• ११ पुस २०८१, बिहिबार

सेवाग्राहीलाई छेकेर लेखापढीको धर्ना

blog

लहान समाचारदाता

लहान, वैशाख १२ गते । जग्गाको कित्ताकाट खुलाउनुपर्ने माग राख्दै लहानस्थित मालपोत कार्यालयमा लेखापढी व्यवसायीले आन्दोलन थालेका छन्।

कार्यालयको मुख्य प्रवेशद्वारमा आइतबार अनशन बसेका लेखापढी व्यवसायीले सेवाग्राहीलाई भित्र पस्नसमेत दिएनन्। छबुँदे मागसहित आन्दोलनमा उत्रिएका खेलापढी व्यवसायीले कार्यालयको काम ठप्प पारेका थिए। आफ्नो माग पूरा नभए सात दिनपछि कडा आन्दोलनमा उत्रने चेतावनी लेखापढी व्यवसायीले दिएका छन्।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन लहानका अध्यक्ष रामनारायण यादवले कित्ताकाट सञ्चालन हुनुपर्ने, कार्यालयको कामकाज व्यवस्थित हुनुपर्ने, जनताको दैनिक कामकाज छिटो हुनुपर्ने, मालपोत कार्यालय लहानमा प्रमुख, मालपोत अधिकृतको दरबन्दी भए पनि नायब सुब्बाले पाँच वर्षदेखि कार्यालय सञ्चालन गरिरहेकाले दरबन्दीअनुसारकै उपसचिव आउनुपर्ने, भूसेवा सञ्चालनका लागि व्यवस्थापन गर्न केही समय थप्नुपर्ने र जग्गाको कित्ताकाट गाउँब्लक, बहाल बिटौरी र गुठी जग्गाको कामकाज सुरु हुनुपर्ने माग राखेका छन्। 

उहाँका अनुसार नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७९ जेठ २३ को निर्णयअनुसार २०७९ पुस २३ सम्म स्थानीय तहले तत्काल जग्गाको वर्गीकरण नगरेसम्म स्थानीय तहबाटै घडेरी र कृषियोग्य जग्गा सिफारिस भइआएमा त्यस्ता जग्गाको कित्ताकाट गर्ने निर्णय भएको थियो। मालपोत कार्यालय लहानले सोको जानकारी नदिई सूचना गोप्य राखेर सेवाग्राहीलाई धोका दिएको आरोप अध्यक्ष यादवको छ।

आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रममा थप १९ वटा कार्यालयमा भूसेवा सञ्चालन गर्न पत्राचार गरिएको थियो। त्यही पत्राचारअनुसार भूसेवा केन्द्र सञ्चालनको कार्य अघि बढाएकोमा नेपाल लेखापढी कानुन व्यवसायीले आइतबार दिनभरि कार्यालयमा कुनै कार्य हुन नदिई ५ बजेसम्म कर्मचारीलाई कैदीजस्तो थुनेर अमर्यादित व्यवहार गरेको कार्यालय प्रमुख दीपेन्द्रनारायण चौधरीले बताउनुभयो।