विजयकुमार साह
ढल्केवर, वैशाख १२ गते । धनुषाको उत्तरी चुरे क्षेत्र गणेशमान चारनाथ नगरपालिका–५, चिसापानीमा पानीका स्रोत सुकेपछि २४५ घरधुरी रहेको सो बस्ती पानीको सङ्कटमा परेको छ। गाउँका इनार, चापाकल प्रायः सुकेका छन्। एउटा सार्वजनिक चापाकलमा थोरै पानी आएपछि दिनरात नै पानी लिनेको मेला लाग्दै आएको छ।
स्थानीय सूर्य मानन्धरका अनुसार त्यही एउटा सार्वजनिक चापाकलमा घण्टौँ पालो पर्खेर पानी भर्नुपर्ने बाध्यता छ। अरू चापाकलभन्दा सार्वजनिक चापाकल बढी गहिरो गाडिएकाले पानी आइरहेको हुनसक्ने उहाँको अनुमान छ।
सुक्खा मौसम सुरु भएसँगै यो बस्तीमा खानेपानीको समस्या सुरु भएको मानन्धरले बताउनुभयो। चुरे क्षेत्र तथा निरन्तर पानी बगिरहने कमला नदीको बगर छेउमै अवस्थित चिसापानी बस्तीमा रहेको इनार र चापाकलमा पहिलो पटक पानी सुकेको स्थानीयको भनाइ छ। कमला नदीमा निरन्तर बगिरहने पानीको बहाव परिवर्तन भएपछि पानीको सतह घट्न गई इनार र चापाकल सुक्न गएको उहाँहरूको बुझाइ छ। पहिला बस्ती भएको पश्चिम किनार भएर कमलामा पानी बग्थ्यो। अहिले बहाव परिवर्तन भएर पूर्वी किनार हुँदै पानी बगिरहेको मानन्धरले बताउनुभयो।
गणेशमान चारनाथ नगरपालिकाका प्रमुख जितनारायण यादवले चिसापानी बस्तीमा खानेपानी समस्या समाधान गर्न डिप बोरिङ गाडिएको बताउनुभयो। उहाँका अनुसार सो क्षेत्रमा विद्युत् तथा मोटर पम्म जडानलगायत प्राविधिक काम भइरहेको छ। चाँडै प्रत्येक घुरधुरीमा धारा उपलब्ध गराइनेछ। खानेपानी अभाव टार्न दुई वर्षअघि पनि सो बस्तीमा डिप बोरिङ गाडिएको थियो तर त्यसमा पानी आएन। त्यसपछि यस वर्ष खोला किनारतर्फ अर्को डिप बोरिङ गाडिएको हो। परीक्षणका क्रममा यसबाट पर्याप्त पानी निस्किएकाले योजनाको थप काम अघि बढाइएको नगरप्रमुख यादवले बताउनुभयो।
मधेश प्रदेश वन निर्देशनालयका महासचिव सुरेश शर्माले यस वर्ष हिउँदमा पर्याप्त पानी नपर्नाले तथा बढ्दो वन विनाश र उत्खननले गर्दा पछिल्ला वर्षमा खानेपानीको स्रोत चाँडो सुक्न थालेको बताउनुभयो। उहाँले चुरे क्षेत्रमा मात्रै नभएर जिल्लाको दक्षिणी भूभागमा समेत जमिनमुनि पानीको सतह घटेर थुप्रै इनार तथा चापाकल सुकेको जानकारी दिनुभयो।