गोरखापत्र समाचारदाता
काठमाडौं, वैशाख ११ गते । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले कुनै पनि संस्थामा व्यवस्थापन र ट्रेड युनियनहरुबीचको सम्बन्ध सुमधुर र हार्दिकतापूर्ण बनाउन सकेमा संस्थाकाको भविष्य उज्ज्वल हुने बताउनुभयो ।
संस्थानमा कार्यरत कर्मचारीहरु संस्थानको वृहत्तरहितका लागि एकजुट भएर वृत्ति विकासलगायतका सिर्जनात्मक कार्यक्रमको प्रस्तावमा व्यवस्थापनले सधैँ साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गोरखापत्र संस्थान कर्मचारी संघ २०५२ ले सोमबार आयोजना गरेको बधाइ तथा शुभकामना दिने कार्यक्रममा उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । संघले वरिष्ठ उपाध्यक्ष धर्मराज न्यौपाने र उपाध्यक्ष तुलसीप्रसाद पोखरेल गत चैतमा सम्पन्न नेपाल सार्वजनिक सेवा कर्मचारी संघको राष्ट्रिय समितिमा क्रमशः उपमहासचिव र सदस्य पदमा निर्विरोध निर्वाचित भएकोमा बधाइ तथा शुभकामना दिने कार्यक्रम आयोजना गरेको हो ।
सोही कार्यक्रममा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले कर्मचारीहरुले सङ्घ सङ्गठन खोल्ने र त्यसमा आवद्ध हुन पाउने अधिकार लोकतन्त्रको सुन्दर पक्ष हुँदा हुँदै पनि पछिल्लो समय ट्रेड युनियनहरु र उनीहरुका गतिविधिलाई नकारात्मक रुपमा प्रस्तुत गर्न थालिएको बताउनुभयो ।
उहाँँले ट्रेड युनियन र व्यवस्थापनले एक अर्कालाई प्रतिद्वन्द्वीको हेर्नु र व्यवहार गर्नु दुबैका लागि घातक हुने बताउँदै सहभागितामूलक तरिकाबाट आगडि बढेमा दुबैले चाहेको संस्थान र कर्मचारीको समृद्धि हासिल हुन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
नवनिर्वाचित सदस्य तुलसीप्रसाद पोखरेल र उपमहासचिव धर्मराज न्यौपाने
कार्यक्रममा गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराईले राष्ट्रिय संघमा गोरखापत्र संस्थानको कर्मचारीको उपस्थिति आफैँमा महत्वपूर्ण हुने बताउँदै त्यसलाई उपलब्धिमूलक बनाउन सुझाव दिनुभयो । उहाँले संस्थानका अग्रजको योगदान, अथक मेहनतले नै यो अवस्था सिर्जना भएकाले त्यसको गरिमा कायम राख्न शुभकामना दिनुभयो ।
गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य राजुकुमार महतले सबैको सर्वोपरि हितका लागि ट्रेड युनियनकर्मीले अर्थवाद, अवसरवाद र अराजक संस्कृतिबाट अलग रहेर काम गर्न सक्नुपर्ने बताउनुभयो । उहाँँले संस्थाभित्रका सबै युनियनबीच कार्यगत एकता काम हुन सकेमा सबैको हित हुने बताउनुभयो गोरखापत्र संस्थान कर्मचारी संघका अध्यक्ष सचु सेनले संघले व्यवस्थापनका राम्रो कामलाई सधँै साथ दिदैँ आएको र व्यवस्थापनले गलत गर्न थालेमा खबरदारी गर्न पनि उत्तिकै सक्रिय हुने गरेको बताउनुभयो ।
सङ्घका पदेन सदस्य विक्रमबाबु राईले नेपाल सार्वजनिक सेवा कर्मचारी सङ्घ, राष्ट्रिय समितिमा संस्थानको तर्फबाट यसअघि पनि सहभागिता जनाएर उपलब्धीपूर्ण कामसहित बलियो उपस्थिति जनाउँदै आएको र आउँदा दिनमा पनि त्यो गरिमालाई कायम राख्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
संघका अध्यक्ष सचु सेनको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित उपमहासचिव धर्मराज न्यौपानेले आफूले पाएको जिम्मेवारीले नेपाल सार्वजनिक सेवा कर्मचारी संघ र गोरखापत्रबीचको सम्बन्धलाई थप सुमधुर बनाउने भूमिका निर्वाह गर्ने बताउनुभयो ।