• ३ पुस २०८२, बिहिबार
blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ३ गते । अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा ‘गोरखापत्र डिस्कोर्स’ आज हुँदै छ । संस्थानले पहिलो पटक यस किसिमको कार्यक्रम आयोजना गर्न लागेको हो । ‘गोरखापत्र डिस्कोर्स अन रिकभरी एन्ड रिजिलेन्स’ शीर्षकमा आयोजना हुने यो कार्यक्रम ललितपुरको पुल्चोकस्थित दी प्लाजामा सञ्चालन हुने छ । 

नेपालको आर्थिक पुनरुत्थान, लगानी वातावरण र भविष्यका विकास–रणनीतिबारे उच्चस्तरीय राष्ट्रिय बहसका लागि निजी क्षेत्र, विज्ञ, नीतिनिर्माता र सरोकारवालाबिच साझा मञ्च सिर्जना गरी चुनौती र अवसरको पहिचान गर्ने उद्देश्यले सो डिस्कोर्स गर्न लागिएको हो । गोरखापत्र दैनिकको १२५ औँ (शताब्दी रजत) वर्ष तथा ‘दी राइजिङ नेपाल’ को ६१ औँ वर्ष प्रवेशका अवसरमा नयाँ किसिमबाट कार्यक्रम आयोजना गरिएको संस्थानले जनाएको छ । 

गोरखापत्र डिस्कोर्सको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गर्नुहुने छ । यस्तै डिस्कोर्सका विशिष्ट अतिथिमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायत रहनुहुने छ । कार्यक्रममा सम्बन्धित मन्त्रालय/विभागका सचिव, प्रमुख, निजी क्षेत्रलगायतका सरोकारवालाको सहभागिता रहने छ । पहिलो पटक हुन लागेको यस डिस्कोर्समा 

तीन वटा छलफल सत्र हुने छन् । ‘स्मार्ट पूर्वाधार : विकास र व्यवस्थापन’, ‘कस्तो मनोबल ?’ र ‘पुँजी परिचालन र नीतिगत सहजीकरण’ विषयमा शीर्षकगत छलफल सत्रको तयारी संस्थानले गरेको हो । पहिलो सत्रमा भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयका सचिव केशवकुमार शर्मा, लगानी बोर्डका प्रमुख कार्यकारी सुशील ज्ञवाली, एफवन सफ्टका निर्देशक सुवास शर्मा र स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) का कार्यकारी सदस्य सुमन जोशी बहसकर्ता रहनुहुने छ । 

यस्तै दोस्रो सत्रमा मुख्य वक्ताका रूपमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा र वक्ताहरूमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्दप्रसाद ढकाल, उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवाली, एनसेल प्रालिका निर्देशक डिल्लीराम श्रेष्ठ र युवा व्यवसायी निकिता आचार्य रहनुहुने छ । 

यस्तै तेस्रो सत्रका वक्तामा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष कमलेश अग्रवाल, नबिल बैङ्कमा प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र अर्थशास्त्री डा. पारस खरेल रहनुहुने छ । गोरखापत्र संस्थान नेपालकै पहिलो र सबैभन्दा पुरानो सञ्चार माध्यमलाई संस्थागत गर्ने संस्था हो । विसं १९५८ मा प्रकाशन सुरु भएको नेपालकै पहिलो समाचारपत्र गोरखापत्र हो ।