• ११ पुस २०८१, बिहिबार

आयोगले माग्यो स्पष्टीकरण

आचारसंहिता उल्लङ्घन गरेको छैन : मुख्यमन्त्री

blog

राजविराज समाचारदाता

जनकपुरधाम, वैशाख ११ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले निर्वाचन आयोगको विज्ञप्तिप्रति ध्यानाकृष्ट भएको भन्दै उक्त विज्ञप्तिमा उल्लेख गरिएको विषयमा कुनै सत्यता नभएको बताउनुभएको छ। 

आचारसंहिताविपरीत काम गरेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेपछि उहाँले यस्तो जवाफ दिनुभएको हो। मुख्यमन्त्री यादवले आइतबार एक विज्ञप्ति जारी गरेर आयोगको विज्ञप्तिको भ्रममा नपर्न र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तवरमा सम्पन्न गर्न बारा प्रतिनिधि सभा क्षेत्र नं. २ का सम्पूर्ण मतदातालाई पुनः एक पटक अपिल गर्नुभएको छ।

“निष्पक्ष, भयरहित तवरबाट यो निर्वाचन सम्पन्न गर्न गराउन हामीले प्रतिबद्धता दिएकोमा सो प्रतिबद्धतामा रत्तिभर आँच नआउने गरी मधेश प्रदेश सरकारको तर्फबाट निर्वाचन आयोगलाई आश्वस्त र विश्वस्त गराउन चान्हछौँ,” उहाँको विज्ञप्तिमा भनिएको छ, “निर्वाचन आचारसंहिता २०७९ को दफा ५ अनुसार कुनै पनि राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले जारी गरेको आचारसंहिता उल्लङ्घन हुनुहुँदैन भन्ने स्पष्ट दृष्टिकोण र मान्यता मधेश प्रदेश सरकारको रहिआएको   छ।”

यता निर्वाचन आयोगले मुख्यमन्त्री यादवलाई आचारसंहिताविपरीत काम गरेको भन्दै २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। चुनावको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको निर्वाचन आयोगको विज्ञप्तिमा उल्लेख छ।  

“के कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानुभएको हो ? तपाईं त्यहाँ जाँदा प्रयोग गरेको गाडी र सुरक्षा व्यवस्था सरकारी हो, होइन ? तपाईंको यो कार्यले पदको गरिमा र निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को उल्लङ्घन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकोमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने ?” मुख्यमन्त्री यादवलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ।