• ११ साउन २०८१, शुक्रबार

ज्याला माग्दै पुल बन्द ठेकेदार खोज्दै प्रशासन

blog

लोकेन्द्र जोशी

दार्चुला, वैशाख ११ गते । दार्चुलाको दुहुँ गाउँपालिकामा निर्माण गरिएको बहुउद्देश्यीय झोलुङ्गे पुल अनिश्चितकालका लागि बन्द गरिएको छ। पुल निर्माण भएको दुई वर्ष बितिसक्दा पनि निर्माण व्यवसायीले श्रमिकको ज्याला भुक्तानी नगरेपछि श्रमिकहरूले शुक्रबारबाट पुल बन्द गरेका हुन्। 

दुहुँको वडा नम्बर १, २ र ५ का स्थानीयले पुल निर्माणको समयमा ज्याला मजदुरी गरेका थिए। धेरै प्रयास गर्दासमेत ज्याला नपाएको भन्दै पुलको दुवैतिर तारजालीलगायत जस्तापाताले बार लगाएर बन्द गरेका हुन्। पुल बन्द भएपछि जिल्ला सदरमुकाम खलङ्गा आउने र काम विशेषले गाउँपालिकाको कार्यालयसम्म जाने नागरिकलाई दुई घण्टा लामो सडकको बाटो भएर हिँड्नुपर्ने अवस्था सिर्जना भएको छ। 

कतिपयले घुमाउरो बाटो नहिँडेर पुलमा लगाइएको बार नाघेर जोखिमपूर्ण रूपमा आवतजावत गरिरहेका छन्। निर्माण व्यवसायी, प्रशासन र गाउँपालिकाले स्थानीयले भोग्नुपरेको समस्या समाधान गर्न नसकेको स्थानीय रमेश जोशीले बताउनुभयो। निर्माणको जिम्मेवारी पाएको जगदम्बा दोभान कन्स्ट्रक्सनले श्रमिकहरूको ज्याला दुई वर्ष बित्दासमेत भुक्तानी गरेको छैन। निर्माण कम्पनीले काम गरेबापतको अन्तिम चरणको भुक्तानी नलिएको दुहुँ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरसिंह धामीले जानकारी दिनुभयो। 

उहाँले भन्नुभयो, “पुलमा लट्ठा कस्ने र लोड टेस्ट गर्ने कामसमेत नगरेरै ठेकेदार सम्पर्कविहीन भएको छ। गाउँपालिकाबाट ५० लाख रुपियाँ जति भुक्तानी गर्न बाँकी छ। स्थानीयको मात्रै ३०–३५ लाख रुपियाँ तिर्न बाँकी छ भन्ने गुनासो आएको उहाँले बताउनुभयो। मजदुरसँगै स्थानीय पसलले र ट्याक्टर व्यवसायीको पनि निर्माण व्यवसायीले रकम नदिएको पाइएको छ। स्थानीय श्रमिक, पसलधनी र ट्याक्टर व्यवसायीले बेला बेला गाउँपालिकाको न्यायिक समिति र जिल्ला प्रशासन कार्यालय दार्चुलामा हारगुहार गर्दा पनि निकास नआएपछि पुल बन्द गर्नुपरेको स्थानीय पसलधनी नरेन्द्र जोशीले बताउनुभयो।

गाउँपालिका र स्थानीयको गुनासो आएपछि ठेकेदारसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो। दुई महिना पहिले एक पटक ठेकेदार सम्पर्कमा आएर तिर्न बाँकी पैसा छिट्टै तिर्ने सम्झौता गरेको रहेछ, गत महिना मात्रै दार्चुलाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आउनुभएका जोशीले भन्नुभयो, त्यसपछि ठेकेदार फोन स्विच अफ गरेर सम्पर्कविहीन छ। 

अवरुद्ध पुल खुलाउन स्थानीय प्रहरी प्रशासन र स्थानीय तहले पहल गरिरहेको उहाँले बताउनुभयो। स्थानीयले पुल बन्द गरेपछि पुल खुलाउने प्रयास भइरहेको दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुरसिंह बडालले जानकारी दिनुभयो। 

स्थानीयहरूले श्रमको मूल्य पाउनुपर्छ, उहाँले भन्नुभयो, “हामी पनि ठेकेदारसँग सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ, आवश्यक कारबाहीको लागि प्रशासनसँग सहयोग मागेका छौँ। स्थानीयले भने पटक पटक समस्या समाधान गर्ने आश्वासन पाउँदासमेत ज्याला नपाएको भन्दै ज्याला पाउने सुनिश्चितता नहुँदासम्म पुल नखुलाउने अडान लिएका छन्।” 

ठेकेदार कम्पनीले धादिङ घर भएका २८ वर्षीय सरोज चेपाङलाई पुल निर्माणको काम पेटी ठेक्कामा दिएको बताइएको छ। जगदम्बा दोभान कन्स्ट्रक्सनका सञ्चालकले पेटी ठेकेदार चेपाङलाई सम्झौता अनुसारको रकम भुक्तानी गरिसकेको बताउँदै आएको छ। 

पेटी ठेकेदार चेपाङले आफूलाई काम गर्दागर्दै सम्झौता भएको रकममा काम सम्पन्न नहुने सम्भावना देखिएपछि बीचमै छोडेर जान लाग्दा ठेकेदार कम्पनीले घाटा नहुने गरेर म भुक्तानी दिन्छु भनेर मौखिक फोन सम्पर्ककै आधारमा काम गरेको बताउँदै आएका छन्। 

काम गर्दै गर्दा सम्झौताभन्दा पनि केही रकम बढी भएको तर बढी भएको रकम आफूलाई अहिलेसम्म पनि निर्माण कम्पनीले नदिएकाले कम्पनीले दिने बित्तिकै आफूले दिनुपर्ने सबै रकम दिने साइट ठेकेदारले बताउने गरेका छन्। 

पेटी ठेकेदार चेपाङले श्रमिकहरूलाई उधारो मागेर खुवाएको रासनको समेत चार लाख रुपियाँ बढी तिर्न बाँकी रहेको पसल धनी रमेश जोशीले बताउनुभयो। गाउँपालिकाबाट भुक्तानी लैजान बाँकी रकमका लागि आउँदा स्थानीयको ज्याला, उधारो मात्रै तिर्नुपर्ने नभई पुलको केबल (लट्ठा) तान्ने र लोड टेस्टलगायतको कामसमेत गर्नुपर्ने भएकाले ठेकेदार सम्पर्कमा नआइरहेको बुझिएको छ।