• १९ फागुन २०८२, मङ्गलबार

अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० हजारआम्दानी

blog

महेन्द्रनगर, मङ्सिर २२  गते । एघार वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका धर्मेन्द्र राना अहिले गाउँमै मेहनत गरेर मासिक रु. एक लाख ५० हजार आम्दानी गरिरहेका छन् । सन् २०१४ मलेसिया पुगेका २६ वर्षीय उहाँ एक वर्षमै स्वदेश फर्किनुभयाे । 

“एजेण्टले भने अनुसार तलब नदिएपछि वर्ष दिनमै घर फर्किए ।” रानाले भन्नुभयो, “मलेसियाबाट आएर भारतका विभिन्न ठाउँमा पनि रोजगारीका लागि कुदेँ ।”दुई वर्षअघि गाउँमै फार्म बनाएर अण्डा उत्पादनमा जुटेका रानाले छोटो समयमै व्यवसायमा सफलता हात पारेको बताउँछन् । “अहिले चार हजार कुखुराले अण्डा दिँदैछन् ।” उहाँले भन्नुभयो,“मासिक नौ/दश लाखको कारोबार भए पनि मुनाफा अढाइ लाख भइरहेको छ ।”

व्यवसायी रानाले कात्तिक महिनादेखि माघसम्म अण्डाको व्यापार राम्रो हुने गरेको बताउनुभयो । “एक हजार पाँच सय कुखुरा पाल्नबाट सुरु गरेको अहिले चार हजार कुखुरा छन् ।” उहाँले भन्नुभयो–“रु. तीस लाखबाट सुरु गरेको कारोबार अहिले ८० लाखको हाराहारीमा पुगिसकेको छ ।” अहिले दैनिक दुई हजार पाँच सयदेखि तीन हजार अण्डा बिक्री हुने गरेको छ ।

मलेसिया रोजगारीका बेला मामा नाता पर्ने सीताराम राना त्यहाँ अण्डा उत्पादन कम्पनीमा कार्यरत थिए । “मामालाई भेट्न जाँदा आफूमा पनि स्वदेश गएर उत्पादनमा लाग्ने सोच पलायो, फर्किए पनि । लगानी नहुँदा केही समय भारत पनि पसेँ ।” उहाँले भन्नुभयो–“धान कुटानीको मिल बिक्री गरेर आएको रकम अण्डा उत्पादनका लागि लगानी गरेर अघि बढेँ ।”

कृषि ज्ञान केन्द्र, पशु कार्यालय लगायतका सरोकार वाला निकायबाट भने कुनै खालको अनुदान रकम नपाएको रानाको भनाइ छ । उहाँले कञ्चनपुरमै पहिलो पटक आधुनिक (केजस्टक) प्रविधिबाट अण्डा उत्पादन गर्ने कुखुरा पालेका हुन । “गाउँ घरमा राना थारु समुदायले परम्परागत रुपमा त कुखुरा पाल्न थालेको दशकाैं भयो होला तर व्यावसायिक रुपले आधुनिक प्रविधिसँग जोडिएर यहाँ सुरु मैले नै गरेको हुँ ।” व्यवसायी रानाले भन्नुभयो–“लगानी, सीप र मेहनत भए रोजगारीका लागि खाडी मुलुक जानुपर्दैन ।”हाल भइरहेको आम्दानीबाट रानाले कुखुरा फार्ममै लगानी विस्तार गरिरहेका छन् ।

उहाँले फार्मबाट उत्पादन भएको अण्डाको बिक्रीका लागि बजारको कुनै समस्या नरहेको बताउनुभयो । “यहाँको सबैजसो पालिकाका बजारमा अण्डा दैनिक बिक्री वितरणका लागि गइरहेको छ ।” रानाले भन्नुभयो,“स्वदेश मै उत्पादनमूलक कार्यमा जुटेका हामी जस्ता युवाहरुलाई प्रोत्साहनका सरकारले ध्यान दिनुपर्छ ।”

“निम्न आयस्तर भएका युवालाई कृषि, उत्पादनमा लाग्दा स्थानीयदेखि केन्द्र सरकारले सहयोगी प्याकेज दिनुपर्छ ।” उहाँले भन्नुभयो–“वास्तविक किसानसम्म सरकारको सहयोग पुग्ने हो भने धेरै युवाहरु घर आँगनमै रोजगारी पाउँछन् ।” रासस