• १९ वैशाख २०८१, बुधबार

भर्नासँगै पुस्तकको उत्साह

blog

विद्यालय तहको नयाँ शैक्षिक सत्रको नयाँ कक्षामा भर्ना हुँदासाथ विद्यार्थीले पाठ्यपुस्तक पाउँदा मुलुकले सकारात्मक उपलब्धि हासिल गरेको गर्व मान्नु परेको छ । विद्यालय उमेर समूहका बालबालिका पढ्नबाट नछुटून् भनेर सरकारले हरेक वर्ष शैक्षिक सत्र सुरु भएसँगै सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने गरेको छ । भर्ना अभियान चलाउने तर विद्यार्थीलाई पाठ्यपुस्तकलगायत सामग्री पु¥याउन नसक्ने राष्ट्रिय विम्ब यस पटकचाहिँ करिब तोडिएको छ । यसअघिका नयाँ शैक्षिक सत्रमा प्रायः अभिभावक र विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गर्दथे तर यस पटक शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउन सफल भएको जनक शिक्षा सामग्री केन्द्रको दाबी छ । 

विगतको तितो अनुभव छ । वार्षिक परीक्षा आइपुग्दासमेत पाठ्यपुस्तक नआइपुगेको सबैभन्दा बढी गुनासो हिमाली र दुर्गम पहाडी क्षेत्रमा हुने गथ्र्याे । अहिले त सङ्घीय राजधानी काठमाडाैँ मात्र होइन, एउटै प्रदेश/क्षेत्रको केन्द्रबाट समेत टाढा, पिछडिएको कर्णालीलगायत हिमाली क्षेत्रलाई भर्नाकै समयमा पाठ्पुस्तक उपलब्ध गराउने प्राथमिकता निर्धारण गरी काम भयो । वर्तमान सरकारको न्यूनतम साझा कार्यक्रममा पनि यो विषय प्राथमिकतामा राखियो । स–साना कार्य प्रणाली सुधारले पनि ठूलो सुधार र प्रगतिको लक्ष्य दिलाउँछ । विगतमा सरकारले समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउने गृहकार्य गरे पनि सफल हुन सकेको थिएन । अहिले कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले आवश्यक पाठ्यपुस्तक छपाइ कार्य सकेको स्पष्ट गरेसँगै राम्रो सन्देश गएको छ ।

यस पटक कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मा निजी मुद्रणलाई दिइएको थियो । जनक शिक्षा सामग्री केन्द्रमा तीनवटा मेसिन थपिएको, समयमै कागज खरिद र त्यस प्रक्रियामा सरकारको सहजीकरण, कामदारको उचित प्रबन्ध, चालु पुँजी पनि उपलब्ध भएको, दुर्गममा पहिला र सुगममा पछाडि ढुवानी प्रणाली, छपाइ कार्यमा निजी क्षेत्र सहभागी गराई विकेन्द्रीकरणलगायत सुधारले समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्दै छ तर राज्यले निःशुल्क उपलब्ध गराउने भनी स्थानीय तहलाई ससर्त अनुदानतर्फ वित्तीय हतान्तरण गरिसकेको भए पनि कतिपय तहले विद्यालयलाई पाठ्यपुस्तकको रकम नदिएको तथा कतिपय विद्यालयले पछि फिर्ता गर्ने गरी पुस्तकको मूल्य लिएको गुनासा छन् । यसलाई तत्काल स्थानीय तहहरूले सम्बोधन गरी विद्यार्थी तथा अभिभावकको हौसला बढाउनु आवश्यक छ । 

भर्नासँगै विद्यार्थीका हातमा पाठ्यपुस्तक हातमा पार्नु राज्यको सामान्य दायित्व हो । यसरी हेर्दा यो सामान्य कुरा हो तर यसको महìव गहन छ । वैशाख १ गतेदेखि १५ गतेसम्म विद्यालयमा आफैँ आएर भर्ना हुने विद्यार्थीलाई हातमा पुस्तक दिने गरेर भर्ना अभियान सञ्चालन भइरहेको छ । यो वर्ष भर्ना अभियानको नारा ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ छ । नारा बनाउने र अभियान चलाएर भर्ना दर बढेको उपलब्धि देखाउनुले गुणस्तरीय शिक्षा मापन गर्दैन । गुणस्तरीय शिक्षाका लागि विद्यार्थीलाई ज्ञान, सीप र व्यवहार सिकाउने उद्देश्य, विषय, विधि र मूल्याङ्कनका तरिका तोकेर तयार पारिएको व्यवस्थित पाठ्यक्रम र सोबमोजिमका पाठ्यपुस्तकको उपलब्धता पनि चाहिन्छ । पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिका उपलब्ध नभई अध्यापन गराउनुपर्ने अवस्थामा शिक्षकका लागि समेत उपयोगी हुन्छ । 

क्रमबद्ध सिकाइको आधार हो पुस्तक । यसले देशभरका विद्यालयमा शिक्षण सिकाइका विषयवस्तुको प्रवाहमा एकरूपतामा सुनिश्चित गर्छ । विद्यालय तहमा कुनै विषयवस्तुमा पाठ्यपुस्तकका माध्यमबाट बालबालिकाले बनाएको धारणा जीवनभर सम्झनामा रहन्छ । त्यसैले यसमा कुनै प्रकारको गल्ती नहोऊन् भनेर सजग हुनुपर्छ । विगतमा पाठ्यपुस्तक विषय छनोट, छपाइ र वितरणमा समस्या हुने गरेको थियो । यसको असर विद्यार्थीको पढाइमा पुग्थ्यो । राज्यले यस पटकझैँ हरेक शैक्षिक सत्रमा गुणस्तरीय पाठ्यपुस्तक पु¥याउन सक्दा विद्यार्थीमा रङ्गिलो उत्साह सिर्जना हुन्छ । अब पनि सबै पक्षको बल, समन्वय र सहकार्यमा विद्यार्थीलाई समयमै पाठ्यपुस्तक दिलाइनुपर्छ । अन्य क्षेत्रमा पनि यसरी नै आवश्यकता पहिचान गरी प्राथमिकतामा राख्दै काम गरे राज्य सञ्चालित विभिन्न क्षेत्रमा सुधार हुनेमा शङ्का मान्नु पर्दैन ।