अमरराज नहर्की
तनहुँ, मङ्सिर २२ गते । नेपालकै सबैभन्दा ठुलो तनहुँको बन्दीपुर गाउँपालिका–४, विमलनगरस्थित सिद्धगुफा ओझेलमा परेको छ । धार्मिक र प्राकृतिक महत्त्व बोकेको यो गुफा पर्याप्त प्रचार–प्रसार नहुँदा पर्यटकको अपेक्षित आगमन हुन सकेको छैन ।
पृथ्वी राजमार्गबाट करिब ३० मिनेट पैदल यात्रा पुग्न सकिने सिद्धगुफा सहज पहुँचका बावजुद पर्यटकको ध्यानबाट बाहिर रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा बताउनुहुन्छ । थापाले भन्नुभयो, “गुफा प्रचार–प्रसार गरेर सहज यात्राको लागि पूर्वाधारहरू निर्माण गरेर पर्यटकको आर्कषणको केन्द्रविन्दु बनाउन चाहेका छौं ।’’
सिद्धगुफा धार्मिक दृष्टिले पनि महत्त्वपूर्ण छ । प्रत्येक वर्ष यहाँ बोलबम मेला लाग्ने र सिद्धबाबाको दर्शनले मनोकामना पूरा हुने विश्वासले धेरै भक्तजनलाई आकर्षित गर्ने गरेको छ । अध्यक्ष थापाका अनुसार गाउँपालिकाले हाल सिद्धगुफा प्रवर्धनका लागि बजेट विनियोजन गर्दै विभिन्न पूर्वाधार सुधारमा प्राथमिकतामा राखिएको छ ।
चालु आवमा गुफा परिसरको सिँढी मर्मत, रङरोगन, आराम स्थल निर्माण र सौन्दर्यीकरणको काम अघि बढाइएको छ । गण्डकी प्रदेश सरकारले बजारदेखि गुफासम्मको बाटोमा रेलिङ र ढुङ्गा छापेर पदमार्ग निर्माण गरेको छ । नवप्रवर्तन साझेदारी कोषमार्फत करिब एक करोड रुपियाँको लागतमा सौन्दर्यीकरण सम्पन्न गरिएको छ ।
स्थानीयवासीले प्रचार–प्रसारमा कमी रहेको बताएका छन् । सिद्धगुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले पनि गुफाको प्रचार–प्रसार र व्यवस्थापनलाई अझ व्यवस्थित बनाउन स्थानीय तह, प्रदेश र सङ्घीय तीन तहकै सरकारसँग समन्वय बढाइएको बताउनुभयो । श्रेष्ठ भन्नुभयो, “सिद्धगुफा नेपालको महत्त्वपूर्ण प्राकृतिक सम्पदा हो, संरक्षण र पर्यटकमैत्री पूर्वाधार थप्दा बन्दीपुर पर्यटनको नयाँ उचाइमा पुग्छ ।”
अध्यक्ष श्रेष्ठका अनुसार करिब ८ सय मिटर लामो गुफा हो । भित्तामा चुनढुङ्घाबाट बनेका भगवानका मूर्ति, चराचुरुङ्गी, जनावर तथा अन्य आकृतिहरू देख्न सकिन्छ । यस प्राकृतिक र सांस्कृतिक सम्पदाले आगन्तुकलाई मोहित पार्दै, नेपालकै ठुलो गुफा भएर पनि दर्शन गर्न पाइने भए पनि अझै ओझेलमा छ ।
विसं २०४४ चैत १३ गते स्थानीयवासी चन्द्रबहादुर थापामगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तत्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रससमेत पाँच जनाको समूहद्वारा पहिलो पटक यो गुफा पत्ता लागेको समितिले जनाएको छ ।