मकवानपुर समाचारदाता
हेटौँडा, वैशाख ९ गते । बागमती प्रदेशको सुरक्षा अवस्था सुधार गर्न सुरक्षा निकायलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिइएको छ।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा शुक्रबार हेटौँडामा भएको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीका सहभागीहरूले पुरानै प्रविधि र संरचनामा बढ्दो सुरक्षा चुनौती सामना गर्न कठिन हुने भन्दै प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याउनु भएको हो।
सो अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शान्तिसुरक्षालाई सुदृढ बनाउन प्रदेश सरकार सहकार्य गर्न तयार रहेको चर्चा गर्दै सुरक्षा निकायलाई विगतमा गर्दै आएको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने बताउनुभयो। विपत् व्यवस्थापनमा तीन तहका सरकारबीच सहकार्य आवश्यक भएको उहाँले बताउनुभयो। आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले आगामी योजना र कार्यदिशाबारे जानकारी गराउँदै प्रदेशमा सडक दुर्घटना, आत्महत्या, लागूऔषधको कारोबार र सेवन, घरेलु हिंसा, भूकम्प, बाढीपहिरो, हिमताल फट्नेलगायत मौसमी विपत् मुख्य चुनौती रहेको बताउनुभयो।
उहाँले प्रदेशभित्रको विपत् व्यवस्थापन प्रदेश सरकारको दायित्व भए पनि मन्त्रालयमा विपत् व्यवस्थापन शाखा मात्र रहेकाले विपत् व्यवस्थापन प्राधिकरणको स्थापनासँगै विपत् व्यवस्थापनका लागि उपकरण र प्रविधिमैत्री संरचना आवश्यक भएको बताउनुभयो।
मन्त्रालयका सचिव ध्रुव गैडाले प्रदेशका चार स्थानमा सुरक्षा अवस्था र आगामी योजनाबारे जिल्ला सुरक्षा समितिका पदाधिकारीसँग समन्वयात्मक बैठक गरेको जानकारी दिँदै शान्ति सुरक्षाका चुनौती, आपराधिक घटनाको नियन्त्रण, प्रदेश सरकारसँग सुरक्षा निकायको अपेक्षालगायतका विषयमा छलफल भएको जानकारी दिनुभयो।
गोष्ठीमा बागमती प्रदेशका प्रदेश सचिव मुकुन्दप्रसाद निरौला, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणा, सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब महानिरीक्षक लक्ष्मणबहादुर सिंहलगायतका सुरक्षा निकायका अधिकारीको सहभागिता थियो।