• ११ मंसिर २०८१, मङ्गलबार

कोशी प्रदेशका औद्योगिक कोरिडोर : विद्युत् आपूर्ति कटौती

blog

काठमाडौँ, वैशाख ११ गते । विद्युत् उत्पादनमा आएको उच्च गिरावट र आयातका लागि पनि अपर्याप्त पूर्वाधारका कारण पछिल्लो समय कोशी प्रदेशका केही औद्योगिक कोरिडोरको विद्युत् आपूर्तिमा आंशिक कटौती भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

पूर्वी नेपालको औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको भन्दै उद्योगी व्यवसायीले आइतबार विरोध सभा नै गरेका छन् तर प्राधिकरणले भने पिक आवरमा उद्योग सञ्चालन नगराएर लोड व्यवस्थापन गर्ने गरी विद्युत् आपूर्ति व्यवस्थापन गर्ने गरेको जनाएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार स्वदेशी जलप्रवाही आयोजनाको विद्युत् उत्पादनमा यस वर्ष ऐतिहासिक रूपमै गिरावट आएको छ तर त्यसलाई व्यवस्थापन गर्न पर्याप्त हुने गरी आयात गर्न पूर्वाधारले धान्ने अवस्था छैन । प्राधिकरणको भार प्रेषण केन्द्रको आँकडाअनुसार जलप्रवाही आयोजनाको विद्युत् उत्पादन अहिले जडित क्षमताको १५ प्रतिशतसम्म ओर्लिएको छ । यस पटक हिमपात तथा वर्षासमेत नभएकाले नदीमा पानी आपूर्ति अत्यधिक न्यून भएको हो । 

“पूर्वतिर विद्युत् आपूर्ति हुने काबेली कोरिडोरमा दुई सय मेगावाट क्षमताका जलविद्युत् आयोजना छन् तर त्यहाँबाट ३२ मेगावाट मात्रै बिजुली प्रणालीमा आउँदा समस्या भएको हो,” घिसिङले भन्नुभयो, “ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट चार सय मेगावाटभन्दा धेरै विद्युत् ल्याउन देशभित्रको पूर्वाधारको सीमितताले मिल्दैन, यसैले समस्या परेको हो ।” घिसिङका अनुसार अझै करिब दुई साता ठूला उद्योगमा विद्युत्को आपूर्ति व्यवस्थापन दबाबपूर्ण नै रहनेछ । 

“सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगलाई विद्युत् काटेका छैनौँ, लाइटिङ लोडमा मात्र चलाउनु भनेका थियौँ,” उहाँले भन्नुभयो, “काबेली कोरिडोरमा उत्पादन बढ्नासाथ उद्योगलाई विद्युत् आपूर्ति दिन सुरु गरिसकेका छौँ, अहिले देखिएको अल्पकालीन समस्या हो, ठूलो समस्या हैन ।” 

प्राधिकरणले यसबाहेक विहार राज्यबाट कुसाह कटैया र रक्सौल परवानीपुरमार्फत करिब एक सय मेगावाट विद्युत् आयात भइरहेको छ । ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइन र हेटौँडा–भरतपुर प्रसारण लाइन एक वर्षभित्र तयार हुने भएकाले आगामी वर्षदेखि भने ढल्केबरबाट आठ सय मेगावाटसम्म आयात गर्न सकिन्छ । 

अहिले प्रणालीमा विद्युत्को उच्चतम माग एक हजार ७५० मेगावाट पुगेको छ । औसत माग एक हजार तीन सय मेगावाट र आधार माग एक हजार २७५ मेगावाट रहेको छ । तराईमा गर्मी बढ्दा खेतमा सिँचाइको लोड अत्यधिक बढेको छ । झापाको दमकदेखि अनारमनी क्षेत्रको मात्र विद्युत् माग ८० मेगावाट पुगेको जनाइएको छ । 

प्राधिकरणले कुलेखानी जलाशयलाई चौबिसै घण्टा पूर्ण क्षमतामा चलाएको छ । आन्तरिक उत्पादनले विद्युत् माग धान्न नसकेपछि दैनिक रूपमा औसतमा पाँच सय मेगावाट आयात गरिएको छ । 

१२ सय मेगावाट निर्यातयोग्य

घिसिङका अनुसार आगामी बर्सातमा नेपाल विद्युत् प्राधिकरणले करिब एक हजार दुई सय मेगावाटसम्म निर्यातयोग्य बिजुली उपलब्ध हुने आकलन गरेको छ । असारसम्म प्रणालीमा २६ सय मेगावाटसम्म विद्युत् उपलब्ध हुने र माग औसत १३ सय मेगावाट रहने भएकाले बाँकी रहेको विद्युत् भारत निर्यात गर्न सकिने घिसिङले जानकारी दिनुभयो । यसका लागि भारतको विहार सरकार र केन्द्रीय विद्युत् मन्त्रालयमा प्रस्ताव पठाइएको उहाँले बताउनुभयो । निर्यात जेठको पहिलो साताबाटै सुरु हुने आकलन घिसिङको छ ।