ कुनै पनि समयमा बालबच्चा नपाएका वा पाउन नसकेका सबै दम्पती बाँझोपना÷निःसन्तानपनाका सिकार भएका हुन् त भन्ने प्रश्न उब्जनु स्वाभाविक हुन्छ । त्यसैले चिकित्सा विज्ञानमा एउटा स्थापित सिद्धान्त छ, जसले बाँझोपना÷निःसन्तानपनाको यकिन अवस्थालाई निर्धारित गर्दछ । जसअनुसार ‘बच्चा पाउने चाहनासहित सँगसँगै नियमित यौनजीवन बिताइरहेका र गर्भनिरोधकका कुनै पनि उपाय अवलम्बन नगरेका प्रजननयोग्य उमेरका दम्पतीमध्येकी स्त्रीले निरन्तर एक वर्षभित्र गर्भधारण गर्न नसकेको अवस्थालाई निःसन्तानपना÷बाँझोपना भनिन्छ ।’
किन हुन्छ बाँझोपना
मानव उद्विकासको सुरुवातदेखि नै यो अवस्थालाई मानव अस्तित्व रक्षाको प्रतिकूल परिस्थितिका रूपमा परिभाषित गरेर यसका कारण, निदान र समाधानका विभिन्न पक्ष र उपायबारे चर्चा तथा खोज हुँदै आएको छ । गर्भधारण स्त्रीले गर्ने हुँदा यस्ता चर्चा र खोजको केन्द्रबिन्दुमा स्त्री रहने गरेको तथ्यलाई इन्कार गर्न मिल्दैन । सधैँ स्त्रीले बाँझो अवस्थाको अभिशाप आफ्नो काँधमा बोकेर हिँडिरहन बाध्य हुनुपरेको देखिन्छ । हाम्रो पितृसत्तात्मक सोचाइ हाबी रहेको मुलुक र समाजमा यो कुरा अझ प्रखर रूपमा व्यक्त हुनुलाई अस्वाभाविक भन्न मिल्दैन तर अन्यायपूर्ण र अवास्तविक भन्न भने मिल्छ ।
पुरुष र स्त्री समागमबाट उत्पन्न रज र वीर्यको समागम हुने परिस्थितिबाटै पुरुष र स्त्रीको साझा जैविक गुणसहितको भ्रूणको सृष्टि हुन्छ । त्यसैले भ्रूणलाई आफ्नो कोखमा हुर्काई बच्चा बनाउन चाहिने अनुकूल वातावरण तथा भ्रूणको रचना नै नहुने वा अस्वाभाविक रचनाका कारणले विकसित नहुने अवस्थालाई मोटामोटी निम्नलिखित तीन वर्गमा बाँडेर कारण खोज्न सकिन्छ ।
१) स्त्रीको मात्र साधारण स्वास्थ्य अवस्था वा यौनस्वास्थ्यको जटिल अवस्थाका कारणले प्रजनन स्वास्थ्यमा उत्पन्न प्रतिकूलता ।
२) पुरुषको मात्र साधारण स्वास्थ्य अवस्था वा यौनस्वास्थ्यको जटिल अवस्थाका कारणले प्रजनन स्वास्थ्यमा उत्पन्न प्रतिकूलता ।
३) एकै समयमा पुरुष र स्त्री दुवैको साधारण स्वास्थ्य वा यौनस्वास्थ्यको जटिलताका कारणले प्रजनन स्वास्थ्यमा उत्पन्न हुने प्रतिकूलता ।
यी तीनै किसिमका प्रतिकूल परिस्थिति झन्डै झन्डै समान अनुपातमा बाँझोपना÷निःसन्तानपनाका लागि जिम्मेवार हुने गरेको पाइएको छ ।
१) स्त्रीको प्रजनन स्वास्थ्यमा प्रतिकूलता
क) यौन समागमका बेला पुरुष वीर्यमा रहेका असङ्ख्य शुक्राणु योनिमार्ग हुँदै पाठेघरमार्फत पाठेघरको दुवैतिर रहेका एकजोडी डिम्ब वाहिनी नलीम्म पुग्छन् । त्यहाँ प्रतीक्षारत स्त्री डिम्बसँग सामान्यतया सबैभन्दा द्रुत गति भएको र स्वस्थ शुक्राणुको मिलन भएपछि भ्रूण बन्ने वातावरण तयार हुन्छ । जसरी सुरक्षित यात्राका लागि गाडी नयाँ र राम्रो भएर मात्र पुग्दैन बाटो पनि राम्रो र सुरक्षित हुनुपर्दछ त्यसरी नै शुक्राणुहरू योनिमार्गबाट सुरक्षित रूपले पाठेघरतिर लाग्ने क्रमलाई वीर्यमा रहेका पोषक खाद्य र यसमा रहेको क्षारीय गुण मात्र नभई स्वास्थ्य योनिमार्ग तथा यसको तुलनात्मक अम्लीय वातावरणले पनि त्यत्तिकै सघाउँछ ।
ढुसीलगायत अन्य सङ्क्रमणका कारण अस्वस्थ रहेको अवस्थामा योनिमार्गको वातावरण शुक्राणुका लागि प्रतिकूल हुँदा शुक्राणुहरू बाटामै नष्ट हुने वा कमजोर हुने अवस्था आउँछ । फलस्वरूप स्त्री डिम्बलाई निषेचित गर्ने क्षमतामा ह्रास आई गर्भ रहन पाउँदैन ।
ख) पाठेघरको भित्री त्वचामा हुने क्षयरोगलगायत विभिन्न रोगको सङ्क्रमण (भ्लमयmभतचष्तष्क), पाठेघरको भित्तामा रहने मांसपेशीमा मासुका डल्ला बन्ने अवस्था (ँष्दचयष्म गतभचगक), पितामाताको फरक रक्त समूह र रोग निको भइसकेपछि पनि रगतमा बाँकी रहने विभिन्न रोग प्रतिरोधात्मक तìवको भ्रूणघातक प्रभावका कारणले बनेको भ्रू्रण पनि कहिलेकाहीँ पाठेघरमा प्रत्यारोपित हुनै नसक्ने वा भए पनि दिगो रूपले बस्न नसक्ने अवस्था सिर्जना हुँदा नष्ट हुन्छ ।
ग) विभिन्न सङ्क्रमण, विकीरणको प्रभाव, अर्बुद, शल्यक्रिया, जन्मजात दोष, पानी पसेका वा जमावट आदिका कारणले पाठेघरको दायाँबायाँ दुवैतिर रहेका डिम्बाशयबाट निष्कासित डिम्बलाई पाठेघरसम्म ओसार्ने दुईवटा नलीमा स्थायी जा अस्थायी प्रकृतिको अवरोध आउन सक्छ । यसले गर्दा डिम्बको शुक्राणुसँगको मिलन सम्भव हुँदैन ।
घ) डिम्बाशयमा सङ्क्रमण, विकीरणको प्रभाव, अर्बुद, शल्यक्रिया, जन्मजात दोषी बनावट, पोलिसिस्टिक ओभरियन डिजिज, चकलेट सिस्ट आदि जस्ता रुग्ण अवस्थाका कारणले दायाँबायाँ दुवै डिम्बाशयबाट साधारणतया पालैपालो निष्कासित हुने पूर्ण विकसित डिम्ब निष्कासन हुन सकेन भने स्त्री रजको अभावमा गर्भ रहन सम्भव हुँदैन ।
कहिलेकाहीँ पाठेघरबाहेकको असामान्य ठाउँमा भ्रूण बन्ने अवस्था (भ्अतयउष्अ उचभनलबलअथ)का कारणले भ्रूण बनेता पनि गर्भ रहँदैन ।
ङ) सामान्यतया स्त्री रागरस (ँझबभि जयचmयलभक) को समयसापेक्ष र लयात्मक उतारचढावले डिम्ब निष्कासन हुने, भ्रूणको आगमनको अपेक्षामा पाठेघरको भित्तामा गर्भका लागि तयारी हुने, गर्भ नरहेमा त्यस्तो तयारी भत्किएर महिनावारी हुने र गर्भ रहेमा त्यो तयारी नभत्किँदा महिनावारी नहुने जस्ता क्रियाकलापको निर्धारण र नियमन गर्दछ । कुनै पनि रागरसको असामान्य रूपले अल्प वा अत्यधिक मात्रा र प्रभावले यो सन्तुलन खल्बलिन्छ र अनेकौँ डिम्ब कोपिलामध्ये स्वस्थ डिम्ब विकास हुने प्रक्रिया तथा त्यसको बाह्य प्रतिच्छायाका रूपमा हुने महिनावारीको लय पनि बिग्रिन्छ र गर्भ रहन सक्दैन ।
२) पुरुषको प्रजनन स्वास्थ्यमा प्रतिकूलता–
पुरुषका दुई अण्डकोषमा शुक्राणु बन्दछन् । लाखौँ, करोडौँका सङ्ख्यामा शुक्राणु नियमित रूपमा प्राथमिक रूपले बन्न सुरु गर्छन् र ९० देखि एक सय २० दिनको अवधिमा परिपक्व हुन्छन् । परिपक्व भएर वीर्यथैलीमा पुगेपछि वीर्यथैलीको भित्ताबाट निस्किने पोषक रससँग मिलेर वीर्य बन्दछ । यति मात्र नभएर पौरुष ग्रन्थी (एचयकतबतभ) बाट निस्किने स्राव पनि वीर्य निष्कासनका बेलामा वीर्यमा मिसिन्छ । वीर्यको रासायनिक प्रतिक्रिया क्षारीय हुन्छ ।
शुक्राणुको सङ्ख्या र समष्टिगत स्वस्थ अवस्थाले पुरुषको प्रजनन स्वास्थ्यको प्रतिनिधित्व गर्दछ । विभिन्न पुरुष रागरस (ब्लमचयनभलष्अ जयचmयलभक)ले पुरुषको शुक्राणु उत्पादन प्रक्रियालाई प्रभावित गर्दछन् ।
डिम्ब निषेचनका लागि वीर्य उपयुक्त छ या छैन भन्ने कुरा प्रतिमिलिलिटर वीर्यमा शुक्राणुको सङ्ख्या, वीर्यको रासायनिक प्रतिक्रिया, शुक्राणुको दौडिने वा पौडिने क्षमता, बनावटमा एकरूपता आदि गुणले निर्धारित गर्दछ । मापदण्डभन्दा कमसल गुण भएका शुक्राणुसहितको वीर्यबाट डिम्ब निषेचन हुन सक्दैन र गर्भ रहँदैन ।
कमसल वीर्य बन्नुका पछाडि अण्डकोष वा शुक्राणु वाहिनी तथा वीर्य प्रवाहिनी नलीमा सङ्क्रमण, विकीरणको प्रभाव, शल्यक्रिया, अर्बुद, पानीफोका, रत्तस्राव, जन्मजात दोष, रागरसको असक्षमता वा असन्तुलनजस्ता विभिन्न रुग्ण अवस्थाको एकल वा मिश्रित प्रभाव हुन सक्छ । वीर्यमा सङ्क्रमण अपत्यारिलो तर गम्भीर कारक तìव हो ।
कतिपय अवस्थामा वीर्यको झोल भाग त बन्छ तर शुक्राणु भने शून्य हुन्छ । खासगरी अण्डकोषबाट वीर्यथैलीतर्फ शुक्राणु ओसार्ने दुवै नलीमा पूर्ण अवरोध, बाल्यावस्थामा हाडेरोग, अण्डकोषको विकासमा जन्मजात समस्या वा असामान्य अवस्था, गम्भीर चोटपटक वा विभिन्न स्वास्थ्य अवस्थाको उपचारका क्रममा गरिने अण्डकोष उच्छेद शल्यक्रिया यस्तो अवस्थाका लागि मुख्य जिम्मेवार कारक तìव हुन् ।
३) पुरुष र स्त्री दुवैको प्रजनन स्वास्थ्यमा प्रतिकूलता
माथि उल्लेखित पुरुष र स्त्रीमा हुन सक्ने कुनै पनि कारण एकैसाथ दुवै जनामा रहेको अवस्थामा दुवैको कारणले गर्भ नरहन सक्छ । यसबाहेक ज्ञान र प्रविधिको असीमित विकास भएको यस युगमा पनि न्यून मात्रामै भए पनि प्राविधिक रूपले पूर्ण स्वस्थ जोडीको पनि गर्भ नरहेको पाइएको छ ।
निदान र समाधानको उपाय
बाँझोपनाद्वारा पीडित जोडीहरू धेरैजसो अवस्थामा केवल स्त्री र कहिलेकाहीँ आफूलाई शङ्का लागेको पक्षको मात्र परीक्षण गरेर कारणबारे आफ्नो धारणा बनाई उपचार गर्न रुचाउने गरेको पाइन्छ । कहिलेकाहीँ एउटा विशेष लिङ्ग वा पक्षको मात्रै परीक्षण गरी गरिएको उपचार पूरा भएर स्वस्थ हुँदा पनि गर्भ नरहेर हतास हुन पुगेका यस्ता व्यक्ति सम्पूर्ण उपचार प्रक्रियाप्रति नै नकारात्मक धारणा बनाउन पुग्छन् ।
यथार्थमा झन्डै एक तिहाइ जोडी दुवै जनामा केही न केही समस्या रहेका कारण गर्भ रहन नसक्ने समस्यामा हुन्छन् । त्यसैले कुनै एकको प्रजनन स्वास्थ्यको निश्चित पक्षमा गडबडी देखिनासाथ अन्य परीक्षण रोक्नुभन्दा दुवैको प्रजनन स्वास्थ्यका सबै पक्षको विस्तृत परीक्षणपछि मात्रै निदान गरेर समाधानको मार्गचित्र तयार गर्दा मात्रै समस्याको सही सम्बोधन हुन्छ ।
कसरी गरिन्छ निदान
पुरुषको परीक्षण तुलनात्मक रूपमा सहज छ । सम्पूर्ण विवरण लिइसकेपछि वीर्यको जाँचपछि प्राप्त सूचनाअनुसार रागरस, सङ्क्रमण र आन्तरिक जाँच गर्न सकिन्छ ।
स्त्रीमा एक पूरै महिनावारी चक्रको विभिन्न समयमा रागरस, डिम्ब वाहिनी नलीको अवरोध भए नभएको अवस्था, डिम्ब निष्कासनको लय र समयको जाँच, योनिमार्गको सङ्क्रमणको सम्भाव्यता, पाठेघरको स्वास्थ्य आदि जाँच्न विभिन्न परीक्षण गर्न सकिन्छ । प्रभावित व्यक्तिको विवरणअनुरूप रक्त समूह र प्रतिरक्षा प्रणालीको थप जाँच पनि आवश्यक हुन सक्छ ।
समाधानको उपाय
देखिएका कारणको एकएक गरेर समाधान गर्नु पहिलो प्राथमिकतामा पर्दछ । कहिलेकाहीँ थप जटिलता अनुसार समग्र समाधानको समष्टिगत मार्गचित्र अनुसरण गर्नु आवश्यक हुन्छ । जसमा कृत्रिम गर्भाधान, बाह्य निषेचन (त्भकत तगदभ दबदथ यच क्ष्ख्ँ), गर्भान्तरण (क्गचचयनबअथ) आदि हाल सहजै सम्भव छन् ।