• ११ मंसिर २०८१, मङ्गलबार

संस्मरणका विम्ब

blog

के नियमित आकस्मिकताका रूपमा प्राकृतिक प्रकोप र प्रकोपजन्य दुर्घटना भएका होलान् त ? प्रश्न सधैँ मथिङ्गलमा मडारिइरहन्छ । यस्तै आकस्मिकताको प्रतीक २०७२ वैशाख १२ को भूकम्प उदाहरणीय आततायी नियति भएर गयो । प्रकृतिको दारुणिक नियति अब नदोहोरियोस्, कामना यही गरौँ तर सजगता, विपत् न्यूनीकरणका उपायप्रति आमनागरिकमा सचेतना, पूर्वतयारी तथा विपत् व्यवस्थापनका चक्रीय कार्यको चुस्तदुरुस्त प्रतिकार्य सधैँ प्राथमिक आवश्यकताका रूपमा रहन्छ । प्रकोप प्राकृतिकजन्य वा मानवीय त्रुटिका कारण जेजसरी भए पनि क्षति न्यूनीकरण र उचित व्यवस्थापन पहिलो आवश्यकता रहन्छ ।  

२०७२ वैशाख १२ मध्याह्न समय गोरखाको उत्तरी क्षेत्रको बारपाक गाउँलाई केन्द्रबिन्दु (इपिसेन्टर) बनाएर गएको आमविनाशकारी भूकम्पको तरङ्गले सिङ्गो राष्ट्र एक पटक झस्कियो । विनाशकारी क्षतिले समग्र देशवासीमा दुःख तथा पीडाको छाप लामो समयका लागि छोड्यो । आमविनाशक भूकम्पको चपेटामा निर्दोष बालबालिका, वयस्क र प्रौढ तथा कैयौँ गाउँबस्ती सखाप भए । मानवीय र भौतिक संरचनाको व्यापक क्षतिले प्राकृतिक विपत्बाट सजग र सचेत रहन ठूलै पाठ सिकायो । नेपालीमा यस प्रकोपजन्य घटनाले एकता, धैर्यता तथा साहसको ऊर्जा पनि थप्यो । ऊर्जाको पदचापमा पुनर्निर्माण तथा नवीन बस्ती निर्माण कार्य भए । बारपाक गाउँको नवीन रूप पुनर्निर्माणको एक उदाहरणीय कार्य भयो । अन्य भूकम्प प्रभावित बस्ती तथा गाउँमा नयाँघर निर्माण सबलीकरणसहित पुनर्निर्माण कार्यको अगुवाइ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ग¥यो । निकै हदसम्म सफल पनि भयो । यस्तै प्रकृतिका गम्भीर प्राकृतिक विपत्को व्यवस्थापन तथा पुनर्निर्माणमा भविष्यका लागि व्यवस्थापकीय सक्षमता र कुशलताको उदाहरण रहन सक्यो । 

आठ वर्षअघि वैशाख १२ मध्याह्नको त्यो अकल्पनीय घटना गोरखाको बारपाक केन्द्रबिन्दु रहेको विनाशकारी भूकम्प, गोरखा भूकम्पको पर्यायका रूपमा मिडियाले ग्रहण ग¥यो । मुलुकका मध्यपहाडी र पश्चिमी क्षेत्र तथा काठमाडौँ उपत्यकाका तीन जिल्लासहित १४ जिल्लामा अधिक मानवीय तथा भौतिक क्षति पु¥यायो भने समग्रमा चौँतीस जिल्लामा क्षति पु-यायो । त्यस अकल्पनीय भूकम्पले आठ हजार आठ सयभन्दा बढी आमनागरिकको ज्यान लियो । २२ हजारभन्दा बढी घाइते भए भने करिब छ लाख घर पूर्ण र आंशिक रूपमा क्षति भए । साथै ८९ जना विदेशी नागरिकको निधन भयो । लाखौँ जनताले भूकम्पको लामो समय अस्थायी घरबासमा जेनतेन गुजारा गरे । अनुमान लगाउन हम्मे नपर्ला, त्यो भूकम्पको विनाशलीला कति भयावह रह्यो ?

विनाशकारी भूकम्पको सिलसिलासँग गत फेब्रुअरी ६ मा टर्किए तथा सिरियाको उत्तरी क्षेत्रमा गएको विनाशकारी भूकम्पका कारण फेरि एक पटक विश्व जगत्मा कटु मानवीय तथा भौतिक क्षतिको पुनर्ताजगी ग¥यो । त्यस विनाशकारी भूकम्पमा परी टर्किए र सिरियाका गरी ५० हजारभन्दा बढी आमनागरिकको ज्यान गयो । साथै अर्बौं डलरको भौतिक क्षतिसमेत हुन पुग्यो । उक्त भूकम्पपछिको तत्काल राहतका लागि नेपाल सरकारले विभिन्न सरकारी निकाय, मानवीय क्षेत्रमा कार्य गर्ने सङ्घसंस्था र निजी क्षेत्रको सहयोगमा सङ्कलित २२ टनभन्दा बढी राहत सामग्री पहिलो खेपमा तत्काल पठायो । विनाशकारी भूकम्पपछि नेपालले त्यहाँको राहत तथा पुनस्र्थापनामा ऐक्यबद्धतास्वरूप ती मानवीय सहायता सामग्री पठाएको थियो । 

नेपालका प्रमुख प्रकृतिजन्य प्रकोपमा बाढीपहिरो, अविरल वर्षापछिको भूक्षय तथा भूस्खलन, सुक्खा पहिरो, गर्मी मौसममा हुने आगलागी, तराई क्षेत्रमा हुने बाढीपछिको डुबान, आँधी, हिमताल विस्फोट तथा बाढी, चट्याङ, हुरीबतास तथा भूकम्प र भूसतहमा हुने अन्य विभिन्न प्रकोप आदि । विश्वका प्राकृतिक प्रकोपका अति जोखिमजन्य क्षेत्रमा दक्षिण एसियाका मुलुकमा नेपाल एक अग्रणी मुलुक हो । तसर्थ हामी सधँै उच्च जोखिममा छौँ । विज्ञानको सिद्धान्तले प्रकोपका घटनाले भन्दा पनि हामीले निर्माण गरेका कमजोर प्रकोप प्रतिरोधात्मक संरचना निर्माणका कारणले मानवीय तथा भौतिक क्षति अधिक हुने गर्छन् । 

तसर्थ प्रकोप प्रतिरोधात्मक संरचना निर्माणको मापदण्डसहितका संरचना निर्माण प्राथमिक आवश्यकता हो र सम्बन्धित सरोकारवाला निकायको कर्तव्य र दायित्वभित्र पर्छ । भवन तथा संरचना निर्माणका लागि सरकारले निर्धारण गरेका भवन निर्माण मापदण्ड कडाइका साथ पालना र निर्माणका दौरान अनुगमन तथा मूल्याङ्कनको प्रभावकारी कार्यान्वयनमा महìव राख्छ । उदाहरणका रूपमा केही समयअघिको सञ्चार माध्यममा आएका समाचारका आधारमा ललितपुरको बागडोल क्षेत्रका समिट अपार्टमेन्ट निर्माणको प्रारम्भिक निर्माण कार्यले आसपासका छिमेकी घर तथा सार्वजिनक क्षेत्रमा पुगेको क्षतिलाई लिन सकिन्छ । 

विगत वर्षका विपत्का पाठ सिकेर अघि बढ्नु न्यायसङ्गत रहला । अघिल्लो एक दशकको समीक्षा गर्दा त्यस अवधिमा विपत्को भय र त्रासमा शिथिलता आउन नसकेको देखिन्छ । २०७२ को गोरखा भूकम्प, गत वर्षको मेलम्ची खोलाको प्राकृतिक वितण्डता र त्यसले पु¥याएको जनधनको क्षति आदि उदाहरणका रूपमा लिन सकिन्छ । मुलुकको पूर्वी तथा पश्चिमी पहाडमा वर्षायामको पहिरोमा पर्नेहरूको राहत तथा पुनस्र्थापनामा निम्छरो पनि कार्य हुन नसक्नु विडम्बना छ । यसैगरी गत वर्ष डोटी, अछाम, बाजुरा र सङ्खुवासभामा ठूलै भूकम्प गयो । विपत्लाई वातावरणीय तथा जलवायुजन्य क्षतिसँग कसरी जोड्ने भन्ने ज्ञानयुक्त विधि हाम्रा लागि आवश्यक छ । 

प्राकृतिक तथा विपत्जन्य मृत्युका सन्दर्भमा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार गत वर्ष ४८२ जनाको मृत्यु भएकोमा आगलागीबाट १०९ जनाको हताहती भएको छ भने पहिरोले ९४ र चट्याङले ८४ जनाको ज्यान लियो । साथै गैरप्राकृतिक विपत्बाट ७१, जनावरको आक्रमणबाट ४३, बाढीले १९, हुरीबतासले १०, लेक लागेर नौ, भीषण वर्षाबाट आठ, सर्पदंशले १९ र भूकम्पले आठ जनाको अनाहकमा ज्यान लियो । जुन निकै दुःखद मृत्यु हो । विगतको लामो समयको अनुभवका आधारमा समीक्षा गर्दा हाम्रो विसङ्गति भनेकै विपत् न्यूनीकरणको कमजारे कार्ययोजना तथा फितलो नीतिगत कार्यक्रम कार्यान्वयनको परिपाटी नै हो । जसमा समयानुकूल परिमार्जन र परिणाममुखी गत्यात्मक आवश्यक छ । सम्बन्धित निकायको यसमा गम्भीर ध्यानाकर्षण होला नै । 

नेपाल पनि प्राकृतिक प्रकोपको उच्च जोखिममा छ । प्रकोप न्यूनीकरण तथा प्रकोपपछिका राहत तथा पुनर्निर्माण कार्यमा दीर्घकालीन योजना र सोचका साथ अघि बढ्न सक्नुपर्छ । जसका लागि राज्यसंयन्त्र तथा सरोकार निकाय जिम्मेवारी बोधका साथ विपत्मा कार्य गर्ने पद्धति र अभ्यासको जनअपेक्षा छ । विपत् व्यवस्थापन तथा प्राकृतिक प्रकोप न्यूनीकरणका क्षेत्रमा प्रभावकारी कार्यलाई समन्वयात्मक र गुणात्मक बनाइन नसक्नु चिन्ताको विषय हुन्छ । 

गोरखा भूकम्पको केन्द्रबिन्दु बारपाक गाउँको मुहार फेरिइसकेको छ । बारपाक पुनः फरक शैलीमा नवीनताका साथ जुर्मुरायो । यस्तै भूकम्पले क्षति पु¥याएका सयौँ बस्ती तथा गाउँ फेरिएका छन् । भूकम्पीय प्रतिरोधात्मक प्रविधियुक्त व्यक्तिगत आवास तथा सार्वजनिक संरचना निर्माण अभियानसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गत वर्षको तथ्याङ्क विवरणअनुसार निजी घर निर्माणका सन्दर्भमा कुल सर्वेक्षण सङ्ख्या १० लाख ३७ हजार २९१, लाभग्राही सूचीमा सूचीकृत आठ लाख ५७ हजार ७४४, निर्माण सम्पन्न भई तेस्रो किस्ता प्राप्त गर्ने प्रमाणित लाभग्राही छ लाख ५० हजार १०१ रहेको पाइन्छ । 

विनाशकारी भूकम्पका कारण देशका विभिन्न स्थानका ऐतिहासिक, पुरातात्त्विक महत्त्वका सयौँ धरोहरमा अपूरणीय क्षति पु¥यायो । विशेषतः काठमाडौँ उपत्यकाका युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्रमा सूचीकृत ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महìवका कैयौँ धरोहर विनाश भए । काठमाडौँ उपत्यकाभित्र र नेपालका उत्तर–पश्चिमी क्षेत्रका धाार्मिक तथा ऐतिहासिक महत्वका दुई हजार नौ सय संरचना क्षति भएकामा एक सय ३१ सम्पदा स्थल अति प्रभावित थिए । काठमाडौँ उपत्यकाका तीन जिल्लाका सम्पदा क्षेत्रका उल्लेख्य सङ्ख्यामा सम्पदा तथा ऐतिहासिक धरोहर पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ । महìवपूर्ण कार्यका रूपमा ऐतिहासिक काष्ठमाण्डपको पुनर्निर्माण कार्य सम्पन्नता सुखद पक्ष हो । 

यस्ता सम्पदाको मौलिकता कायम गरी पुनर्निर्माण कार्य हुन सक्नुमा सम्बन्धित नगरपालिका, पुरातत्त्व विभाग, पुनर्निर्माण प्राधिकरण, कालिगड तथा सबै धन्यवादका पात्र रहन्छन् नै । साथै ऐतिहासिक रानीपोखरीले पनि पुरानै मौलिकता र स्वरूप प्राप्त गर्न सक्यो । सम्पदा पुनर्निर्माण ऐतिहासिक मौलिकता जोगाउनु र संवेदनशील विषय हो । पुरातात्त्विक महत्व, कलाकृति र धार्मिक पक्षलाई निकै ख्याल गरियो । विपत्का समयका साहस, धैर्यता र अविचलित इच्छाशक्ति आफैँमा विपत् व्यवस्थापनमा उदाहरणीय हो । विपत्लाई संयम तथा धर्यतापूर्ण व्यवस्थापन गर्ने उत्सर्गता भावी पुस्ताका लागि अनुपम रहला । विनाशपछिको पुनर्निर्माणमा अग्रसरता र सकारात्मक पहल समृद्ध नेपालको अभियानमा सार्थक हुनेछ । 

लेखक मानवशास्त्री हुनुहुन्छ ।    

Author

मनोहर कार्की