• ८ वैशाख २०८१, शनिबार

प्यूठानमा चैते धान खेतीको क्षेत्र विस्तार

blog

धान खेती गर्दै कृषक । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ
प्यूठान, वैशाख ११ गते ।
 जिल्लामा चैते धान खेतीको क्षेत्र विस्तार हुँदै गएको छ । जिल्ला भित्रका विभिन्न फाटमा बर्सेनि चैते धान खेती विस्तार हुँदै गएको हो ।

यो वर्ष करिब छ सय रोपनी क्षेत्रफलमा नयाँ पकेट क्षेत्र विस्तार गर्ने योजना रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई प्युठानका प्रमुख चुमानसिंह गिरीले बताउनुभयो । जिल्लामा किसानले चैते धानको रोपाइँ छोड्न लागेको बेला परियोजनाको विशेष पहलमा चार सय रोपनी जग्गाबाट सुरु गरिएको चैते धान खेती अहिले एक हजार छ सय रोपनी क्षेत्रफलमा गर्न थालिएको उहाँको भनाइ छ ।

“चैते धानको उत्पादन वर्षे धानको तुलनामा बढी हुन्छ ।’’, उहाँले भन्नुभयो,“गत वर्ष जिल्लामा वर्षे धानको उत्पादकत्व ४.५ मेट्रीकटन प्रति रोपनी छ भने चैते धानको उत्पादन ५.१ रहेको छ ।’’ परियोजनाले प्रत्येक वर्ष विशेष अभियानको रूपमा जिल्लाका विभिन्न सम्भाव्य नयाँ क्षेत्रहरूमा अध्ययन गरी क्षेत्र विस्तार गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । 

प्युठानको झिमरुक फाटमामा अहिले चैते धान रोपाइँ सुरु भएको छ । चैते धान उत्पादन हुने, सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा चैते धानको उत्पादनमा किसानलाई प्रोत्साहन गर्दै आइरहेको गिरीको भनाइ छ । गहुँ उत्पादनपछि करिब दुई÷तीन महिना खालि हुने जग्गालाई सदुपयोग गरी चैते धान लगाउने गरिएको छ ।

किसानलाई परीक्षण आधारमा बढी उत्पादन छिटो तयार हुने उन्नत बीउ चैते–५, हर्दिनाथ–१, ३ जस्ता जातको धान वितरण गरिएको छ । धानको उत्पादन र उत्पादकत्व वृद्धि गर्नका लागि विभिन्न प्राविधिक सहयोग र पूर्वाधार निर्माणका कार्यक्रमहरू समेतसँगै लगिएको उहाँको भनाइ छ ।

परियोजनाले जिल्लाका विभिन्न किसानलाई धान उत्पादनको वृद्धिका लागि यसको पकेट क्षेत्र सञ्चालन गरेर किसानलाई सिँचाइ, मल, बीउ र यान्त्रिकीकरणमा समेत सहयोग गर्दै आइरहेको छ ।